Monday, June 3, 2013

सिलिन्डर पड्क्यो,चारतले घर पूरै भत्कियो

काठमाडौ, जेष्ठ २० - शनिबार राति तीनवटा ग्यास सिलिन्डर विस्फोट हुँदा
मच्छेगाउँस्थितहरिकृष्ण महर्जनको चारतले घर ध्वस्त भएको छ । भान्साको
चौथो तलामा पहिलो सिलिन्डर विस्फोट हुनासाथ भाग्न भ्याएकाले कसैलाई केही
हुन पाएन ।
विस्फोटबाट एकै घरको पाँच परिवारका २२ सदस्यको बास खोसिएको छ । सबै जना
खाना खाएर सुतिसकेपछि राति करिब साढे १० बजे अकस्मात पहिलो सिलिन्डर
विस्फोट भएको परिवारजनले बताए । त्यसपछि भएको आगलागीले दोस्रो र तेस्रो
सिलिन्डरसमेत विस्फोट भएको थियो । विस्फोटले घर पूरै क्षतिग्रस्त भएको छ

जस्ताको छानो उडेको छ भने दोस्रो र तेस्रो तला बाँकी छैन ।परिवारका
सदस्यले पहिलो सिलिन्डर विस्फोट हुनासाथ ज्यान जोगाउन भाग्दा फेर्ने
कपडासमेत निकाल्न नपाएको बताए । 'सबैभन्दा माथिल्लो तलामा सबै पाँच
परिवारको अलग-अलग भान्सा थियो । पहिलो सिलिन्डर पड्कनासाथ निस्केर
भाग्यौं,' महर्जनका कान्छा छोरा सन्दीपले भने, 'त्यसैले कसैलाई केही भएन
।' सिलिन्डरले सबैको बास उडाइदिएपछि उनीहरूबीच रुवाबासी छ ।
२०१८ सालमा बनेको उक्त घरमा महर्जनसहित उनका पाँच भाइ छोरा/बुहारीको
परिवार बस्दै आएका थिए । सबै परिवारमा गरी २२ जना बस्ने गरेका थिए ।
पीडित परिवारले क्षतिपूर्तिको माग राख्दै मच्छेगाउँ प्रहरी प्रभागमा
उजुरी दिएका छन् । पाँचै परिवारले अलग-अलग रूपमा टिपाएको विवरणअनुसार
घरबाहेक नगद र जिन्सी गरी कम्तीमा २२ लाख८९ हजार रुपैयाँ बराबरको क्षति
भएको छ ।
तीन वर्षयता देशभर ग्यास सिलिन्डर विस्फोटका साढे चार दर्जनभन्दा बढी
घटना सार्वजनिक भएका छन् । त्यसमा एक सभासदसहित ६ ज्यान गएको छ । एक
दर्जनभन्दा बढी घाइते भएका छन् ।
पटक-पटक पडकएर धनजनको क्षति हुँदा पनि सरकारले सिलिन्डरको सुरक्षामा चासो
दिएको छैन । फुटरिङ र नेकरिङका दोषीलाई उद्योग मन्त्रालयले नै निहित
स्वार्थमा उन्मुक्ति दिँदै आएको छ । यसअघि १५ हजारभन्दा बढीसिलिन्डर
फुटरिङ गर्ने (पिँध फेर्ने) क्रममा फेला पारे पनि तत्कालीन उद्योगमन्त्री
अनिल झाले नेपाल पेट्रोलियमलाई उन्मुक्ति दिएका थिए ।
विस्फोट भएका तीनमध्ये २ सिलिन्डर साई बाबा ग्यासको हो । अर्को सिलिन्डर
भने हिमाल ग्यासको हो । 'त्यसपछि हिमाल ग्यास र अर्को साई बाबा ग्यासको
सिलिन्डर पनि विस्फोट भयो,' स्थानीय बिक्रेता श्रीकृष्ण श्रेष्ठले भने ।
ग्यास बिक्रेता महासंघका कोषाध्यक्ष अनन्त भण्डारीका अनुसार सिलिन्डर
जोखिमयुक्त बन्नुमा उद्योगीकै लापरबाही मुख्य कारण छ । सिलिन्डरको
हाइड्रोस्टेटिक परीक्षण, डिप टेस्ट आदि नगरी पठाउँदा बजारमा लिकेज
सिलिन्डर पाइने गरेका र कतिपय कम्पनीले पुराना र मिति गुजि्रएका सिलिन्डर
नष्ट नगरी बजार पठाउने गरेको उनले बताए । यद्यपि विस्फोटका कतिपय घटना
उपभोक्ताको लापरबाहीले पनि हुने गरेको उनको भनाइ छ ।
साई बाबा ग्यासका सञ्चालक राजेन्द्र डल्लाकोटी एलपी ग्यास उद्योग संघका
उपाध्यक्ष पनि हुन् । उनले घटना सुनेर दुःखलागेको उल्लेख गर्दै 'स्थानीय
बिक्रेतलाई सत्यतथ्य पत्ता लगाउन भनेको' बताए । 'म आफैं भोलि घटनास्थल
पुग्छु र कम्पनीको तर्फबाट कमजोरी भएको छ भने त्यसअनुसार के गर्नुपर्छ
गर्छु,' सोमबार उनले भने । नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक
सुरेशकुमार अग्रवालले भने, 'सुरक्षासँग जोडिएका यस्ता मुद्दा जिल्ला
प्रशासनको क्षेत्राधिकारभित्र पर्ने' बताए ।
ग्यासको चापले सिलिन्डर आफैं विस्फोट भएको हो या अन्य कारणले भन्ने खुल्न
सकेको छैन । घटनास्थलमा उपलब्ध विस्फोट भएका र नभएका कुनै पनि सिलिन्डरमा
उत्पादन मिति छैन । पडकएका दुईवटामध्ये एउटा सिलिन्डरको नेकरिङपट्टकिो
टुक्रा भेटिएको छैन । अर्कोको नेकरिङको टुक्राले धुरी छेडेर ५ सय
मिटरभन्दा पर सडकमा पुगेको थियो । तेस्रो सिलिन्डरको माथिल्लो भागमा
प्वाल पर्नुका साथै भल्भ निस्किएको थियो ।
कसरी बच्ने ?
ग्यास प्रयोगपछि बन्द गरौं । दुई वर्षमा रेगुलेटर र पाइप फेरौं ।
आईएसओ र एनएस गुणस्तर चिह्न भएका रेगुलेटर र पाइप प्रयोग गरौं ।
ग्यास केटाकेटीको पहुँचभन्दा टाढा राखौं । सिलिन्डर किचन वा घर बाहिर राखौं ।
किचनमै ग्यास सिलिन्डर राख्नुपरे भेन्टिलेसन तल राखौं । ग्यास
हावाभन्दा गह्रौं हुने भएकाले माथिको भेन्टिलेसनबाट बाहिर जाँदैन ।
सेफ्टी क्याप भएका सिलिन्डर मात्र किनौं । प्रयोग गर्नुअघि भल्भ वा
अन्य स्थानबाट लिकेज भए/नभएको हेरौं ।source ekantipur.com

No comments:

Post a Comment