Monday, October 8, 2012

खाडीमा ८२ नेपाली महिलाले आत्महत्या गरे, २५ गर्भवती

२२ असोज, काठमाण्डौ । नेपाली महिला कामदारका लागि खाडी क्षेत्र
मृत्युभूमिमा परिणत हुन थालेको छ । घरेलु महिला कामदारका रुपमा खाडीमा
काम गर्न गएका धेरैजसो नेपाली महिलाहरुले चरम यातना सहनुपरेको छ भने गएको
डेढ बर्षमा मात्र ८२ जना नेपाली चेलीले आत्महत्या गरेका छन् ।
महिलासम्बन्धी काम गर्ने राष्ट्रसंघीय निकाय युएन वीमनका अनुसार सन् २०११
जनवरी यता खाडी क्षेत्रमा कार्यरत ८२ जना नेपाली महिलाले आत्महत्या गरेका
छन् । कतार, साउदी अरेबिया, युएई र कुवेतमा गरेको अध्ययनबाट आत्महत्याको
दरबारे जानकारी आएको युएन वीमनकी दक्षिण एसिया संयोजक सरु जोशीले
बताउनुभयो । युएन वीमनका अनुसार १८ महिनाको अबधिमा २ हजार ८ सय २२ नेपाली
महिला कामदारलाई दयनीय अबस्थामा उद्दार गरिएको छ । खासगरि अबिबाहित
नेपाली चेलीहरुमाथि रोजगारदाताबाट यौन शोषण हुने दर निकै उच्च रहेको
अध्ययनमा देखिएको छ । यो अबधिमा २५ जना नेपाली चेलीहरु रोजगारदाताको
यौनशोषणपछि गर्भ बोकेर घर फर्किएका छन् । खाडी क्षेत्रमा करिव साढे दुई
लाख नेपाली महिला घरेलु कामदारका रुपमा कार्यरत रहेको अनुमान गरिएको छ ।
बैदेशिक रोजगार बिभागले भने खाडी क्षेत्रमा ५७ हजार नेपाली महिला कामदार
रहेको बताएको छ । सन् २००७ यतामात्र बिभागले महिला कामदारको तथ्याङ्क
राख्न थालेको हो । खाडी क्षेत्रमा पुग्ने अबिबाहित र कलिलो उमेरका नेपाली
महिला बढि मात्रामा यौन शोषणमा पर्न थालेपछि सरकारले ३० बर्ष उमेर
पुगेपछिमात्र खाडी मुलुकका घरेलु कामदारका लागि जान पाइने नियम लगाएको छ
। कम उमेरका महिला शोषणमा नपरुन भन्ने उदेश्य भएपनि पछिल्लो दिनमा भारतीय
भूमी हुँदै दलालहरुले महिला कामदार खाडी पठाइरहेका छन् । यसले गैरकानुनी
बाटोलाई झन प्रोत्साहन दिइरहेको छ ।

No comments:

Post a Comment