विष्णु पोखरेल, काठमाडौं, साउन २४ - गएको १० वर्षमा पशुपंक्षीको उत्पादन बढेपछि नेपालमा मासु, अन्डा र दूधको उपभोग वृद्धि भएको छ। एक नेपालीको भागमा वार्षिक करिब १३ किलो मासु परेको छ। गाईभैंसी, बाख्रालगायत पशु र कुखुराको संख्यावृद्धिसँगै यस्ता खानेकुराको उपभोग बढेको हो।
यसले दक्षिण एसियामा धेरै मासु उपभोग गर्नेमध्ये दोस्रो स्थानमा रहेको नेपालमा मासुको उपभोग थप बढेको देखाएको छ।
कृषि मन्त्रालयका अनुसार अहिले नेपालमा उत्पादनहुने जम्मा मासु सबै जनतालाई भाग लगाउने हो भने एकजना बराबर १२.८४ किलो पर्छ। गत वर्षसम्म प्रति एक नेपालीलाई एक वर्षमा ९ किलो मासु उपलब्ध थियो।
यस वर्ष उत्पादित कच्चा दूधको हिसाब गर्दा प्रतिव्यक्ति प्रतिवर्ष ६० लिटर पुगेको छ। गत वर्षसम्म यस्तो उपलब्धता ५२ लिटरमात्र थियो। यसैगरी नेपालमा उत्पादित अन्डाको हिसाब गर्दा भने प्रतिव्यक्ति प्रतिवर्ष २९ वटा पुगेको छ। गत वर्षसम्म २३ वटामात्र थियो।
पशुपंक्षीको संख्या निकै बढेको देखिएपछि अझै त्यसको आधारमा उत्पादन बढाउन भने नसकिएको मन्त्रालयको तथ्यांकले देखाएको छ। यसले गर्दा मासु, दूध र अन्डाको उपलब्धता बढे पनि अझै नेपालीले खाद्य तथा कृषि संगठन(एफएओ)ले तोकेको मापदण्डअनुसार उपभोग गर्न पाएका छैनन्।
'पशुपंक्षीको संख्या बढे पनि त्यसअनुरुप उत्पादन खासै बढेको देखिएन,' मन्त्रालयका प्रवक्ता हरि दाहालले भने, 'यसलाई बढाउन प्रयत्न गर्नुपर्ने देखिएको छ।' पशुपंक्षीको संख्या बढे पनि दूधको अझै अभाव छ। नेपालमा दैनिक ४ देखि ५ लाख लिटर कच्चा दूधको अभाव छ।
प्रवक्ता दाहालले नेपाल प्रतिव्यक्ति पशुपंक्षी दरका हिसाबले दक्षिण एसियामै अगाडि रहेको बताए। उनका अनुसार हाल नेपालमा एकजना व्यक्तिको भागमा झन्डै तीनवटा पशुपंक्षी पर्छ। यस्तो दर भारतमा ०.७३ र चीनमा ०.७४ मात्र छ। यी दुवैदेशमा एक व्यक्ति बराबर एक पशुपंक्षी पनि पदैनन्। यसैगरी श्रीलंकामा ०.६४, बंगालादेशमा १.३८ र पाकिस्तानमा १.६४ छ।
विभिन्न निकायका अनुसार आवश्यकता र उपलब्धता
वस्तु आवश्यकता(एफएओ) आवश्यकता(नेपाल सरकार) उपलब्धता
मासु ७३ किलो १४ किलो १२.८९ किलो
दूध ९१ लिटर ५७ लिटर ६० लिटर
अन्डा - ४८ वटा २९ वटा
'विकसित मुलुकमा यस्तो दर धेरै भए पनि हाम्रो समेतउल्लेख्य हो,' दाहालले भने। विकसित मुलुकमध्ये न्युजिल्यान्डमा एक व्यक्ति बराबर २० पशुपंक्षीपर्छ। मासु, दूध, अण्डालगायतका पशुपंक्षीजन्य खाद्यान्नको मागवृद्धिसँगै विकसित मुलुकले पशुपंक्षीपालन बढाएका छन्।
मन्त्रालयका अनुसार हाल नेपालमा ७ करोड ७० लाख ४१ हजार पशु छन्। यसमा गाईभैंसी, राँगा, गोरु, बाख्रा, खसी, भेडालगायतलाई समेटिएको छ। कुल भैंसीमध्ये करिब २६.८६ प्रतिशतमात्र दूध दिने छन् भने गाईमध्ये करिब १३.४८ प्रतिशतले मात्र दूध दिन्छन्। गएको १० वर्षमा ७० प्रतिशतले पशुको संख्या ७० प्रतिशतले बढेको छ।
गएको १० वर्षमा नेपालमा कुखुराको संख्या भने १ सय ४० प्रतिशतले बढेको छ। हाल नेपालमा ४ करोड ४६ लाख कुखुरा छन्। विगत १० वर्षमा भेडा र हाँसबाहेक अन्य पशुपंक्षीको संख्या बढ्दो क्रममा छ।
No comments:
Post a Comment