Thursday, June 7, 2012

संविधान नबन्नुको जिम्मेवारी प्रधान मन्त्री हैन, सभामुखले लिनुपर्छ : कङ्ग्रेसनेता बाँस्तोला

संविधान सभाको मोडलै गलत भएको आरोप-
काठमाडौँ, जेठ २५ (नागरिक)- नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य चक्र बाँस्तोलाले संविधान नबन्नुको मुख्य जिम्मेवारी प्रधान मन्त्रीले नभई संविधान सभा अध्यक्षले लिनुपर्ने धारणा राखेका छन्। संविधान बनाउनका लागि प्रयोग गरिएको मोडलै गलत भएको आरोप उनको छ।
'नागरिक' दैनिकसँग कुरा गर्दै बाँस्तोलाले भनेका छन्- 'जुन मोडलमा हामी संविधान बनाउन जाँदैथियौं, त्यो गलत थियो। संविधान बन्नु नबन्नुको मुख्य जिम्मेवार को हो भन्ने प्रश्नबारे चाहिँ मलाई अचम्म लाग्छ। प्रधानमन्त्रीलाई दोस्छन् कोही। संविधानसभाका अध्यक्षको कुनै भूमिकै देखिँदैन। संविधानसभा आउँदा पनि देखिँदैन, जाँदा पनि देखिँदैन। त्यसैले म त्यो मोडल नै गलत थियो भन्दैछु। प्रधानमन्त्रीले त सरकार चलाउने हो, संविधान बनाउने होइन।'
संविधानसभाका अध्यक्षले दलहरूबीच सहमति नभई आफ्नो मात्रै प्रयत्नले संविधान बन्न नसक्ने भनी बताइरहनुभएको सम्बन्धमा प्रश्न सोध्दा बाँस्तोलाले भने, 'प्रयत्नको कुरो होइन यो। हाउस नै नचलाएपछि केको प्रयत्न? घरघरै संविधान बनाएर तहिँड्दैन नि मान्छेले। हाउस चलाउनुपर्‍यो, आएर बस, कुरा छिचोल भन्नुपर्‍यो, परेन?
उनले संविधान दिन सम्भव भए पनि नदिएकोमा आलोचना गरे। हाम्रोजस्तो एकदमै तरल समाजमा निरन्तर परिवर्तन भइरहन्छ, त्यसैले एकैपल्टमा पूर्ण संविधान आउन गाह्रो भएकोले 'वर्केबल' संविधान बनाउन आफूले सुझाव दिएको उनले सम्झिए।
बाँस्तोलासँगको अन्तर्वार्ताको पूर्ण अंश भोलिको नागरिक दैनिकमा प्रकाशित हुनेछ

No comments:

Post a Comment