Thursday, September 27, 2012

सबैभन्दा ठूलो रक्तपात, एकैदिन ३०५ को मृत्यु

११ असोज, बेरुत । सिरियामा भइरहेको आन्दोलनमा बुधबारमात्र ३०५ भन्दा बढी
व्यक्तिको मृत्यु भएको समाचार छ । सिरियाका विभिन्न सहरमा हिजो भएका
आक्रमणहरुका साथै विस्फोटहरुमा उनीहरुको मृत्युभएको समाचारमा जनाइएको छ ।
सरकारी सेनाले अलेपोलगायतका सहरहरुमा आक्रमण जारी नै राखेको पनि समाचारमा
उल्लेख गरिएको छ । ती आक्रमणमा ३०५ भन्दा बढी व्यक्तिको निधन भएको हो ।
सिरियामा सन् २०११ को मार्चबाट राष्ट्रपति बसार अल असादको राजीनामाको
मागगर्दै सुरु भएको यस आन्दोलनका क्रममा एकै दिनमा ३०५ भन्दा बढीको
मृत्यु भएको समाचारमा जनाइएको छ ।
सिरियामा आन्दोलन सुरु भएपछि बुधबार सबैभन्दा धेरै रक्तपातपूर्ण दिनको
रुपमा रहेको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ । सन् २०११
देखि हालसम्मको तुलनामा हिजो बुधबार एकै दिनमा उच्च सङ्ख्यामा नागरिक
हताहति भएको अब्जरभेटरीका निर्देशक रामी अब्देल रहमानले एएफपी समाचार
समितिलाई बताउनुभएको छ ।उक्त सङ्ख्या पनि नाम र विभिन्न कागजबाट पहिचान
खुलेका व्यक्तिहरुको मात्र भएको र अपरिचित शवहरुलाई पनि गणना गर्दा उक्त
सङ्ख्या अझ बढ्न पनि सक्ने रामीले बताउनुभयो ।बुधबार एकै दिन मारिएका ती
व्यक्तिहरुमा १९९ जना सर्वसाधारण नागरिक भएको बेलायतसँग आबद्ध
मानवअधिकारवादीले जनाएका छन् ।गत जुलाईमा सिरियाको आन्दोलनका क्रममा एकै
दिनमा ३०२ व्यक्तिको हत्या भएको थियो ।
यस दिनलाई नै आन्दोलनभरिकै रक्तपातपूर्ण दिन भएको जनाईएको थियो ।तर सो
दिनभन्दा पनि हिजोको दिन सिरियामा उच्च सङ्ख्यामा नागरिकको हत्या भएको
दिनको रुपमा परिचित भएको अब्जरभेटरीले जनाएको छ । सिरियामा गत मार्च
महिनामा राष्ट्रपति बसार अल–असाद विरुद्ध सुरु भएको जनआन्दोलनमा हालसम्म
तीस हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाएको जानकारी सिरियन अब्जरभेटरी फर
ह्युमन राइट्सले बुधबार दिएको छ ।
अब्जरभेटरीका निर्देशक रामी अब्देल रहमानले हालसम्म २१ हजार ५३४ नागरिक,
सात हजार ३२२ सैनिक, एक हजार १६८ भगौडा सैनिकको मृत्युभएको बताउनुभयो। यस
सङ्ख्यामा हतियार लिएर विद्रोहमा संलग्न भएका गैरसैनिक नागरिक पनि रहेको
उल्लेख गर्नुभयो । यसमा सिरियाली जेलमा रहेका वा पहिचान प्राप्त नभएका
शवहरूको सङ्ख्या नजोडिएको बताइएको छ । गत १८ महिनामा तीस हजार भन्दा बढी
व्यक्तिको मृत्युले प्रत्येक दिन औसतमा १०० व्यक्तिको ज्यान गएको देखिएको
पनि उहाँले उल्लेख गर्नुभयो । रासस/एएफपी

No comments:

Post a Comment