Wednesday, April 24, 2013

पूर्वराजाका मान्छे सुटुक्क चीनमा, भारतसँग वार्ताको जिम्मा

११ बैशाख, काठमाण्डौ । चीनमा नयाँ नेतृत्व चयन भएपछि प्रचण्ड नेपालबाट
चीन भ्रमण गर्ने पहिलो उच्च तहको नेता भनिए पनि पूर्व राजाका एक
बिश्वासपात्रले त्यसअघि नै सुटुक्क चीन भ्रमण गरेर आएको खुलेको छ ।
पूर्वराजाको सम्पत्ति ब्यबस्थापन र बैदेशिक सम्बन्ध हेर्दै आएका
ज्ञानेन्द्रका सहपाठी एवं सोल्टी होटल, सिप्रदी ट्रेडिङ र भोटेकोसी
जलबिद्युत आयोजनाका साहुजी प्रभाकर समशेर राणालाई प्रचण्डभन्दा पहिले नै
बेइजिङले खातिरदारी गरेर भारतसँग कुरा मिलाउने जिम्मासमेत दिएर पठाएको
बुधबार प्रकाशित जनआस्था साप्ताहिकले जनाएको छ ।
प्रचण्डको टोलीले बेइजिङ बस्दा पाएको जानकारीअनुसार, नेपालको जलस्रोतमा
त्रिदेशीय लगानीका निम्ति समन्वय गर्ने जिम्मा पाएका दंग परी फर्किएका
प्रभाकरले अर्को महिना सोही प्रयोजनका लागि नेपालमा एउटा कार्यक्रमसमेत
आयोजना गर्दैछन ।
चीनबाट नेपाल हुँदै बग्ने नदीनालालाई सदुपयोग गर्न उत्तरले पैसा लगानी
गर्ने र दक्षिणले उत्पादित बिजुली किन्ने योजनाअन्र्तगत यसअघि चिनियाँ
कम्युनिष्ट पार्टीको अन्तराष्ट्रिय बिभागका उपमन्त्री आईपिङ बिहार पुगेर
त्यहाँका मुख्यमन्त्री नितिशकुमारसँग समेत परामर्श गरिसकेका छन । यी तिनै
ब्यक्ति हुन जसले प्रचण्डको पहिलो चीन भ्रमणको चाँजोपाँजो मिलाएका थिए ।
चीनले प्रभाकरलाई नेपालको बिकाशमा दुई छिमेकीकोभूमिकासम्बन्धी केही
कार्यभार सुम्पिएर पठाएको सूचना प्रचण्डले टोलीले पाएको छ । स्रोतका
अनुसार प्रभाकरलाई भनिएको रहेछ- भारतलाई सन् १९६० हामीले लडाईंमा परास्त
गर्‍यौं र त्यसयता हाम्रो सम्बन्ध तिक्ततापूर्ण रहँदै आयो । अहिले दिल्ली
र बेइजिङ दुवैतिर हार जीतको मानसिकता रहेको पुस्ता बाँकी नै छ । अब
भारतलाई हामी पुरानोआँखाले हैन, साझेदारको रुपमा हेर्न चाहान्छौं, हाम्रो
यो सन्देश आफ्ना अमेरिकी र भारतीय मित्रहरुलाई समेत पुर्‍याइदिनुहोला ।'
प्रचण्डले महिनौं कुराएछन चिनियाँलाई
अमेरिकी र चिनियाँ राष्ट्रपतिको एक झल्को दर्शन पाउनका लागि बिश्वका मै
हुँ भन्ने एकसे एक मानिसहरु मरिहत्ते गर्छन । दुई मिनेट भेटनका लागि जति
महिना कुर्न परेपनि अप्ठेरो मान्दैनन् । तर, चिनियाँ राष्ट्रपतिलाई
एमाओवादी अध्यक्ष प्रचण्डले झण्डै एक महिनासम्म तड्पाएको उदेकलाग्दो खवर
प्राप्त भएको छ ।
जनआस्था साप्ताहिकका अनुसार सि जीनफिङ चिनियाँ राष्ट्रपति चुनिनुअघि नै
प्रचण्डलाई उनीसँग भेटाउन लाने तयारी भएको थियो । तर चीनले जतिसुकै
ताकेता लगाएपनि प्रचण्डले समय दिएनन र झण्डैझण्डै एक महिना कुराए ।
भ्रमणका लागि चिनियाँ राजदूतले नारायणकाजी श्रेष्ठ लगायत थुप्रै नेतासँग
हारगुहार गरेपनि प्रचण्ड चलमलाएनन् ।
त्यसको भित्री कारणचाहिं चीन जानुअघि भारत जाने उनको धोको रहेछ ।
त्यहीअनुसार भ्रमण मिलाउन अनेक प्रयत्न गरियो । तर दक्षिणले कुनै सिग्नल
दिएन । चीन जानुअघि गाडी फेरेर प्रचण्ड तीनचोटी भारतीय दूतावास छिरेको
चर्चा चल्यो । उड्ने दिन पनि लाजिम्पाटस्थित निवासमा भारतीय राजदूतसँग
बिदाई भेट गरे ।
यी घटनाबाट अहिले कतै दुई ठूला छिमेकीवीच मध्यस्तकर्ताको रुपमा
प्रचण्डलाई त उभ्याइदै छैन ? कतै यो संक्रमणकाल लम्बाएर चुनाव गराउन
सक्ने निर्विकल्प पात्रका रुपमा प्रचण्डको भूमिकालाई बलशाली बनाइदै छैन
?जानकारहरुले यस्तो जिज्ञासा राख्न थालेको समाचारमा उल्लेख छ ।

No comments:

Post a Comment