रोशन शिल्पकार, भक्तपुर, जेठ २४ (नागरिक)- एकीकृत माओवादीका सचिव सीपी गजुरेलले बाबुराम भट्टराई डरलाग्दो हिसावले अघि बढिरहेकाले एक मिनेट पनि त्यो पदमा राख्न नहुने बताउँदै भनेका छन्- उनी कार्यकारी हैनन्, त्यसैले तत्काल हटाउनुपर्छ, नत्र के के गर्छ गर्छ।
अहिले ठूलो षडयन्त्र र ग्रयाण्ड डिजाइनअन्तर्गतचुनाव घोषणा गरिएको बताउँदै उनले थपे- बाबुरामले यो गरेकै हैन, ऊसँग यस्तो ह्याउ नै छैन, त्यसैले उसको पछाडि ठूलो विदेशी शक्ति रहेकाले मात्र यस्तो आँट गरेको हो।
पहिले पहिले विदेशीले नेपालको प्रधान मन्त्रीमात्र तोक्ने गरेकामा बाबुरामको पालादेखि मन्त्रीसमेत कसलाई राख्ने भनेर तोक्नथालेको पनि उनले बताए। अनि उनले थपे- मङ्सिर ७ मा चुनाव हुनै सक्दैन। बाबुरामको नेतृत्वमा चुनाव असम्भव पनि छ। यदि विदेशीको बुइ चढेर चुनाव गराइहाले पनि त्यो पूर्व राजा ज्ञानेन्द्रले गराएको चुनावभन्दा फरक हुँदैन।
माओवादी अध्यक्षले संविधान सभा पुनर्स्थापना पनि हुन सक्छ भनिरहेको सन्दर्भमा गजुरेलको भनाई थियो- भएको घर डढाएर खरानी बनाइसकेपछि त्यही खरानीबाट अर्को घर निर्माण असम्भव छ। सबै पक्षलाई सहभागी गराएर गोलमेच सम्मेलन गराउने र त्यहीँबाट खाका बनाउने अनि त्यसलाई आमनिर्वाचनबाट पारित गराउने विकल्प उत्तम हुने भनाई पनि उनको थियो।
रफत क्लबद्वारा आयोजित कार्यक्रममा गजुरेलले भने- तत्काल राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ। संविधान सभा चुनाव कामै छैन। माओवादी पार्टी फुट्ने वा नफुट्ने भन्नेबारे असार १ गते थाहा हुन्छ। तर नयाँ पार्टी भने बनाउनैपर्छ।
No comments:
Post a Comment