Friday, August 3, 2012

सरकारमा बस्न पटक्कै मन छैनः भट्टराई

१९ साउन, काठमाण्डौ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पदमा बसिरहन पटक्कै मन नभएपनि दलहरुवीच सहमति बन्न नसक्दा छाडेर हिड्न नसकेको बताउनुभएको छ ।
आफ्नै निवास बालुवाटारमा शुक्रबार साँझ संचारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री भट्टराईले अहिलेको सरकार चुनावी सरकार भएकाले दलहरु आफ्नो राजीनामा माग्नुभन्दा राजनीतिक निकासका लागि पहल गर्नुपर्ने बताउनुभयो ।
संकट समाधानका लागि दुईवटा बिकल्प पेश गर्दै प्रधानमन्त्री भट्टराईले मुलुकलाई अघि बढाउन सहमति हुँदा कुनैपनि हालतमा बाधक बन्ने पक्षमा नरहेको बताउनुभयो ।’ पदमा बसिरहनु मुलुकका लागि पनि र मलाई ब्यक्तिगत रुपमा पनि फाइदाजनक छैन- भट्टराईले भन्नुभयो-’तर यत्तिकै बालुवाटार छाडेर हिड्ने कुरा भएन, दलहरुवीच नयाँ बिकल्पबारे सहमति हुनुपर्‍यो नी ।’
संघीयतामा अल्झिएको गाँठो फुकाएर संबिधानसभा पुर्नस्थापना गर्ने वा नयाँ चुनावमा जाने दुई बिकल्पमात्र बाँकी रहेको भन्दै प्रधानमन्त्रीले पहिलो बिकल्पमा कानुनी जटिलता रहेकाले नयाँ संबिधानसभाको चुनाव नै उपयुक्त रहेको बताउनुभयो । सुरुको केही महिना संबिधानसभाको काम गरि संबिधान जारी गर्ने र त्यसपछि ब्यबस्थापिकामा रुपान्तर गर्नेगरि संबिधानसभाको चुनाव हुनुपर्ने प्रधानमन्त्रीको भनाई थियो । संबिधानसभा पुर्नस्थापनाको बाटोमा गए पाँचबुँदे सहमतिअनुसार संबिधान बनेपछि कांग्रेसलाई नेतृत्व दिने र नयाँ चुनावमा जाने भए नयाँ सरकार बनाउन दलहरुवीच सहमति बन्नुपर्ने बताएका प्रधानमन्त्रीले त्यसबेला आफुले प्रधानमन्त्रीको आकांक्षा नगर्ने स्पष्ट पार्नुभयो ।
माओवादीले युद्धकालमा भारत सरकारलाई चिठी लेखेरभारतको हित बिपरित काम नगर्ने बाचा गरेको भनि हालै आएका खवरप्रति प्रधानमन्त्रीले आश्चर्य ब्यक्त गर्नुभयो । ‘हामीले २०५८ सालमै राष्ट्रसंघ, अमेरिका, भारत र चीन लगायतका अन्तराष्ट्रिय शक्तिलाई चिठी लेख्दै शान्तिपूर्ण तरिकाले अघि बढ्न तयार रहेको भन्दै हाम्रो नीति स्पष्ट पारेका थियौं, त्यो चिठी पहिले नै सार्वजनिक भइसकेको हो र भारतलाई मात्र लेखेको पनि हैन’ भट्टराईले भन्नुभयो- ‘त्यही चिठीका आधारमा माओवादीलाई भारत परस्त भनेर प्रचार गरिनु हास्यास्पद छ ।’
अरु नेपालीहरुजस्तै युद्धकालमा आफुहरु भारत आउने जाने गरेको भएपनि कसैको दया मायाले नगएको प्रधानमन्त्रीको भनाई थियो । ‘दरबार हत्याकाण्डपछि हामीले राष्ट्रियताको सबालमा गर्ने संर्घषको स्वरुप घोषणा गरेरै बदलेको हो, त्यसमा लुकिछिपी केही छैन् ।’- प्रधानमन्त्रीले भन्नुभयो- राष्ट्रियता बिबादको बिषय बनाइनु दुर्भाग्यपूर्ण संस्कार हो ।’

No comments:

Post a Comment