Wednesday, September 26, 2012

एक महिना देखि बन्धक बनाएर राखेका चार जना युवतीको उद्धार

१० असोज, विराटनगर । वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभनमा उर्लाबारीमा
बन्धक बनाइएका चार युवतीलाई प्रहरीले उद्धार गरेको छ । विराटनगरको
उर्लाबारी–६ बस्ने बाबुराम खड्काले एक महिना अघिदेखि बन्धक बनाएर राखेका
नेपालका चार युवतीलाई इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले उद्धार
गरेको प्रहरीले जनाएको छ । उद्धार गरिएकामा भोजपुर दलगाउँ–१ की ३१
वर्षीया विष्णुमाया परियार, अर्घाखाँची जुकेना–५ की १७ वर्षीया सुष्मा
दर्जी, जाजरकोट रक्ता–९ की १८ वर्षीया सुस्मिता विक र कपिलवस्तु करैया–७
की १८ वर्षीया पार्वती चौधरी छन् ।
साउदी अरब पठाइदिने प्रलोभन देखाई खड्काले विगत एक महिनादेखि ती युवतीलाई
एउटा कोठामा बन्धक बनाइराखेको अवस्थामा प्रहरीले उद्धार गरेको जिल्ला
प्रहरी कार्यालय मोरङले जनाएको छ। युवतीलाई बन्धक बनाएर राखेको सुराकीको
आधारमा ती युवतीहरूलाई सकुशल उद्धार गरिएको हो । उद्धार गरिएका युवतीलाई
इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखिएको छ । बन्धक बनाउने खड्का फरार
रहेको र खड्काकी जेठी पत्नी रेणुका खड्कालाई सोधपुछका लागि नियन्त्रणमा
लिइएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment