बाँके, जेष्ठ २४ - राँझास्थित आदर्श उच्चमाविमा १८ लाख रूपैयाँ अनियमित तरिकाले खर्च भएको पाइएको छ । अख्तियारको अनुसन्धानबाट अनियमितता खुलेको हो ।
९ लाख रूपैयाँ बराबरका भौतिक निर्माण र शैक्षिक सामग्री खरिद गर्दा बिल भरपाई नराखिएको भेटिएको छ । विद्यार्थीलाई दिइने छात्रवृत्ति र मुक्त कम्लरीका लागि प्राप्त १ लाख ८९ हजार रकम पनि हिनामिना भएको अनुसन्धानले देखाएको छ ।
जिल्ला अख्तियारका सुब्बा केशव पौडेलले सामान खरिद गर्दा भ्याटलाई तिर्नुपर्ने १ लाख ३५ हजार कर नतिरेको अुनसन्धानबाट देखिएको बताए । उनले १८ लाख रूपैयाँ स्रोत नै नखुलाई खर्च भएको जनाए । अख्तियारले तीन महिना लगाएर अनुसन्धान गरेको हो । अख्तियार मुद्दा चलाउने अन्तिम तयारीमा जुटेको छ ।
जिल्ला शिक्षा कार्यालय, जिल्ला विकास समिति तथा अन्य सहयोगी संस्थाले विद्यालयको विकासका लागि सहयोग गरेको रकममा अनियमितता भएको भन्दै स्थानीय बासिन्दाले उजुरी दिएका थिए । लगत्तै अख्तियारले विद्यालयमा छापा मारी कागजात नियन्त्रणमा लिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कौशलकुमार धोवी र प्रधानाध्यापकसँग पनि त्यसबारे सोधपुछ गरेको छ । शिक्षा कार्यालय र जिल्ला विकास समितिलाई अख्तियारले पत्राचार गरी उक्त विद्यालयलाई ०६७ देखि यता उपलब्ध गराएको सहयोग रकमको विवरण मागेको छ ।
शिक्षा कार्यालयका विद्यालय निरीक्षक उद्धव श्रेष्ठले अख्तियारले मागेको विवरण रकम पठाइसकेको जनाए । 'मुक्त कम्लरी र छात्रावृत्ति दिनका लागि सहयोग गरिएको रकमको विवरण अख्तियारलाई पठाइसकेका छौं,' उनले भने ।
जिल्ला विकास समितिका सूचना अधिकृत शरदकुमार पौडेलले अख्तियारको पत्र आएलगत्तै त्यहाँबाट विद्यालयलाई दिइएको आर्थिक रकमको विवरण पठाउने जनाए । जिल्ला अख्तियारका प्रमुख देवराज भारतीले मगाइएको कागज आउनसाथ विद्यालय सञ्चालक समितिका अध्यक्ष र प्रधानाध्यापकसँग थप बयान लिने बताए ।
तर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धोवीलेराजनीतिक प्रतिशोध साध्न आफूहरूमाथि अख्तियारमा मुद्दा दर्ता गरिएको दाबी गर्दै आएका छन् । उनले विद्यालयको प्रगति देख्न नचाहनेहरूले आफूहरूलाई बदनाम गराउन खोजेको आरोपलगाए ।
प्रकाशित मिति: २०६९ जेष्ठ २४ १२:१५
No comments:
Post a Comment