Wednesday, September 5, 2012

सरुवा सूची बनाउँदै मन्त्रीका छोरा र पिए

काठमाडौं, भाद्र २० - कुन कर्मचारीलाई कहाँ सरुवा गर्ने भन्ने टुंगो लगाउने काम सम्बन्धित विभाग, कार्यालय र प्रमुखको हो । नियमित कार्यक्षमता र विगतका कामको मूल्यांकनका आधारमा कर्मचारी सरुवा गरिनुपर्ने हो । तर वन मन्त्रालयमा मन्त्रीका छोरा र उनका निजी सचिव (पिए) हरू नै कर्मचारीको सरुवा सूची बनाउन व्यस्त छन् ।
भदौमा कर्मचारी सरुवा गर्न पाइने भएपछि वनमन्त्री यदुवंश झाका छोराहरू प्रकाश र प्रभात तथा उनका निजी सहयोगी नाति सञ्जीव झा, निजी सचिव दशरथ मिश्र र पिएहरू देवेन्द्र घतानी, सरोज कार्कीलगायतको टोलीले सरुवा सूची बनाउन थालेको हो । मन्त्री झाको पार्टी माले समाजवादीले विवादास्पद कुनै पनि काम नगर्न पटक-पटक निर्देशन दिए पनि अटेर गर्दै मन्त्रीले सरुवा सूची बनाउन निर्देशन दिएका थिए ।
मन्त्रिपरिषद्लाई जानकारी नै नदिई आफूखुसी पटक-पटक भारत भ्रमण गरेकामा पार्टीले स्पष्टीकरण सोधिरहेकै बेला मन्त्री झाले आफूखुसी ठूलो संख्यामा कर्मचारी सरुवाको तयारी गरिरहेका छन् । स्रोतका अनुसार उनकै निर्देशनअनुसार टोलीले रेन्जरदेखि सहसचिवसम्मका कर्मचारीको सरुवा सूची तयार पारिरहेको छ । 'मन्त्रीका छोराहरू र पिएहरूले डीएफओहरूसित बार्गेनिङ गर्दै सरुवा सूची तयार पारेका छन्,' मन्त्रालयका एक सहसचिवले कान्तिपुरसित भने, 'राम्रो ठाउँमा सरुवा गरिदिने आश्वासनमा आर्थिक चलखेल भइरहेको छ ।'
आकर्षक जिल्लामा जान चाहनेले तोकिएको रकम बुझाउनुपर्ने गरी सूची तयार गरिएको स्रोतको दाबी छ । अनियमित तवरमा काठ बिक्री गर्न पाइने 'आकर्षक जिल्ला' मा तोकिएको रकम नबुझाए अन्यत्र सरुवा गर्नेगरी सूची तयार पारिएको छ । आकर्षक जिल्लामा सरुवा गरिदिन केही डीएफओले राजधानी आएर टोलीसँग लबिङसमेत गरेको स्रोतको दाबी छ ।
आकर्षक ठाउँमा रहेकाले उही ठाउँमा थमौती गर्नसमेत दबाब दिइरहेका छन् । आकर्षक मानिने केही तराईका जिल्लाका डीएफओको दुई वर्ष अवधि पुगिसकेकाले टोलीलाई झनै राम्रो अवसर बनेको छ । कैलाली, बारा, काठमाडौं, दोलखा, नवलपरासी, रूपन्देही, कपिलवस्तु, गोरखालगायत जिल्लाका डीएफओको अवधि दुई वर्ष पुगिसकेको छ ।
मन्त्री झाले कर्मचारी सरुवा गर्न लागेको स्वीकारे । उनले सरुवामा मापदण्ड लागू गर्ने दाबी गरे । 'तयारी भइरहेको सत्य हो,' उनले ईकान्तिपुरसित भने, 'कसैसँग आर्थिक लेनदेन गरेको छैन ।'

No comments:

Post a Comment