Wednesday, August 1, 2012

पूर्व महिला सभासद्ले भने- जिल्लामा मुख देखाउनै लाज भयो

कलेन्द्र सेजुवाल, सुर्खेत, साउन १७- दलका शीर्ष नेताहरुका कारण सभासद्को भूमिकापछि जिल्लामा मुख देखाउन लाज भएको पूर्व महिला सभासद्ले बताएका छन्। राष्ट्रिय राजनीतिक संकट र महिलाका मुद्दा विषयक कार्यक्रममा आएका विघठित संविधान सभाका सभासद्ले यस्तो पीडा पोखेका हुन्।
'शीर्ष नेताहरु संविधान निर्माणभन्दा सत्ता हत्याउन केन्द्रीत हुँदा जनताको मत लिएर संविधान बनाउन गएमा हामीहरु संकटमा पर्‍यौं,' पूर्व सभासद् उषाकला राइले भनिन्, 'अहिले हामीलाई जनतासामु मुख देखाउन लाज लागिरहेको छ, नेताहरु भने अझै सत्ताको लुछाचुडीमै व्यस्त छन्।'
पूर्व सभासद् मोहम्मदी शिद्धिकीले पुरुषप्रधान सोचाइबाट नेपाली समाज अघि बढेको भन्दै अधिकार प्राप्तिको लागि सबै महिला संगठित हुनुपर्ने बताइन्। ‘पुरुषप्रधान सोचकै कारण हरेक क्षेत्रमा महिलाहरु अघिबढ्न सकिरहेका छैनन्,' उनले भनिन्, ‘यसको अन्त्य गर्दै अधिकार रक्षाको लागि आफैबाट संघर्ष सुरु गर्नुहोस्।'
पूर्व सभासद् दामाकुमारी शर्माले दलका शीर्ष नेताहरुमा महिला मुद्दालाई उठान गर्न मन नपराउने प्रवृत्ति हावी रहेको बताइन्। त्यस्तै, पूर्व सभासद कल्पना राणाले सरकारमाजाने दलहरु आफ्नो सत्ता टिकाउने खेलमा लाग्ने प्रथाका कारण महिला अधिकारकालागि पहल हुन नसकेको बताइन्। ‘दलहरु सत्तामा पुगेपछि सत्ता टिकाउने खेलमै केन्द्रीत हुन्छन्,' उनले भनिन्, ‘महिला मुद्दा उठाउन अब सबैले लाग्नुपर्छ।'
पूर्व सभासद् खड्कबहादुर बस्यालले विगतमा जेजस्तो भए अब सबै मिलेर देश बनाउनुपर्ने बताए। कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष गोविन्द कोइराला,एकीकृत माओवादीका सहइन्चार्ज सीता नेपाली, एमाले जिल्ला सचिव गगन सुनार, नेकपा-माओवादीका सचिव ठम्मर बिष्ट, राष्ट्रिय जनमोर्चाकाबालकृष्ण सुनारलगायतले बोलेको थिए।

No comments:

Post a Comment