Thursday, September 27, 2012

सवा पाँच लाखको गर्भपतन !

असोज, काठमाण्डौं । पछिल्लो १० वर्षको अवधिमा देशभरमा सवा ५ लाख महिलाले
सुरक्षित गर्भपतन गराएको पाइएको छ । गर्भपतनले कानुनी मान्यता पाएको १०
वर्षको अवधिमा पाँच लाख ३३ हजार सात सय ४६ महिलाले सुरक्षित गर्भपतन
गराएका हुन् ।
१० वर्षको समीक्षा गर्न बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा उक्त
तथ्यांक सार्वजनिक गरिएको हो । दस वर्षमा नेपालमा सूचीकृत संस्थामा गएर
सुरक्षित गर्भपतन गराउनेको संख्या पाँच लाख ३३ हजार भए पनि सूचीकृत
संस्था भने उल्लेख्य रूपमा वृद्धि हुन सकेको छैन । तथ्यांकअनुसार देशभर
चार सय ८७ सूचीकृत केन्द्र र एक हजार दुई सय ७६ चिकित्सक र नर्सले
सुरक्षित गर्भपतन सेवा दिने अनुमति पाएको सौर्य दैनिकमा खबर छ ।
कानुनी व्यवस्थाअनुरूप डाक्टरलाई १२ साता र नर्सलाई आठ साताको विशेष
तालिम दिएर मात्रै गर्भपतनको अनुमति दिइन्छ । तालिमप्राप्त जोकोहीबाट ८
सातासम्मको र विशेष परिस्थतिमा १८ सातासम्मको गर्भपतन गराउन पाउने कानुनी
व्यवस्था छ । यसका साथै १८ साताको गर्भपतन सेवा स्त्रीरोग विशेषज्ञको
सिफारिसमा निश्चित ठूला अस्पतालमा मात्रै उपलब्ध छ । विकलांग, गर्भवतीको
मानसिक सन्तुलन गुमेको र बलात्कारबाट गर्भ रहेको अवस्थामा मात्र
प्रक्रिया पुर्याएर १८ सातासम्मको गर्भपतन गराउन पाउने कानुनी व्यवस्था छ

असुरक्षित गर्भपतनको संख्यामा कमी ल्याउन सरकारी संस्थामा एक हजार
रुपियाँमा गर्भपतन गराउने व्यवस्था गरिएको र सबै जिल्लामा गर्भपतन गराउने
संस्थामा विस्तार गरिएको स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार स्वस्थ्य
महाशाखाले जनाएको छ । महाशाखाकी जनस्वास्थ्य नर्स टीका उपाध्यायका अनुसार
सरकारले १६ जिल्लामा स्वास्थ्यचौकीमा समेत सुरक्षित गर्भपतनको सेवा
पुर्याउने तयारी गरिरहेको छ ।
सुरक्षित गर्भपतनसम्बन्धी काम गर्दै आएको गैरसरकारी संस्था पिएसआईका डा.
आशिष केसीले सूचीकृत संस्था र व्यक्तिबाट गर्भपतन गराउनेको संख्यामा
वृद्धि हुँदै गएको बताए । सुरक्षित गर्भपतन सेवाका कारण मातृ मृत्युदरमा
धेरै कमी आएको डा. केसीको भनाइ थियो ।
सरकारी अस्पताल, मेरिस्टोप्स क्लिनिक, नेपाल परिवार नियोजन संघलाई
सरकारले गर्भपतनको अनुमति दिएको छ । निजी स्तरमा खुलेका थुप्रै स्वास्थ्य
संस्था तथा केही स्वास्थ्यकर्मीबाट नै असुरक्षित गर्भपतन भइरहेको
स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

No comments:

Post a Comment