केपी ढुंगाना, काठमाडौं, साउन २२ - प्रहरी संगठनको बहुचर्चित सुडान भ्रष्टाचारको प्रमाण थोत्रा आर्म्स पर्सनल क्यारियर (एपिसी) प्रहरीको सवारी शाखामा आइपुगेको छ। ३० करोड रुपैयाँ खर्च गरेर किनिएका थोत्रा एपिसी आइतबार काठमाडौं भित्रिएका हुन्।
आठवटा एपिसीमा २८ करोड भ्रष्टाचार भएको सार्वजनिक लेखा समितिले खुलासा गरेको थियो। नयाँ एपिसी खरिदको बहानामा व्यापारीसँग मिलेर प्रहरी नेतृत्वले थोत्रो एपिसी पठाएको सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३४ प्रहरीसहित ३६ जनाबिरुद्ध भ्रष्टाचारअभियोग लगाएको थियो। यीमध्ये व्यापारी र पूर्वप्रहरी महानिरीक्षक ओमबिक्रम राणा, हेमबहादुर गुरुङ र रमेश चन्द ठकुरीलगायत भ्रष्टाचारमा संलग्न रहेको विशेष अदालतले पुष्टि गरेको थियो। यो मुद्दा सर्वोच्चमा विचाराधीन छ।
त्यही थोत्रा आठ एपिसीमध्ये चार एपिसी आइतबार काठमाडौं आइपुगेको हो। कलकत्ता बन्दरगाह हुँदै नेपाल भित्रिएका यी एपिसी ट्रकबाट उतार्न सकिएको छैन।
प्रहरी प्रवक्ता विनोद सिंहले एपिसी आइपुगेको पुष्टि गर्दै त्यसलाई सवारी शाखामा राखिने बताए। त्यसको प्रयोगबारे प्राविधिकलाई देखाएपछि मात्रै केही भन्न सकिने उनले नागरिकसँग बताए।
राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत सुडानमा खटिएका नेपाल प्रहरीको प्रयोगका लागी प्रहरी प्रधान कार्यालयले प्रहरी कल्याण कोषबाट रकम निकालेर २०६५ मा आठवटा एपिसीसहित बन्दोबस्तीका सामान किनेर पठाएको थियो।
सुडानका लागि अत्यावश्यक सामग्री र एपिसी खरिदमा ४४ करोड रुपैयाँ खर्च भएको थियो। सबै एपिसी थोत्रा र कामै नलाग्ने भएकाले प्रयोगमै आएनन्। नेपाली सुरक्षाकर्मीका एपिसी कामै नलाग्ने आएको पुष्टि भएपछि राष्ट्रसंघले प्रयोगमै नल्याई नयाँ एपिसी मागेको थियो।
राष्ट्रसंघीय शान्ति मिसनले तत्काल नयाँ चार एपिसी नपठाए नेपाल प्रहरीको मिसन नै फिर्ता गर्ने चेतावनी दिएपछि प्रहरी प्रधान कार्यालयलेचीनको नोरिङ कम्पनीबाट नयाँ एपिसी किनेर सुडान पठाएको थियो। ३ लाख ९७ हजार ८ सय डलरमा खरिद गरिएका नयाँ एपिसी राष्ट्रसंघले लिइसकेको छ। एआइजीको टोली चीन गएर अनुगमनपछि नेपाः इन्टरनेशनल प्रालिमार्फत नयाँ एपिसी खरिद गरी सुडान पठाएको थियो।
नयाँ एपिसी एक वर्षअगाडि नै सुडान पोर्टमा पुगे पनि थोत्रा एपिसी बाहिर ननिकाली नयाँ भियाउन नदिने सुडान सरकारको अडानपछि नेपाल प्रहरीले एक करोड रुपैयाँभन्दा बढी खर्च गरेर नेपाल ल्याएको हो।
नेपाल भित्रिएका थोत्रा एपिसी के गर्ने भन्ने टुंगो लागिसकेको छैन। स्रोतका अनुसार ती एपिसी मर्मत गरेर प्रयोग गर्ने विषयमा केही राष्ट्रले चासो देखाएका छन्। मुद्दा अदालतमा विचाराधीन भएकाले अन्तिम किनारा नलागेसम्म बिक्री गर्न नसकिने भन्दै प्रहरीले सवारी विभागमै थन्क्याउने भएको छ।
राष्ट्रसंघले तत्काल चारवटा एपिसीमात्रै मगाएकाले अन्य चार एपिसीबारे केही निर्णय नभएको प्रधान कार्यालयस्रोतले बतायो।
No comments:
Post a Comment