Saturday, October 12, 2013

राजमार्गको खाना महँगो पनि, गुणस्तरहीन पनि

काठमाडौं - काठमाडौं बस्दै आएका नेपाली दसैंका लागि घर फर्कने क्रम तीव्र
छ। दसैंका लागि घर फर्कने यात्रु चितवन र धादिङका राजमार्गस्थित 'लाइन'
होटलमा महँगो मूल्य तिरेर गुणस्तरहीन खाना खान बाध्य छन्। काठमाडौं
नारायणगढ सडक खण्डमा पर्ने धादिङको धार्के, चितवनको रामनगर र मुग्लिनका
होटलले यात्रुलाई गुणस्तरहीन खाना खुवाइरहेका छन्।
राजधानी काठमाडौंबाट देशका विभिन्न स्थानका लागि छुट्ने र राजधानी
भित्रने सार्वजनिक गाडीले यात्रुलाई खाना र खाजाका लागि त्यस्तै ठाउँमा
ओराल्छन्।
दसैंका लागि अर्घाखाँची फर्कंदै गरेका रोशन पौडेलले रामनगरको एक
होटलबाहिर भेटिए। 'नखाऊँ भने दिनभरि भोकै परिने, खाउँ भने खाना देख्दै
निस्किएलाजस्तो,' पौडेलले थपे, 'हेर्दै सबैभन्दा सस्तो चामलको भात दियो,
अलिकति खाएर बीचमै छोडें।'
पौडेलसँगै त्यही होटलमा खाना खाएर अमृत अधिकारी होटलवालालाई गाली गर्दै
निस्किए। '२२० रुपैयाँ तिर्दा पनि गतिलो खान पाउनु छैन,' रिसले
मुर्मुरिएका अधिकारी बसको डाइभरसँग पनि झोक्किँदै थिए, 'जहाँ कमिसन
पाइन्छ, त्यहीँ ल्याएर ओराल्छ। आफू स्टाफ खाना खायो, बाँकीले कस्तो
खान्छन्, वास्ता हुँदैन।'
सबैभन्दा सस्तो लाग्ने चामलको भात, चौलानीजस्तो दाल, राम्ररी नपाकेको
तरकारी, सुकेको मुलाको अचार, ढुंगा लाग्ने साग, बासीजस्तो मासु
राजमार्गछेउमा रहेका 'लाइन' होटलको खानाका विशेषता हुन्। त्यसबाहेक यस्ता
होटलमा नछोपीकनै खीर, पुरी, आलु, चना, चाउचाउ राखिएका छन्। त्यहाँ
धेरैजनाका लागि एकैचोटि खाना पकाइन्छ र पकाउने बेला खानाको गुणस्तरमा
ध्यान दिइन्न। धादिङको थाक्रेस्थित यस्तै एक होटलमा काम गर्ने एक मजदुर
रातिसम्मका लागि बिहानै खाना पकाइने बताउँछन्। 'बिहानै पकाइन्छ। दिउँसै
सिद्धियो भने फेरि पकाइन्छ नत्र त्यही खाना रातिसम्म बेचिन्छ। हामीलाई
भने दिउँसो १,२ बजेतिर छुट्टै पकाउँछौं,' उनी भन्छन्।
होटल स्टाफजस्तै त्यहाँ रोक्ने गाडीका चालक, सहचालक र कन्डक्टरलाई पनि
छुट्टै खानाको व्यवस्था छ। यात्रुले त्यो छुट्टै विशेष मीठो खानालाई
'ज्वाइँ खाना' भन्छन्। गाडीबाट ओर्लेपछि चालक छुट्टै बस्छन् र उनीहरुलाई
मीठोमसिनो 'ज्वाइँ खाना' खुवाइन्छ। यति मात्र नभएर, कति होटलले अन्तमा ती
होटलमा खाना खान यात्रु ल्याइदिएबापत चालकलाई कमिसनसमेत दिन्छन्।
'पहिलेपहिले अलि धेरै दिन्थे, अचेल एकजना बराबर ५० रुपैयाँसम्म दिन्छन्।'
वीरगन्ज–काठमाडौं रुटमा गाडी चलाउने एक चालकले नागरिकसँग भने। त्यस्ता
होटलले यात्रुलाई गुणस्तरहीन खाना खुवाउनेबारे चालकदल बेखबर छैन।
तौलिहवा–काठमाडौं रुटको एक बसका सहचालकले नागरिकसँग भने, 'प्यासेन्जरले
गाली गर्छन् तर यो लाइनमा यस्तै हो। फेरि पापी पेटको सवाल पनि छ। साहुले
दिएको तलबभत्ताले पुग्दैन। अलिअलि दायाँबायाँ त गर्नैपर्यो नि।'
खानयोग्य नभए पनि 'लाइन' होटलका खानाको मूल्य भने राजधानीमा राम्रै खाना
खुवाउने होटलको भन्दा कम छैन। सादा खानाको मूल्य न्यूनतम १२० बाट सुरु
हुन्छ भने मासुसहित खाना खाँदा न्यूनतम २०० तिर्नुपर्छ। मुग्लिनको एक
होटलमा २२० रुपैयाँ तिरेर मासुसहितको खाना खाएर निस्केकी रौतहट,
चन्द्रनिगाहपुरकी अस्मिता थापाले भनिन्, 'चार टुक्रा मासु दिएको थियो,
त्यो पनि सबै हाडैहाड।'
पहिले एकपल्ट यस्तै होटलमा खाना खाएपछि तीन दिन झाडापखाला लागेपछि
पथलैयाका रामकिशोर यादवले घर जाँदा र फर्कंदा झोलामा चाउचाउ, बिस्कुट,
चिप्स आदि बोक्न थालेका छन्। 'साह्रै भोक लागिरहेको थियो। खाना हेर्दा
राम्रो नलागे पनि खाएँ। घर पुगेपछि त तीन दिनसम्म बिरामी परें। त्यसपछि
जति भोक लागे पनि यस्तो होटलमा खाँदिन। बरु चटपटे खाएर बस्छु,' रामनगरमा
भेटिएका यादवले भने।
राजमार्गका होटलले गुणस्तरहीन खाना महँगो मूल्यमा खुवाइरहेको खाद्य
अनुसन्धान अधिकृत ईश्वर सुवेदी पनि स्विकार्छन्। दसैं नजिकिँदै गर्दा
अनुगमन तीव्र पारे पनि चितवन र धादिङमा सरसर्ती हेरेको मात्र उनले बताए।
रातको समयमा एउटा मात्र होटल भएको ठाउँमा गाडी रोकिदिने गर्छन् र यात्रु
जहाँ गाडी रोक्यो त्यहीँ खाना खान बाध्य हुन्छन्। त्यसबारे अनुसन्धान
भइरहेको र छिट्टै नै स्थानीय प्रशासनले कारबाही अगाडि बढाउने उनले बताए।
कालोबजार
राजमार्गका होटल र पसलहरुले अधिकतम खुद्रा मूल्य (एमआरपी) २० रुपैयाँ
उल्लेख भएको बोतलको पानी २५ रुपैयाँभन्दा कममा राजमार्गका होटलमा सायदै
पाइन्छ। कुनैकुनै होटलमा उपभोक्ताले बोतलको पानीका लागि प्रतिबोतल ४०
रुपैयाँसम्म तिर्नुपर्छ। कालोबजार तथा अन्य सामाजिक अपराध तथा सजाय ऐन,
२०३२ अनुसार २० प्रतिशतभन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावको लाभ
उठाई सो माल वस्तुको अनुचित नाफा लिए नाफाखोरी हुने र निजलाई ५ वर्षसम्म
कैद वा जरिवाना वा दुवै हुन सक्नेछ। खरिद मूल्यभन्दा बिक्री मूल्य २०
प्रतिशतभन्दा बढी भए त्यो कालोबजार हुन्छ। २० रुपैयाँमा खरिद गरी २५ मा
बेच्दा मात्र पनि २५ प्रतिशतको मूल्य अन्तर पर्छ। पानी त उदाहरण मात्र
हो, तयारी खाद्यपदार्थ र पेयको मूल्य यस्ता 'लाइन' होटलमा तोकिएको
एमआरपीभन्दा दोब्बरसम्म पर्छ। हालै संवाददाताले रामनगरको 'गिताञ्जली
होटल' मा २५ रुपैयाँ एमआरपी तोकेको कोकलाई ४० रुपैयाँ तिर्नुपरेको थियो।
चितवन सदरमुकाम भरतपुरबाट करिब ५ किलोमिटर दूरीमा रहेको यात्रुलाई कमसल
खाना खुवाउने 'लुटाहा बजार' बारे प्रशासन बेखबर छ। स्थानीयस्तरमा
कालोबजारी र ठगी नियन्त्रणका लागि बजार अनुगमन गर्ने अधिकार जिल्लाका
प्रमुख जिल्ला अधिकारीलाई छ। तर पटकपटक सम्पर्क गर्न खोज्दा पनि चितवनका
जिल्ला अधिकारी नरेन्द्र शर्मा सम्पर्कमा आउन चाहेनन्। धादिङका जिल्ला
अधिकारी विष्णुप्रसाद पोखरेलले पनि पहिलेको तुलनामा होटलको सरसफाइ र
खानाको गुणस्तरमा सुधार आएको बताए। जिल्ला प्रशासन कार्यालयले पनि
नियमितजसो अनुगमन गर्दै आएको उनले बताए। पछिल्लो पटक अनुगमन गरिएको
धादिङका ३५ होटलमा कारबाही नै गरिहाल्नुपर्ने खालको अवस्था नभएको उनले
बताए। केही होटलले भने कन्त्रि्कट मिसिएको चामल, म्याद नाघेका चाउचाउ
कोक, चिजबल बिक्रीमा राखेको भेटिएको उनले बताए। उनका अनुसार त्यस्ता
सामग्रीलाई टोलीले त्यहीँ नष्ट गरिएको थियो। दसैंको समयमा सबैले
व्यापारिक हिसाबले सोच्ने भएकाले १०,१५ रुपैयाँ महँगो गरेको कारबाही नै
गर्नुपर्दैन तर सचेत भने गराउँदै आएको सहायक जिल्ला अधिकारी विजय पौडेलले
बताए। उनका अनुसार केही दिनको अनुगमनमा ग्राहकसँगै होटलको खाना र
गुणस्तरबारे बुझ्न खोज्दा ग्राहकले पनि त्यति उत्कृृष्ट र गुणस्तर भन्न
मिल्दैन तर मूल्यअनुसार ठीकै भएको पाइएको उनले दाबी गरे। उनका अनुसार
केही दिनअघि बाख्रीको मासु बेचेर बसेका धादिङकै एक व्यवसायीलाई भने
मुद्दा दायर गरी तारिखमा राखेको उनले जानकारी दिए। त्यस्तै, कालोबजार
गर्नेलाई पनि तत्काल कारबाही अघि बढाउने उनले सुनाए।
उप्किसक्यो स्टिकर
गत वर्ष खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चितवनको मुग्लिन र
रामनगरका होटलको निरीक्षण गरी गुणस्तर अनुसार १८१ वटा होटलको ढोकामा
स्टिकर टाँसेको थियो। होटलका खानेकुरा, सरसफाइ आदिलाई समेटेर होटललाई चार
श्रेणीमा विभाजन गरेको थियो। विभागले गुणस्तरीय खाना खुवाउने र सरसफाइमा
विशेष ध्यान दिने होटललाई हरियो स्टिकर, औसत खाना हुने होटललाई पहेंलोमा
एउटा रातो धर्को भएको स्टिकर, सामान्य स्तरको खाना हुने होटललाई पहेंलोमा
दुइटा रातो धर्को भएको स्टिकर र गुणस्तरहीन खानेकुरा भएको होटललाई रातो
स्टिकर टाँसिदिएको थियो।
अनुगमन गरिएका होटलमा जम्मा ६ वटालाई मात्र हरियो स्टिकर दिइएको थियो। तर
हाल दुवै ठाउँका लगभग सबै होटलवालाले स्टिकर च्यातिसकेका छन्। स्टिकरसँगै
विभागले होटलमा सबैले देख्ने ठाउँमा टाँस्नका लागि १० बुँदे
प्रतिबद्धतापत्र पनि टाँसेको थियो। प्रतिबद्धतामा ग्राहकलाई गुणस्तरीय
सेवा उपलब्ध गराउने, खानेकुरालाई राम्ररी पकाएर सुरक्षित तापक्रममा
राख्ने, काँचो र पकाएको खानेकुरा छुट्टाछुट्टै राख्ने, स्वच्छ पानी र
स्वच्छ कच्चा पदार्थ प्रयोग गर्ने र प्याकिङ गरिएको खाद्यवस्तुको उपभोग्य
मितिभित्र प्रयोग गर्ने र बिक्री गर्ने उल्लेख छ। खाना पकाउने, भण्डारण
गर्ने र खुवाउने ठाउँ सफा राख्ने, होटलवरपर, शौचालय, बाथरुम र भाँडा
माझ्ने ठाउँ सफा राख्ने, खाना पकाउने र खुवाउने व्यक्तिको व्यक्तिगत
सरसफाइ कायम राख्ने, तोकिएको परिधिभित्र मात्र खाद्यरंग प्रयोग गर्ने र
ढाँटेर र झुक्याएर कम गुणस्तरको खाद्यवस्तु प्रयोग नगर्ने कुरामा पनि
होटल व्यवसायीले प्रतिबद्धता जनाएका थिए।
विभागको निरीक्षणपछि गुणस्तर सुधार्ने प्रतिबद्धता जनाए पनि मुग्लिन र
रामनगरका अधिकांश होटल सुध्रेका छैनन्। तर, खाद्य तथा गुण नियन्त्रण
विभागले भने विगतका तुलनामा होटल उल्लेख्य रुपमा सुधार आएको दाबी गर्दै
आएको छ। खाद्य तथा गुण नियन्त्रण विभागकी महानिर्देशक जीवनप्रभा लामा भने
सबै होटलमा स्टिर रहेको र खाना तथा सरसफाइमा पूर्णतया ध्यान दिइएको
बताउँछिन्। कुनैकुनै होटलले च्याते पनि अधिकांश होटल पहिलेको तुलनामा
सुध्रेको उनको दाबी छ। खानाको गुणस्तरअनुसार मूल्य तोकिएको हुनाले १०,२०
रुपैयाँ फरक पर्दा सचेत गराउन सकिने तर कारबाही नै गरिहाल्नुपर्ने अवस्था
नआएको उनले बताइन्।
गुणस्तरहीन खानाको कुरा एकातिर छ धार्के, थाक्रे, मुग्लिन, रामनगर,
जुगेडीमा रहेका होटलले न प्यान नम्बर भएको प्लेट देखिने गरी राखेका छन् न
त आवश्यक प्रमाणपत्र नै देखिने गरी झुन्ड्याएका छन्। कानुनअनुसार व्यवसाय
सञ्चालन गर्ने व्यवसायीले व्यवसाय आन्तरिक राजस्व विभागमा दर्ता गराई
स्थायी लेखा नम्बर लिनुपर्छ। यसरी लिइएको नम्बर तोकिएअनुसार प्लेटमा लेखी
व्यवसाय सञ्चालन गर्ने स्थानमा सबैले देख्ने गरी राख्नुपर्छ। साथै,
व्यवसाय दर्ताको प्रमाणपत्र र राजस्व कार्यालयमा दर्ता भएको प्रमाणपत्र
पनि पसलमा राख्नुपर्छ। आन्तरिक राजस्व कार्यालय चितवनका प्रमुख प्रेम
उपाध्यायका अनुसार दसैंपछि यसबारे अनुगमन तीव्र पार्ने बताए। उपाध्याय
भने हरेक होटल दर्ता भएको र कर पनि तिर्ने गरेको बताउँछन्। तर प्यान
नम्बर र दर्ता प्रमाणपत्र देख्ने गरी नराखिएकोमा आन्तरिक राजस्व कार्यालय
आफैं बेखबर छ।
राजमार्गका 'लाइन' होटलको मेनु
खाना मूल्य
सादा खाना १२०/–
खसीको मासुसहित खाना २२०/–
कुखुराको मासुसहित खाना २००/–
कुखुराको मासु प्रतिप्लेट १२०/–
खसीको मासु प्रतिप्लेट १५०/–
खसीको भुटन १२०/–
चाउमिन ५०/–
खीर ५०/–
पुरी प्रतिगोटा १५/–
सेल प्रतिगोटा १५/–
समोसा प्रतिगोटा १५/–
चना प्रतिप्लेट ३०/–
तरकारी ३०/–
दूध चिया २०/– source nagariknews.com

No comments:

Post a Comment