Friday, May 18, 2012

बन्दकर्ताले ३ सवारी तोडफोड गरे, ५० भन्दा बढी पक्राउ

काठमाडौँ, जेठ ५- संविधान जारी गर्ने समय नजिकिँदै गर्दा दैनिकजसो बन्द र आमहड्तालका कारण सर्वसाधारणले हैरानी खेपिरहनुपरेको छ। बन्दकर्ताहरुले आज पनि बानेश्वरमा दुईवटा ट्याक्सी र सामाखुशीमा एउटा माइक्रोबस तोडफोड गरेको प्रहरी प्रवक्ता धिरजप्रताप शाहले जानकारी दिएका छन्।
राष्ट्रिय अखण्डता र जातीय सद्‍भाव संयुक्त सङ्घर्ष समितिले हिजोदेखि अनिश्चितकालीन आमहडताल सरकार र सङ्घर्ष समितिबीच भएको सहमतिबाट फिर्ता भए पनि आज पुनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले आह्वान गरेको नेपाल बन्दका कारण उपत्यकाको जनजीवन सामान्य प्रभावित बन्न पुगेको छ। अहिले उपत्यकामा निजी, भाडाका गाडीहरु अन्य दिनको तुलनामा केही कम चलेको देखिन्छ।
अखण्ड राष्ट्र र हिन्दु राज्य घोषणा गर्नुपर्ने मागसहित राप्रपा नेपालले आज आह्वान गरेको नेपाल बन्द सफल बनाउन बन्दकर्ताहरु बिहानैदेखि उपत्यकाका विभिन्न स्थानमा नाराजुलुससहित निस्किएका थिए।
बिहान चाबहिल, कोटेश्वर, वानेश्वर, सातदोवाटो, महाराजगञ्ज, गोङ्गवु, कालिमाटी, कलङ्कीलगायतका क्षेत्रमा बन्दकर्ताहरु नाराजुलुससहित सडकमा उत्रिएकाले सो क्षेत्रमा सामान्य झडप भएको थियो।
शाहले तोडफोडमा उत्रिएका ५० जनालाई नियन्त्रणमालिइएको जानकारी दिँदै बन्दका क्रममा कुनै अप्रिय घटना नहोस् भन्नाका लागि ठूलो सङ्ख्यामा उपत्यकाका विभिन्न चोकहरुमा सुरक्षाकर्मी परिचालन गरिएको पनि बताए।
प्रहरीले बन्द गराउँदै हिँड्ने राप्रपा नेपालकासभासद्द्वय चन्द्रबहादुर गुरुङलाई एकान्तकुनाबाट र कुन्ती शाहलाई नयाँबानेश्वरबाट नियन्त्रणमा लिई दुईघण्टापछि रिहा गरेको जनाएको छ।

No comments:

Post a Comment