Tuesday, June 5, 2012

पढ्दापढ्दै घाइते बन्छन् विद्यार्थी र शिक्षक

ठानामौला (पर्वत), जेष्ठ २३ - विद्यालयमा अधिकांश विद्यार्थी पढ्न जान्छन् । अभिभावक पनि घरमा छोराछोरीलाई राख्दा चकचक गर्ने र नपढ्ने हुँदा विद्यालय पठाउँदा सुरक्षित बन्ने भएकाले पठाउनेगर्छन् तर यहाँको एक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरू भने पढ्न जाँदा दैनिक जसो लडेर घाइते भई चोटपटक लिएर घर र्फकने गर्छन् ।
लिमीठाना तीनधारे प्राथमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी पढ्दापढ्दै बसेको ठाउँबाट लडेर घाइते हुन्छन् । विद्यार्थी मात्र नभएर शिक्षकसमेत पढाउँदा पढाउँदै लडेर चोटपकटको सामना गर्न बाध्य छन् । विद्यालय भवन निर्माण गरिए पनि कक्षा कोठामा पिच गर्न भन्दै राखिएका बढेमानका ढुंगामाथि राखिएका बेन्च लड्दा दैनिक विद्यार्थी घाइते बन्ने गरेका हुन् ।
कक्षा ४ र ५ मा पिच गर्न भन्दै असोजबाट ढुंगा थुपारिएको छ । 'अहिलेसम्म २० पटकभन्दा धेरैपटक लडेर घाइते बनिसके,' कक्षा ५ मा अध्ययनरत प्रवीण नेपालीले भने, 'कहिलेकाहीं त रगताम्मे नै भइन्छ ।' उनले ढुंगामाथि बेन्च राख्दा नअडिने भएकाले बेन्च समातेर पढ्ने गरेको बताए । दैनिकजसो लड्ने र चोट लाग्ने भएकाले विद्यार्थी लडिने हो कि भनेरडर मान्दै पढ्ने गरेका छन् । पिच गर्न भनी राखिएका ढुंगा अहिलेसम्म तरह लगाउन नसक्दा विद्यार्थीले जोखिम मोलेर पढ्ने गरेका हुन् ।
लडेर खुट्टा, टाउको र शरीरका विभिन्न अंगमा चोट लाग्ने गरेको छ । 'चोटपटक लाग्नबाट हामी पनि चोखा छैनौं, 'शिक्षक अमृतप्रसाद रेग्मीले भने, 'पढाउँदा पढाउँदै खुट्टा मर्किएर घाइते बन्ने गरेका छौं ।' उनले कोठाभित्र ढुंगैढुगा भएकाले पढाउनसमेत समस्या भएको बताए । 'पढ्न भनेर विद्यालय आयो, पढ्ने भन्दा पनि कतिखेर लडेर घाइतेबनिने हो भन्ने पीरले सताउने गर्छ,' कक्षा ५ की छात्रा निर्मला कुँवरले भनिन्, 'सरहरूलाई भन्दा ढुंगालाई तह लगाउने पैसा छैन मात्र भन्नुहुन्छ । यस्तै पीडा सहेर कहिलेसम्म पढ्नु ?' उनले पढेर नयाँ कुरा सिक्ने भन्दा पनि कतिखेर बेन्च लडेर भुइँमा पछारिने हो भन्दै त्रासमा बस्नुपरेको बताइन् ।
ढुंगा धारिला भएकाले लड्नसाथ चोट लाग्ने गरेको छ । 'बल्ल तल्ल भवन निर्माणको काम सक्यौं,' विद्यालयका प्रधानाध्यापक पञ्चबहादुर क्षेत्रीले भने, 'खर्च अभावले गर्दा कोठाभित्र ढुंगा थुपारिए पनि पिच गर्न सकिएन ।' उनले ढुंगा थुपार्दा सहयोग पाइएला भनेर थुपारिए पनि अहिलेसम्म कतैबाट सहयोग नपाइएको बताए । विद्यार्थी पढ्दापढ्दै लडेर चोट लाग्ने गरेकालेशिक्षकले पढाउनै छाडेर विद्यार्थीको उद्धार गर्ने गरेका छन् ।
भवन निर्माणमा गाविस, जिविस र शिक्षा कार्यालयलेआर्थिक सहयोग गरे पनि पिच गर्न सहयोग नमिलेको हो । 'अहिलेसम्म शिक्षक विद्यार्थी घाइते मात्र भएका छन्,' प्रअ क्षेत्रीले भने, 'यही अवस्था रही रहे ठूलो दुर्घटना नहोला भन्न सकिंदैन ।' विद्यालयमा लड्ने समस्याले गर्दा विद्यार्थी पढ्न आउनसमेत डराउने गर्छन् ।

No comments:

Post a Comment