Friday, September 28, 2012

विदेश पठाउने भन्दै छ महिनादेखि बन्धक, यौनशोषणको आरोप

ललितपुर, आश्विन १२ - कास्कीकी चन्दा (नाम परिवर्तन) लाई काठमाडौं आउँदा
लागेको थियो अब दुःखका दिन सकिए । विदेश गइन्छ, कमाइन्छ । उनले सोचेजस्तो
भएन । पूर्वी नेपालबाट गाउँमा आएका जीवन राईले दिएको विदेश गएर मासिक ३०
देखि ५० हजारसम्म कमाउने सपना छ महिनादेखि बालाजुस्थित मनमैजुको एउटा
कोठामा बन्धकभयो ।
'एउटा कोठामा २०/२५ जनासम्म राखेको थियो । दलाल बोलाएर गर्नु नगर्नु दुःख
दिन्थ्यो,' धरानबाट ल्याइएकी चन्दाकै अर्की साथीले भनिन्, 'ज्यानको
धम्कीसमेत दिए ।' उनीहरूलाई बन्धक बनाउने गिरोहमा कपिलवस्तु जयनगर-५ का
चन्द्रबहादुर खत्री पनि थिए । खत्री प्रहरी नियन्त्रणमा छन् । संयोगले एक
दिन बजारनिस्कँदा उनीहरूले माओवादीको झन्डा देखे र आफूहरू बन्धक बनेको
सूचना दिए । त्यसपछि माओवादीको वैद्य समूहका कार्यकर्ताले उनीहरूको
उद्धार गर्‍यो । कुपण्डोलस्थित जनवर्गीय कार्यालयमा सार्वजनिक गरेपछि
पुल्चोक प्रहरीलाई जिम्मा लगायो ।
प्रहरी निरीक्षक नवीन अधिकारीका अनुसार उनीहरूलाई प्रहरी परिसर जावलाखेल
पुर्‍याइएको छ । ललितपुरका प्रहरी उपरीक्षक वसन्त पन्तका अनुसार अधिकांश
युवतीहरू पाँच कक्षाभन्दा कम पढेका र सोझा भएका कारणदलालको फन्दामा परेको
देखिन्छ । 'सित्तैमा जान पाइनेर पचास हजारको हाराहारीमा आम्दानी हुने
भन्ने सुनेपछि उनीहरू फसेको देखिन्छ,' प्रहरी भन्छ । उनीहरूको
पासपोर्टसमेत गिरोहले बनाइदिएको भेटिएको प्रहरीले जनायो ।
वैशाख र जेठमा काठमाडौं ल्याइएका उनीहरूलाई '३० वर्षमुनिकालाई प्रतिबन्ध
लागेको' भन्दै अल्मल्याउने गरेका थिए । निःशुल्क खानपानको सुविधा पाएका
उनीहरूलाई दिनहुँ आउने फरक-फरक 'मालिक'हरूले एक्लै बोलाएर यौनशोषण गरेको
बयान दिएका छन् । आफूहरूलाई अलमल्याएर राखेको भनेर विरोध गर्न थालेपछि
दलालहरूले तालिम भन्दै एउटा कोठामा लगेर प्रवचन दिन थालेका थिए ।
पीडितहरूका अनुसार वैशाख/जेठको सुरुवातताका २५/३० जनाको हाराहारीमा
विभिन्न जिल्लाबाट यस्ता युवती ल्याएर चारवटा कोठामा राखिएका थिए ।
त्यसमध्ये केहीलाई बाहिर पठाइएको उनीहरूले बताए । बीच-बीचमा आइरहने एक
प्रौढले बारम्बार विदेशमा 'नराम्रो काम' मा लगाइदिने धम्कीसहित यातना
दिने गरेको उनीहरूले बताए । २४ सै घन्टा पर्दा लगाएको कोठामा राखिने
उनीहरू मालिकहरूको स्वीकृतिमा मात्रै बाहिर जान पाउँथे । प्रहरीसँग
आफूहरूको राम्रो सम्बन्ध रहेको भन्दै गिरोहका सदस्यहरूले उजुरी गर्नेलाई
'ठीक पार्ने' धम्की दिने गरेका थिए ।
बयानपछि ललितपुर प्रहरी परिसरले उनीहरूलाई मनमैजु क्षेत्र हेर्ने बालाजु
प्रहरी वृत्तमा पठाएको छ । पीडितको जाहेरीका आधारमा विभिन्न प्रकृतिका
मुद्दाचलाउने आधार भएको परिसरका प्रहरी उपरीक्षक पन्तले बताए । 'विदेशमा
जागिर लगाइदिन्छु भनेर झुक्याएर ल्याएको र बन्धक बनाएर यौनशोषणसमेत गरेको
बयान छ,' उनले भने, 'अनुसन्धान गरी ठगी, जबर्जस्ती करण, शरीर बन्धक
बनाएको लगायतका मुद्दामा कारबाही अगाडि बढाउनुपर्छ ।'

No comments:

Post a Comment