Thursday, September 27, 2012

भारतीय सेनामा समान पेन्सन, हजारौ नेपालीलाई फाइदा

काठमाण्डौं । भारत सरकारले भारतीय सेनामा काम गर्ने हजारौ नेपालीलाई समेत
फाईदा पुग्ने गरी 'समान दर्जा समान निवृत्तिभरण' योजना अनुमोदन गरेको छ ।
पूर्वसैनिकहरुको माग सम्बोधन गर्नेक्रममा भारत सरकारले यस्तो योजना
ल्याएको हो ।
समान तह तथा सेवाअवधि भए पनि अलग मितिमा अवकाश पाएका भारतीय सैनिकबीच
निवृत्तिभरण अर्थात पेन्सनमा समानता छैन । वार्षिक दुर्इहजार तीनसय करोड
भारतीय रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको उक्त योजना लागू भएपछि त्यस्तो
असमानता अन्त्य हुनेछ । उदाहरणका लागि भारतीय सेनाको मेजर जनरल पदमा काम
गरिरहेका व्यक्तिले अहिले अवकाश पाए ५० हजार भारतीय रुपैयाँ मासिक
निवृत्तिभरण बुझ्छन् भने २००६ अघिका लागि भने त्यो रकम ३८ हजार छ । सोही
पदमा १९७० मा अवकाश पाउनेहरुले केवल ८ हजारमात्रै मासिक निवृत्तिभरण
बुझ्ने गरेको भारतीय दैनिक मेल टुडेले उल्लेख गरेको खबर कान्तिपुर
दैनिकले छापेको छ ।
पूर्व सैनिकका सन्तान मानसिक तथा शारीरिक रूपमा अशक्त भए, उनीहरूलाई समेत
जीवनभर निवृत्तिभरणको सुविधा दिने व्यवस्था आफ्नो नयाँ योजनामा भारत
सरकारले ल्याएको छ । जसअनुसार पूर्व सैनिकको निधनपछि उनका अशक्त सन्तानले
जीवनभर निवृत्तिभरणको सुविधा पाउनेछन् ।
भारतीय विदेश मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार भारतीय सेनाबाट अवकाश
पाएका करिब १ लाख २३ हजारभन्दा बढी नेपालमा बसिरहेका छन् । तीबाहेक
सेवाबाट अवकाश पाएपछि भारतका विभिन्न भागमा बस्ने नेपाली पनि हजारौंको
संख्यामा छन् ।
२०१०, ११ को तथ्यांकमा मात्रै पनि, नेपालमा बसिरहेका पूर्व भारतीय
सैनिकलाई निवृत्तिभरण स्वरुप करिब ११,०० करोड भारु जाने गरेको छ ।

No comments:

Post a Comment