Wednesday, June 6, 2012

प्रेमीको आवरणमा लागूऔषध कारोबारी

- अपराधी प्रहरीभन्दा सधैं एक कदम अगाडि हुन्छन्। त्यही देखाएको छ, लागूऔषधको प्रयोगकर्ताविरुद्धको प्रहरीको पछिल्लो अप्रेशनले। दुर्ब्यसनीसम्म लागूऔषध पुग्नबाट रोक्न प्रहरी खुद्रा व्यापारीविरुद्धको अप्रेशनमा केन्द्रीत हुँदा उनीहरुले नयाँ जुक्ति निकालेर युवतीको उपयोग बढाएका छन्।
लागूऔषध नियन्त्रण तथा कानुन कार्यान्वयनका प्रहरी अधिकारीका अनुसार लागूऔषधका कारोबारीले नयाँ युवापुस्तालाई दुर्ब्यसनको लतमा फसाउन कलेजकै युवतीलाई उपयोग गर्दै आएका छन्। यस्तो काममा रात्रिकालीन व्यवसायमा संलग्न युवतीको संख्यासमेत उल्लेख्य रहेको प्रहरीको निष्कर्ष छ।
इकाईका एसएसपी नवराज सिलवालका अनुसार इकाईमा आएका पछिल्ला केसहरुको अनुसन्धानकाक्रममा कारोवारीले युवतीलाई कलेज तथा युवाहरु भेलाहुनेस्थानमा पठाएर सम्बन्ध बढाउन लगाइएर युवालाई दुर्ब्यसनको लतमा फसाउने गरेको देखिएको छ।
डेढ महिनाको बीचमा यस्ता ६० वटा केश फेला पारीसकेको र गिरोहमा सक्रिय चार युवतीको पहिचान समेत भइसकेको उनको दावी छ। प्रहरीका अनुसार कारोवारीले आर्कशक रकम दिएर एजेन्टका रुपमा यस्ता युवतीलाई उपयोग गर्ने गरेका छन्।
यस्ता युवतीहरुले प्राय नयाँ युवालाई लागुऔषधकोलत लगाउँछन्। पुरानाग्राहकलाई लागूऔषध सप्लाइ गर्न समेत उनीहरु सक्रिय रहेको प्रहरीको निष्कर्ष छ। एसएसपी सिलवालका अनुसार लागुऔषध खुद्रा कारोबारमा संलग्न युवतीहरु विद्यार्थीको भेषमा कलेजभित्रै पुगेर युवाहरुसँग सम्बन्ध विस्तार गर्दै आएका छन्।
प्रारम्भमा फोन नम्बर साटासाट गरी, सम्बन्ध बढाउँदै लगेर अन्तमा उनीहरुले त्यस्ता युवालाई दुर्ब्यसनमा फसाउने गरेका छन्। उनीहरुले युवालाई सजिलै निकट सम्बन्ध बनाउन प्रेमको नाटकसम्म गर्ने गरेको एसएसपी सिलवालले बताए। युवाको ध्यान आफुतिर खिच्न उनीहरुले आर्कशक आफुभाउ देखाउने गरेको प्रहरी अधिकारी बताउँछन्।
'साह्रै राम्री थिई, उसैले एप्रोच गरेपछी साथी बने'एक दुर्ब्यसनीको भनाई उदृत गर्दै सिलवालले भने 'तर,उ त ड्रगिष्ट रहिछ, मलाई पनि बानी लाग्यो।
प्रहरीका अनुसार उनीहरु प्रारम्भमा सित्तैमा लागुऔषध खुवाउँछन्। विस्तारै बानी पारेर पछि नियमित ग्राहक बनाउँछन्। लागुऔषधका कारोवारी विरुद्धको प्रहरी अप्रेशन प्रभावकारी बन्दा समेत कारोवारमा सिथिलता नआएको इकाई प्रमुख यादव अधिकारीले बताए। जति पक्राउ गर्यो उति बढ्दै गएको अनुभव सुनाए उनले।
अर्थशास्त्रको नियम अनुसार जति माग बढ्दै जान्छ कारोवारी जोखिम मोलेर भएपनी आपुर्ती बढाइरहन्छन्। अहिले बढेको लागुऔषधको कारोवारलाई उनी यही बजारको अर्थशास्त्रसँग दाँज्छन्। 'जति समात्यो त्यत्ति कारोवारी बढेका छन्' उनले भने' सेवनकर्ता हामीले सोचेभन्दा बढी बढिरहेका छन्।'
खैरो हेरोइनको बढ्दो बजार
इकाईले जेठ १९ देखी २१ गतेसम्म चलाएको खैरो हेरोइन कारोवारी विरुद्धको प्रहरी अप्रेशनवाट एक किलो बढी खैरो हेरोइन र पाँच जना कारोबारी पक्राउ गरेको थियो। इकाईले मँगलवार दिएको जानकारी अनुसार पर्साका १७ वर्षीय अनवर अन्सारी, २५ बर्षीय अनिल श्रेष्ठ र वीरगंजका २५ वर्षीय मतलुब अन्सारीलाई पक्राउ गर्‍यो। प्रहरीले उनीहरुको साथवाट २ सय २० ग्राम खैरो हेरोइन फेला पारेको थियो। प्रहरीका अनुसार मतलुब भारतको रक्सौलवाट हेरोइन नेपाल भित्र्याएर काठमाडौं, हेटौडा, चितवन र पोखरासम्म पुर्‍याउन सक्रिय थिए।
त्यसको दोस्रो दिननै इकाईले भारतको पूर्वी चम्पारण मोतिहारीकी ३० बर्षीया गिता देवी पटेललाई ६ सय १४ ग्राम खैरो हेरोइन सहित पक्राउ गर्‍यो। पाँच वर्षिय छोरीलाई हर्लिक्स बोकाएर कलंकी आइपुगेकी उनलाई प्रहरीले पक्राउ गरी हर्लिक्सको बोतलभित्र हेर्दा हेरोइन निस्किएको थियो।
जेठ २१ भारत मोतिहारीका १८ वर्षीय कृष्ण साह तुरहा ३ सय ग्राम हेरोइनसहित कलंकीमा पक्राउ परे। उनीहरुवाट बरामद भएको खैरो हेरोइनको लागुऔषध बजार मुल्य ५० लाख माथि छ।
इकाई एसएसपी सिलवालका अनुसार कारोबारीले एक ग्राम हेरोइनलाई १० डोज बनाउँछन्। एक सय ग्राम हेरोइन एक हजार जनाले सेवन गर्न सक्छन्। तीन दिनको अप्रेशनमा बरामद गरेको हेरोइन लागुऔषधको बजारमा पुगेको भए २२ हजार २० जनासम्म पुग्नसक्थ्यो।
प्रहरीले सन् २०११ मा ११ किलो हेरोइन बरामद गरेको थियो। सन् २०१२ को मध्यसम्ममा पाँच किलो हेरोइन फेला परिसकेको छ। लागूऔषध कारोवार र प्रयोगकर्ता नियन्त्रणमा सक्रिय अनुभवी प्रहरी अधिकारी युवाले प्रारम्भमा मेडिकल ड्रग्सवाट दुर्ब्यसन सुरु गर्छन। विस्तारै उनीहरु खैरो हेरोइनहुँदै सेतो हेरोइनसम्म पुग्ने गरेका छन्।
'अहिले दुर्ब्यसनीहरुको आर्थिकस्रोत बढेको देखियो।' एसएसपी सिलवालले भने'अहिले मेडिकल ड्रग्सभन्दापनि खैरो हेरोइनका प्रयोगकर्ता बढेका देखिए।' भारतमा उत्पादित खैरो हेरोइन सहजै नेपालमा भित्रिने गरेका छन्। सोबारे जानकार इकाईले मुख्य र खुद्रा दुबै प्रकृतीका कारोवारी केन्द्रीत अप्रेशन चलाएर खैरो हेरोइनको नियन्त्रणको प्रयास गरिरहेको छ। 'तर,जति पक्राउ गरेपनी खैरो हेरोइन आउन छाडेका छैनन्' तीन दिन सञ्चालित अप्रेशनमा बरामद भएको एक किलो खैरो हेरोइन र पाँच जना कारोवारी देखाउँदै सिलवालले भने' एक हप्ता अगाडिमात्रै भारतबाट नेपालमा हेरोइन ल्याउन सक्रिय एक कारोवारी पक्राउ गरेका थियौं, अहिले नयाँ आइसकेछन्।

No comments:

Post a Comment