Sunday, June 2, 2013

नेपालको युरोनियम खानीमा विदेशीको आँखा

१९ जेठ, काठमाण्डौं । मकवानपुरको तीनभंगाले गाउँमा आजभोली विभिन्न
बाहानामा घुम्न जाने मानिसहरुको संख्या बाक्लिन थालेको छ । चुरे
क्षेत्रमा पर्ने उक्त ठाउँ अन्य क्षेत्रको भन्दा फरक भएपनि चारैतिर खहरे
खोलाले घेरिएको ठाउँ घुम्न लायक त्यस्तो उल्लेख्य केही पनि छैन् । तर,
मानिसहरु भने दलबलका साथ त्यहाँ पुग्ने गरेका छन् ।
तीन भंगालेमा डि्रल गर्ने, खाल्डो खन्ने अनि माटो लैजाने कार्य ३०
बर्षदेखि अनवरत चलिरहेको छ। सुरुसुरुमा त्यसरी आउनेहरु गाउँलेलाई खानी
पत्ता लगाउन आएको भन्थे । गाउँलेहरु पनि खासै वास्ता गर्दैनथे । तर, डेढ
बर्षअघि आफूलाई विश्वविद्यालयको थेसिस गर्दैछु भनेर चिनाउने एउटा
गाउँलेले पटकपटक पैसा दिई तीनभंगालेको कालोपानीबाट माटो बोकेर लग्यो ।
उसले त्यो माटो किन लग्यो, कहाँ लग्यो ? कसैलाई जानकारी छैन् । यस
घटनापछि जान्नेबुझ्ने गाउँलेहरुले खोज्न थाले कि आखिर के छ त्यहाँ ? जहाँ
एककिलो माटोको लागि त्यस युवकले १५ हजार रुपैयाँसम्म तिर्यो ? यस अपरिचित
व्यक्तिले माटो लगेको तीनभंगालेको त्यही ठाउँ हो, जहाँ सन् १९९० मा खानी
तथा भूगर्भ विभागले पहिलोपटक आधिकारिक रुपमा युरेनियमको खानी रहेको तथ्य
पत्ता लगाएको थियो ।
युरेनियम भनेको सबैभन्दा बढी परमाणु भार भएको रेडियोधर्मी धातु हो । २३८
परमाणविक धार हुने यो धातुले लगातार उर्जावान विकिरणहरु फ्याँकिरहने
भएकाले यसको आयु सयौं बर्षसम्म हुन्छ । विशेषज्ञहरु युरेनियम पत्ता लगाउन
जीएम काउन्टर, सिन्टिलेसन काउन्टर आदि संयन्त्रको सहायताले विकिरण शक्ति
मापन गर्छन् । यही विकिरणको मापनद्वारा नै युरेनियमको भणडरका बारेमा यकिन
गर्न सकिन्छ । नेपालमा पेग्माटाइट र ग्रेनाइटजन्य छट्टानमा युरेनियम
पाइएको छ । बालुबासँग मिश्रति युरेनियमको मात्रा विश्वमा ५० प्रतिशत बढी
पाइएको एक अध्ययनमा देखिएको आइतबार प्रकाशित नेपाल साप्ताहिकमा खबर छ ।
रहस्यमय तीनभंगाले
खानी विभागको अन्वेषण अनुसार, शिवालिन क्षेत्रमा पर्ने सिन्धुलीको बुका
खोला, मकवानपुरको चिरुवा खोला, चाँदे खोला, तीनभंगाले-कालोपानी खोला,
चितवनको मरदार खोला तथा पाँपा खोला आसपासमा युरेनियमको सम्भावना छ । यी
मध्ये मकवानपुर धियाल गाविस ३ को तीनभंगाले कालोपानी क्षेत्र सबैभन्दा
बढी रेडियोधर्मी विकिरण उत्पन्न भइरहेको क्षेत्र हो । खानी विभागले
'गामा-रे स्पेक्ट्रोस्कोपी मिटर' को सहायताले तीनभंगाले क्षेत्रमा २४
बर्षअघि गरेकेा परीक्षणमा २७ हजार ४ सय ५ कुल विकिरण काउन्ट प्रतिसेकेन्ड
देखिएको थियो । ताकि औसत जमिनमा एक सयदेखि १ सय ५० काउन्ट
प्रतिसेकेन्डमात्र विकिरण प्रभाव देखिन्छ ।
विदेशी कनेक्सन
नेपालमा युरेनियमको खोजी गर्ने प्रारम्भिक आधार एउटै थियो- भारत तथा
पाकिस्तानको शिवालिक क्षेत्रमा युरेनियम उत्खनन भइरहेको छ भने नेपालमा
किन नहुने ? खासमा युरेनियम पाइने चट्टान 'युरेनिफेस रक' को नेपालमा पनि
उपलब्धता नै यसको अध्ययनको प्रमुख कडी थियो । त्यसपछिको अध्ययनका क्रममा
विभिन्न स्थानमा छिटपुट युरेनियम सम्भावना भएको निष्कर्ष निकालियो ।
अमेरिकी आँखा
स्न १९७३ र १९७५ मा नेपालस्थित अमेरिकी दूतावसमा दूई जना नेपालीले
युरेनियम बेच्नका लागि प्रस्ताव गरेको, दूतावासले त्यसको नमुना परीक्षण
गर्न अमेरिका पठाएको र त्यो नमुना नक्कली रहेको तथ्य गेाप्य चिठ्ठीपत्रि
सार्वजनिक गर्दे आएको वेबसाइट विकिलिक्सले गत बर्ष खुलासा गरेको थियो ।
यसबारे अमेरिकी दुतावासले कुनै प्रतिक्रिया दिएन । किनभने यो ४० बर्ष
अघिको कुरा हो । सन् १०७० को दशकमा अमेरिकी दूतावासको नक्कली युरेनियमको
किनबेचको घटना भएकै सेरोफेरोमा नेपालमा युरेनियमसम्बन्धी अन्वेषणका
कामहरु सुरु भए । अमेरिकाले नेपालमा प्रत्यक्ष देखिने गरी युरेनियमको
खोजीमा सरकारसँग मिलेर कुनै काम गरेको छैन् ।

No comments:

Post a Comment