Wednesday, July 18, 2012

चामल बोरामा ५ सय, चिनी केजीमा सय रुपियाँ बढ्यो

पानी परेपछि बाटो बन्द, गाउँमा चर्को महँगी-
कमल थापा, रुकुम, साउन ३- वर्षात‍्‍सँगै सदरमुकामदेखि जिल्लाका विभिन्न बजारहरुमा सञ्चालन भइरहेका ग्रामीण सडकमा यातायात बन्द भएपछि यहाँका गाउँमा दैनिक उपभोग्य वस्तुको मूल्य चर्को रुपमा बढेको छ।
वर्षात्‌को समय भन्दै ब्यापारीहरुले उपभोग्य वस्तुमा २५ प्रतिशतसम्मा मूल्यवृद्धि गरेका छन्। घोडा खच्चडबाट सामान ढुवानी गर्नु पर्दा मूल्य वढेको हो। गाउँमा खाद्यान्नको अभाव हुन थालेकोले चर्को मूल्य तिरेरै भएपनि चामल किन्ने गरेको आठवीसकोटका गंगाराम विकले बताए।
‘गाडी चल्दा २५ केजीको चामलको बोरालाई ११ सय पर्थ्यो,' उनले भने, ‘गाडी बन्द भएपछि त्यही बोरालाई १६ सय तिर्नु पर्छ।'
त्यस्तै १ केजी चिनी ९० रुपियाँदेखि १ सय २० रुपैंयासम्म मूल्यवृद्धि भएको छ। एक प्याकेट आयोडिन नुनको मूल्य ३० रुपियाँ बढेको छ। ग्रामीण सडकहरुलाई सुधार नगर्दा यसरी नै वर्षभरी नै साधनहरु वन्द गर्नु परेको ब्यवसायीहरु बताउँछन्।
चामल,दाल, तेल, नुन, चिनी चिउरा लगायतको मूल्य बढेपछि सर्वसाधारण उपभोक्ताहरु मर्कामा परेका छन्। असारको पहिलो सातादेखि पूर्वी रुकुमको रुकुमकोट, काक्री, राडीज्युला, मग्मा क्षेत्रमा सवारी तथा ढुवानीका साधनहरु बन्द भएका छन्।
वर्षातसँगै सडक भत्कने र पहिरोले पुरेपछि बन्द भएका हुन। त्यस्तै मध्ये पहाडी लोकमार्ग अन्तर्गत सदरमुकाम खलंगादेखि चौरजहारी जोड्ने यातायात समेत बन्द भएको छ।
दाङ र चौरजहारी र सल्लीबजार चौचरजहारीमा सञ्चालनमा आएको सडक यातायात समेत अवरुद्ध भएपछि चौरजहरी लगायत पश्चिम रुकुममा समेत दैनिक उपभोग्य सामानको मूल्य बढेको छ।
‘वर्षमा ४ महिना सडक बन्द हुँदा ब्यवसायीहरु काम पाउनबाट वञ्चित भएका छौं।' ट्याक्टर ब्यवसायी गोविन्द चनाराले भने, ‘किस्तामा ल्याइएका साधन चलाउन नपाउँदा किस्ता कसरी तिर्ने भन्ने समस्याले सताउँछ।'
हिउँदमा ठूलो गाडी चल्ने सडकमा आजाभोलि ढुवानीको ट्याक्टर समेत सञ्चालन भएका छैनन् जसले गर्दा यात्रुहरु हिँडेरै गन्तब्य पुग्ने गरेका छन् भने, सामानहरु घोडा खच्चडबाटै ढुवानी हुने गरेको छ। यी सडकहरु असोजपछि मात्र सञ्चालन हुनेछन्।

No comments:

Post a Comment