Thursday, August 23, 2012

दाइजोको निहुँमा आगो लगाइयो

जनकपुर, भाद्र ७ - एक विवाहित महिलाले जिउमा मट्टीतेल खन्याएर जलाउन खोजेको भन्दै जिल्ला प्रहरी कार्यालयमा श्रीमान् र सासूविरुद्ध जाहेरी दिएकी छन् ।
२१ महिनाअघि जनकपुर नगरपालिकाको सीमावर्ती बसहिया गाविस-९ कटैयाचौरी बस्ने गणेश साह कसेराका छोरा मुन्ना भन्ने मनोजकुमार साहसँग बिहे गरेकी भारत मधवापुर माइती भएकी २१ वर्षीया रिनादेवीले श्रीमान् र सासू फुलियादेवीले आफूलाई मट्टीतेल खन्याएर जलाउन लागेको भन्दै उजुरी गरेकी हुन् ।
रिनाले आफूलाई साउन २५ गते कुटपिट गरी बेहोस बनाएर मट्टीतेल खन्याएर जलाउने प्रयास गरेको बताएकी छन् । चिकित्सकहरूले रिनाको छातीमुनिको अधिकांश भाग जलेको बताएका छन् ।
रिनाका मामा महोत्तरी मठिहानी-७ का ओमप्रकाश साहका अनुसार जिउँमा आगो लगाई ससुरा पक्षका सबै जना घरबाट फरार भएका थिए । छिमेकीले उनलाई जनकपुरअञ्चल अस्पताल ल्याएका थिए । पछि माइती पक्षकाले थप उपचारका लागि दरभंगा लगेका थिए । दरभंगामा ९ दिन उपचार गराई उनीहरू उजुरी दर्ता गराउन मंगलबार जनकपुर आएका थिए ।
रिनाका मामा ओमप्रकाशले चिकित्सकको प्रेसक्रिप्सन देखाउँदै भने, 'चिकित्सकहरूले थप उपचारका लागि पटना लान भनेका छन् । जिप्रकामा उजुरी दर्ता गराउन रिनालाई यहाँ ल्याएका हौं ।'
२१ महिनाअघि ५० हजार नगद तथा एक तोला सुन दाइजो दिएर रिना र मुन्नाबीच विवाह भएको थियो । विवाहपछि मुन्नाले ससुराली पक्षसँग थप ५० हजार मागेकामा दस हजार मात्र दिएपछि उक्त घटना भएको माइती पक्षको आरोप रहेको छ । रिनाकी आमा चिन्तादेवीका अनुसार मागेको थप दाइजो दिन नसकेपछि रिनालाई यातना दिने क्रम सुरु भयो र अन्ततः हत्या प्रयास पनि भयो । 'मेरो चार सन्तानमध्ये रिनाको मात्र बिहे भएको छ । अर्को छोरीको पनि बिहे गर्नुपर्छ । अन्य सन्तानलाई पनि पालनपोषण गर्नुपर्छ । अनि पटक-पटक दाइजो कहाँबाट दिने ?,' उनी भन्छिन् ।
धनुषा प्रहरीले मंगलबार उजुरी दर्ता गरेको थिएन । प्रहरी उपरीक्षक पुरुषोत्तम कँडेलले एक जनाको हत्या प्रयास मुद्दामा झन्डै एक दर्जन व्यक्तिलाई आरोपी बनाइएकाले मंगलबार मुद्दा दर्ता नगरिएको बताए । बुधबार भने श्रीमान् र सासूविरुद्ध किटानी जाहेरी दिएपछि उजुरी दिएको उनले बताए ।

No comments:

Post a Comment