Monday, June 4, 2012

प्रधानमन्त्री भट्टराईले राजीनामा दिने संकेत

किशोर नेपाल, काठमाडौं, जेठ २२- संविधानसभा अवसानको १५ मिनेटअघि अर्को चुनाव घोषणा गरेर विपक्षी दलहरूको आलोचना र सार्वजनिक विवादको घेरामा परेका प्रधानमन्त्री बाबुराम भट्टराईले समयमै चुनाव सम्पन्न हुने दाबी गरेका छन्। 'चुनाव मंसिर ७ को सट्टा ६ वा ८ गते हुन सक्छ। तर, चुनाव हुन्छ,'
आइतबार बिहान नागरिकसँग विशेष वार्तामा प्रधानमन्त्री भट्टराईले भने, 'संविधान निर्माण नगरी संविधानसभा अवसान हुने भएपछि चुनावको घोषणा गर्ने वैधानिक काम सरकारको हो। यो संसारमै प्रचलित लोकतान्त्रिक मान्यता हो।'
'मैले चुनावको घोषणा नगरेको भए ममाथि झन ठूला आरोपलाग्न सक्थे। संविधानसभा पनि छैन र चुनावको घोषणा भएको पनि छैन। देशमा महाशून्यको अवस्था आउँथ्यो। बाबुरामले कुर्सीमा टाँसिएर सत्ता कब्जा गर्न खोज्यो भन्थे। मैले त चुनाव घोषणा गरेको जस पो पाउनु पर्थ्यो,' प्रधानमन्त्रीले थपे।
मंसिरमा चुनाव हुन नसक्ने मानसिकता बन्दै गएको सन्दर्भमा प्रधानमन्त्री भट्टराईको भनाइ छ, 'एकचोटी घोडाबाट लडियो भन्दैमा फेरि घोडा चढ्दै नचढ्ने कुरा त आउँदैन।'
चुनाव घोषणा गर्दा तपाईंको बोलीमा निकै दृढता थियो। एक साता नबित्दै त्यो मत्थर भएको छ। यसबीचका घटनाक्रम, खास गरेर राष्ट्रपतिबाट तपाईंको सरकारको कामचलाउ हैसियतमात्रै रहेको वक्तव्य आएपछि यस्तो भएको हो?
'मेरो बोली मत्थर भएको छैन। चुनावको घोषणा गर्दा पनि सबैलाई साथ लिएर लोकतन्त्रका उपलब्धिहरूको रक्षा गर्छु भन्ने मेरो ध्येय थियो। म एक्लैले बादशाह बन्छु भन्ने सोच राखेर चुनावको घोषणा गरेको थिइनँ। मैले आफ्नो संवैधानिक जिम्मेवारी मात्र पूरा गरेको थिएँ। जहाँसम्म राष्ट्रपतिको वक्तव्यको प्रश्न छ, त्यो संवैधानिक प्रावधान स्मरण गराउनका लागि मात्रै आएको हो। राष्ट्रपतिको आफ्नै संवैधानिक हैसियत छ। यतिबेला राष्ट्रपतिले संविधानविपरीत गएर कार्यकारी अधिकार खोज्नु होला जस्तो मलाई लाग्दैन।
चुनावका लागि सहमतिको कुरा गर्दा सबै विपक्षीले तपाईंले राजीनामा दिएपछि मात्रै सहमति हुन्छ भनेका छन्। के तपाईं राजनीतिक सहमतिका लागि राजीनामा दिनुहुन्छ त?
सहमतिका लागि जुनसुकै हिसाबको योगदान दिन पनि म तयार छु। यो कुरा मैले पहिलेपनि भनेको छु र अहिले पनि भन्दैछु। यतिखेर संवैधानिक हैसियत भएको सरकार यही नै हो। यसैले राष्ट्रिय सहमति गरेर चुनाव प्रक्रियालाई अघि बढाउनुपर्छ भन्ने मेरो मान्यता पनि छ। त्यसका लागि म प्रयत्नरत छु। तापनि, अन्तरिम कालको व्यवस्थालाई निकास दिन कहिलेकाहीँ आफूलाई चित्त नबुझ्ने केही निर्णय र सम्झौता पनि गर्नुपर्छ। यसलाई अन्यथा लिनु हुँदैन।
देशका सबै पार्टीहरू आफैं अन्तरविग्रह र विरोधको स्थितिमा रहेका बेला सर्वदलीय राष्ट्रिय सहमति खोज्नु हास्यास्पद होइन र?
यसलाई ध्यानमा राखेर नै हामीले सहमति खोज्ने हो। त्यसो गरिएन भने देश भयानक राजनीतिक ध्रुवीकरणतर्फ जाने निश्चित छ। त्यस अवस्थामा नया" शक्ति केन्द्रको उदयलाई कसैले रोक्न सक्दैन।

पाईं आफैं पनि जंगबहादुर बन्न सक्नुहुन्छ?
मैले कहिल्यै पनि नयाँ जंगबहादुर बन्ने सपना देखेको छैन। मेरो स्वभावले पनि मलाई जंगबहादुर बन्न दिँंदैन। जंगबहादुर बनेर देशलाई विकासको शिखरमा पुर्‍याउन पनि सकिँदैन।
संविधानसभाको अवसानअघिका घटनाक्रमहरूलाई सन्दर्भमा राखेर भन्नुभएको हो?
हामी नेताहरू संविधानसभामा असफल भएकै हौं। यो आत्मालोचना नगरी हामी अघि बढ्न सक्दैनौं। हामीले जिम्मेवार भएर नसोच्ने हो भने जनताले हाम्रो विकल्प खोज्नेछन्।

No comments:

Post a Comment