Tuesday, December 18, 2012

‘धुर्बे’को आतंकले चितवनमा तनाव

३ पुस, काठमाडौं । मान्छे देख्नेवित्तिकै झम्टेर मारिहाल्ने जंगली हात्ती
'धुर्बे' बेपत्ता भएपछि यतिबेला चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीहरु
हैरान भएका छन् । त्यसै छोड्दा यसले थप जनधनको क्षति गर्न सक्ने भएकाले
'धुर्बे'लाई गोली ठोकेर मार्ने सहमति भएको छ । सहमतिलगत्तै बन्दुक र गोली
बोकेर निकुञ्जका सुरक्षाकर्मी जंगल पसिसकेका छन् । तर, शनिबार राति गर्दि
गाविसकाएक दम्पत्ति मारेर हिँडेको हात्तीको अत्तोपत्तो छैन ।
को हो 'धुर्बे' ?
'धुर्बे'का रुपमा बद्नाम यो हात्तीले तीन वर्षदेखि आतंक मच्चाउन थालेको
हो । एक वर्षअघि चितवन निकुञ्जको मुख्यालय अगाडि निकुञ्ज सुरक्षार्थमा
खटिएका ध्रुब नाम गरेका सिपाहीलाई मारेपछि सबैले यो हात्तीलाईधुर्बे भन्न
थालेका हुन् । आतंक मच्चाउन थालेको तीन वर्ष भए पनि अढाई महिनादेखि भने
धुर्बे झन् मात्तिन थालेको स्थानीय बासिन्दाको भनाइ छ । यसबीच निकुञ्ज
वरपरका बारा, पर्सा, चितवन र नवलपरासीमा धुर्बेको आतंक बढेको छ ।
अहिलेसम्म धुर्बेले ९ जनालाई मारिसकेको छ ।
मान्छे देख्नेबित्तिकै आक्रमण गरिहाल्ने धुर्बेको बानीले अहिले संरक्षण
अधिकृत र स्थानीय यसको बिरोधमा उत्रिएका हुन् । तर, आफूमाथि खतरा रहेको
थाहा भएर हो कि क्या हो, धुर्बे अहिले जंगलभित्रै बेपत्ता छ । उसको
गतिविधि नियाल्न निकुञ्जका प्राविधिकले रेडियो कलरसमेत जोडेका छन् । तर,
अहिले यो हात्ती रेडियो कलरको 'सिग्नल' भित्र छैन ।
'धुर्बे'विरुद्ध आन्दोलन जारी
यता 'धुर्बे' नामको हात्तीलाई नमारेसम्म शव नउठाउने भन्दै गाउँलेले
प्रदर्शन चर्काएका छन् । जंगली हात्ती तत्काल मार्नुपर्ने, मृतकका
परिवारलाई १० लाख रुपैंया क्षतिपूर्ति दिनुपर्ने, नारायणगढबाट माडी जाने
सडक चौडा पार्नुपर्ने लगायतका माग राख्दै गाउँलेले मंगलबार पनि प्रदर्शन
गरेकाछन् । उनीहरुले भरतपुरको चौबीसकोठी, माडीलगायतका ठाउँमा सडक अवरुद्ध
गरेर आन्दोलन गरेका हुन् । पीडितहरुको आन्दोलनलाईस्थानीय राजनीतिक दलले
पनि समर्थन जनाएका छन् ।
हात्तीको आक्रमणबाट शनिबार राति मारिएका स्थानीय बुद्धिराम बोट र उहाँकी
श्रीमती जरियाको शव गर्दी गाविसको चौतारोमा राखिएको छ । हात्ती मार्न
प्रशासनले चासो नदिएको स्थानीयबासिन्दाको आरोप छ । तर, निकुञ्ज प्रशासनले
भने हात्ती मार्न निकुञ्जको सेना नै खटाईएको जानकारी दिएको छ । 'जहाँ
देख्यो त्यहीं मार्ने आदेशसहित टोली फिल्डमा खटिएकोछ' निकुञ्जका प्रमुख
संरक्षण अधिकृत झमक कार्कीले भन्नुभयो -'निकुञ्जले सबै काम छाडेर अहिले
हिंश्रक जंगली हात्ती ध्रुबे मार्ने कामलाई पहिलो प्राथमिकता दिएको छ ।'

No comments:

Post a Comment