Thursday, May 17, 2012

फेसबुकमा कोही नेपाल कोही नेपाली

आफ्ना माग राख्न बन्द र हडताल गर्नेको संख्या बढ्दै जाँदा केही इन्टरनेट प्रयोगकर्ताले भने नौलो प्रयोग थालेका छन् । संविधान बनाउने अन्तिम समय नजिकिँदै जाँदा बढेको बन्दबाट आजित भएर आफ्नो पहिचान जातीय रूपमा नभई नेपालीका रूपमा देखाउन सामाजिक सञ्जाल साइट फेसबुकको प्रयोग बढेको हो ।
मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनीलकेशरीशाहले आफ्नो नाम अनीलकेशरी नेपाल राखेर यस्तो अभियान थालेको दाबी गरेका छन् । उनीसँगै बैंक अफ एसियाका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्रीले पनि नेपाल शब्द झुन्ड्याएका छन् । अन्यले पहिलेको थरमै नेपाली थपेका छन्, कतिले थरै हटाएका छन् । विशेषतः युवा उद्यमी र व्यावसायिक व्यक्तिहरू यो अभियानमा जोडिन थालेका छन् ।
'यो मेरो मात्र सोच होइन,' अनीलले भने, 'बन्द मात्रै गरेर अघि बढ्न सकिँदैन भनेर यस्तो अभियान सुरु गरें ।' संघीयताको विरोध गर्न नभई उक्त अभियान नेपाली भएकोमा गर्व गर्न सुरु गरिएको उनले बताए ।
'नेपाली फेसबुक प्रयोगकर्ताको संख्या १४ लाखजति रहेछ,' उनी भन्छन्, 'त्यो समुदायलाई सकारात्मक सन्देश दिन यस्तो गरेको हुँ ।'
यो अभियानमा लागेकालाई फेसबुक प्रयोगकर्ता मात्र नभई चुनावमा मत हाल्ने जनसंख्याका रूपमा पनि हेर्नुपर्ने उनले बताए ।
'संविधान बनिसकेपछि पनि विभिन्न मुद्दा अघि आउलान्,' उनले भने, 'जहिल्यै बन्द गरेर मात्र हुँदैन, सिर्जनशील तरिकाबाट विरोध गर्न सकिन्छ भनेर यसले सन्देश दिएको छ ।'

No comments:

Post a Comment