Sunday, August 19, 2012

थाई एयरवेजका नेपाली कर्मचारीले आन्दोलन गर्ने

काठमाडौँ, भदौ ३- नेपालमा पनि जहाज सेवा सञ्चालन गरिरहेको बहुराष्ट्रिय वायुसेवा कम्पनी थाई एयरवेज इन्टरनेसनलका काठमाडौँ शाखामा कार्यरत मजदुर कर्मचारीहरुले आफ्नो तलब र अन्य सुविधा बढाउनु पर्ने माग गर्दै आन्दोलनमा उत्रिने भएका छन्।
मजदुर कर्मचारी युनियनले आज पत्रकार सम्मेलन गरी कर्मचारीहरुले खाइपाइ आएको मासिक तलबमा रु १३ हजार वृद्धि गर्नुपर्ने, कर्मचारीहरुले तिर्नुपर्ने आयकर कम्पनीले तिर्नुपर्ने तथा सातदेखि १५ वर्षसम्म सेवा गरेका कर्मचारीलाई प्रत्येक वर्षको दुई महिना बराबरको तलब सुविधा दिनुपर्ने माग राखेका छन्।
कर्मचारी युनियनका अध्यक्ष अम्बरबहादुर पौडेलले गत जनवरी २३ मा नै सात सूत्रीय माग व्यवस्थापनलाई बुझाए पनि माग पूरा गर्न व्यवस्थापनले चासो नदिएको बताए।
उनले मुख्य कार्यालयका कर्मचारीको कर कम्पनीले तिरे पनि शाखा कार्यालयका कर्मचारीको कर नतिरेर भेदभाव गरिएको बताउनुभयो।
काठमाडौँ शाखामा ६६ जना कर्मचारी कार्यरत रहेको र २०६० सालमा आधिकारिकरुपमा ट्रेड युनियनमा दर्ता गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो।

No comments:

Post a Comment