Tuesday, October 2, 2012

पत्नीको सहयोगमा बलात्कार गर्ने थुनिए

नेपालगन्ज, आश्विन १६ - पत्नीको सहयोगमा गाउँकै एक १७ वर्षीया युवतीलाई
जबरजस्ती करणीको घटना सार्वजनिक भएको छ । घटनाका आरोपीलाई जिल्ला अदालतले
पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । 'सहयोगी' भूमिका निर्वाह गरेको आरोप
लागेकी महिला धरौटीमा रिहा भइन् । बाँके, कचनापुर ६ हरिहरपुरका हर्कु
भनिने रामहर्षे शर्मालाई अदालतले
पुर्पक्षका लागि थुनामा राखेको हो । पत्नी शारदाको सहयोगमा उनले गाउँकै
युवतीलाई फकाएर नेपालगन्ज
ल्याई होटलमा राखेर जबरजस्ती गरेको खुलेको हो । शारदा भने २१ हजार धरौटी बुझाएर
रिहा भएको अदालतका शाखा अधिकृत उत्तम थापाले बताए । युवतीले शारदालाई
दिदी भन्थिन् । स्थानीय विद्यालयमा पढ्ने युवतीको 'दिदी'
को घरमा राम्रो उठबस थियो । दिदीले नै घुम्न जाने भनेर फकाएर पतिसँगै नेपालगन्ज
ल्याएको खुलेको छ । 'युवतीसहित राति होटलमा बास बसेका पतिपत्नीले मदिरा
सेवन गरेको र
त्यसपछि पतिले पटक/पटक युवतीलाई बलात्कार प्रयास गरेको देखिन्छ,' सरकारी
वकिल नरेन्द्र
चन्दले भने, 'उनले हल्ला गरेपछि अन्तिममा बाथरुममा लगेर बलात्कार गरेको
देखिएको छ ।' घुलमिल र विश्वास बढेपछि दिदीले बहिनीलाई 'घुम्न नजिकको
शमशेरगन्ज जाऔं' भनेर
ल्याएकी थिइन् । त्यहाँ पुगेपछि उपचार गर्न कोहलपुर मेडिकल कलेज जाऔं
भनेर ल्याएको युवतीले
बताइन् । कोहलपुर पुगेपछि अर्को बहाना बनाएर नर्सिङहोम जाने भनेर
नेपालगन्ज पुर्याएको आरोप
पीडितको छ । अनिल गेस्ट हाउसको कोठा नम्बर १११ मा उनीहरू बास बसेका थिए ।
त्यही घटना भएको हो । सुरुमा उनीहरू अर्को होटलमा बसेको र त्यहाँ होहल्ला
भएपछि होटल परिवर्तन
गरेको प्रहरीले जनाएको छ । गाउँले दिदीको विश्वासमा नेपालगन्ज आएकी
युवतीले घर गएर माइजूलाई सबै बताएपछि प्रहरीले साउन
११ गते उनीहरूलाई पक्राउ गरेको थियो । गाउँ गएर फेरि उनीहरूले युवतीलाई
'जे हुनु भइसक्यो । अब सँगै
बसौं,' भनेर फकाएको पीडित पक्षको भनाइ छ । 'अब कान्छी भएर बस । सुखसाथ
जीवन कट्छ भनेर
भनिन्,' युवतीको बयानमा उल्लेख छ । पत्नीको सहयोगमा पतिले जबरजस्ती गरेको
यो नौलो घटना हो । 'यस्तो घटना बिरलै हुन्छ,'
सरकारी वकिलसँगै उनको तर्फबाट मुद्दा लडिरहेका साथी संस्थाका कानुनी सल्लाहकार
अधिवक्ता लक्ष्मणप्रसाद पराजुलीले भने, 'उनका पति लामो समय भारतमा काम गरेका र
उतैको नागरिकता भएकाले बेचबिखन उद्देश्यले यता ल्याएको देखिन आएकाले
हामीले कानुनी सहयोग
गरेका हौं ।'
source ekantipur.com

No comments:

Post a Comment