Monday, July 16, 2012

सुकुम्बासीलाई नसार्न प्रधानमन्त्रीलाई पम्फा र रघुजीको अल्टिमेटम

१ साउन, काठमाडौं । विपक्षी दलका नेताहरुले थापाथलीस्थित बाग्मती नदी किनारबाट विस्थापित सुकुम्वासीहरुलाई ललितपुरको सुन्दरीघाटमा सार्ने निर्णय फिर्ता लिन सरकारलाई दबाव दिएका छन् ।
एमाले नेता रघुजी पन्त र नेकपा-माओवादीकी नेतृ पम्फा भुसालसहितका टोलीले सोमबार प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भेटी सुकुम्बासी सार्ने निर्णय फिर्ता लिन सरकारलाई २४ घण्टे अल्टिमेटम दिएका छन् । ‘काठमाडौंका सुकुम्बासीलाई ललितपुरमा सार्न पाइँदैन’ नेतृ भुसालले अनलाइनखबरसँग भन्नुभयो-’२४ घण्टाभित्र सुकुम्बासी सार्ने निर्णय फिर्ता नगेर आइतबारदेखि मंगलबारसम्म ललितपुर बन्द गर्ने भनेका छौं ।’
मल पोखरी निर्माणका लागि भन्दै जग्गा अधिग्रहण गर्दा सयौं परिवार सुकुम्बासी भएको भन्दै उनीहरुले मलपोखरी निर्माण नगर्ने हो भने अधिग्रहण गरिएको उनीहरुलाई नै फिर्ता गर्न समेत माग गरेका छन् ।
भेटमा प्रधानमन्त्री भट्टराईले भने छ महिनाका लागि मात्र सुकुम्बासी राख्न लागेको भन्दै विरोध नगर्न आग्रह गर्नु भएको थियो । तर, विपक्षी नेताहरुले भने सुुमुक्बासीहरुलाई तत्काल कोठाभाडा दिएर अन्यत्रै व्यवस्थापन गर्न सुझाएका छन् । ‘प्रधानमन्त्रीले छ महिनाका लागि मात्र हो भन्नु भएको थियो’ भुसालले भन्नुभयो-’हामीले त्यो हो भने मासिक ५ हजार भाडा दिएर राख्नुस्, अन्यत्रै व्यवस्थापन गर्नुस भनेका छौं ।’
सरकारले बाग्मती किनारमा रहेको सुकुम्बासी बस्तीमा डोजर चलाएपछि विस्थापित भएकाहरुलाई ललितपुरको सुन्दरीघाटमा सार्न टहराहरु बनाएको छ। तर, स्थानीय र राजनीतिक दलको चर्को विरोधपछि सरकारले सुकुम्बासी सार्न सकेको छैन ।

No comments:

Post a Comment