Wednesday, August 1, 2012

युनिटी अध्यक्ष काशीराम गुरुङ पक्राउ

१७ साउन, काठमाडौं । नेटवर्किङ व्यवसायका नाममा सार्वसाधारणबाट अबौं ठगी गरेको फरार भएका युनिटी लाइफ इन्टरनेशनलका अध्यक्ष काशीराम गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरबाट गएको टोलीले गुरुङलाई बुधबार विहान इलामको पशुपतिनगर क्षेत्रबाट पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर ललितपुरले बुधबार नै पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
युनिटीलाई वैधानिकता प्रदान गर्नेबारे छलफल गर्न बाग्लुङ आउने क्रममा गुरुङलाई पक्राउ गरिएको प्रहरी बरिष्ठ उपरीक्षक रविन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो । उनी लामो समयदेखि भारतको दर्जलिङ्गमा बस्दै आएका थिए ।
उनले विनोदकुमार लामाको नाममा चालक अनुमति पत्र लिएको तथा कुमारी बैंक र इन्भेष्टमेन्ट बैंकको एटीएम कार्ड प्रयोग गर्ने गरेको पाइएको छ ।
श्रेष्ठका अनुसार गुरुङलाई भोलि बिहीबार जिल्लाअदालत ललितपुरमा पेश गरिनेछ । उनीविरुद्ध गठी र बैंकिङ कसुरुको मुद्धा चलाईनेछ ।
सरकारले युनिटी बन्द गराएपछि प्रहरीले गुरुङसँगै प्रवन्ध निर्देशक विष्णुबहादुर क्षेत्री र अर्थ निर्देशक कृष्णबहादर क्षेत्री र महेन्द्र केसीलाई विना इजाजत बैंक तथा वित्तीय संस्था संचालन गरेको बैंकिङ्ग कसुर र ठगी मुद्धामा मोष्ट बाण्टेडको सूचीमा राखेर २ वर्षदेखि खोजी गरिरहेको थियो । अन्य तीन जना भने अझै फरार छन् । युनिटीका सञ्चालकहरुले गत असारमा गुरुङकै अध्यक्षतामा जय युनिटी को अपरेटिभ पार्टी गठन गरेको घोषणा गरेका थिए ।
युनिटीले नेटबर्किङ व्यवसायका नाममा ४ लाखभन्दाबढी सर्वसाधारणको पैसा जम्मा गरेका थिए । युनिटीले एक व्यक्तिबाट ८ देखि १५ हजारका दरले पैसा उठाएको थियो । युनिटीले ३ अर्ब ८९ करोड ९८ लाख ७० हजार १ सय ३ रुपैयाँ ७२ पैसा ठगेको प्रहरीले बताएको छ । तर, युनिटीले ६ अर्बभन्दा बढीरकम जम्मा गरेको बुझिएको छ ।

No comments:

Post a Comment