Monday, June 17, 2013

दार्चुला सदरमुकाम बग्न थाल्यो, भारतद्वारा बाँध खोल्ने घोषणा

महाकालीको बाढीले ५ सरकारी कार्यालयसहित ३ दर्जन घर बगायो
भूपि धामी
३ असार, दार्चुला । अविरल वर्षासँगै महाकाली नदीमा आएको बाढीले सोमवार
मध्यान्हसम्म पाँच वटा कार्यालयसहित तीन दर्जन घर बगाएको छ । बाढीले
बाङाबगडमा रहेका चार र गल्फैमा रहेका दुई घर गरी छ घर बगाएको छ भने
अपिनाम्पा संरक्षण कार्यालय, जिल्ला वन कार्यालय, भू-संरक्षण कार्यालय र
जिल्ला अस्पताल भवन बगाएको छ । योसँगै बाढीले अहिलेसम्म घर तथा कार्यालय
गरी तीन दर्जन भन्दा बढी बगाएको छ भने दर्जनौ घर तथा कार्यालय जोखिममा
रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय र नेपाल दूर सञ्चार प्राधिकरणको कार्यालय बाढीको
उच्च जोखिममा रहेको प्रहरीनायव उपरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो ।
प्रहरी कार्यालय र प्राधिकरणको भवन रहेकोआधा भाग बाढीले बगाइसकेको छ भने
जिल्लामा रहेको खुलामञ्च पनि आधा बगाएको छ ।जिल्ला अस्पतालको शव गृह र
औषधी वितरण कक्ष बाढीले बगाइसकेको छ भने बाँकी क्षेत्र पनि उच्च जोखिममा
छ । अहिले नेपाली सेना, प्रहरी तथा रेडक्रसले जिल्ला अस्पतालमा रहेका
उपकरण तथाऔषधी सुरक्षित स्थानतर्फ सार्ने कार्म गरिरहेका छन् ।
त्यसैगरी बाढीले गल्फैदेखि नमस्कारसम्मको भू-भागमा तिब्र कटान गरिरहेको छ
। बाढीले जिल्लाका धाप, दत्तु, उकु र लाली गाविसमा पनि कटान गरिरहेको
प्रहरीले जनाएको छ । पानी पर्न नरोकिए पनि भारतीय सिमानाको छिरकिल्लामा
रहेको धौलीगंगा जलविद्युतको बाधँस्थलमा पानी भरिएकाले बाँध फुट्ने खतरा
बढेकाले बाँध खोल्ने भारतीय पक्षले जानकारी दिएको जिल्ला प्रशासन
कार्यालयले जनाएको छ । अपरान्ह ४ बजे तिर बाँध खोलिने हुँदा सदरमुकाम
खलंगाको अधिकांश क्षेत्र प्रभावित हुने भएकाले कोठा सार्न तथा सुरक्षित
स्थानतर्फ जान सदरमुकामबासीलाई सूचना गरिएको प्रमुख जिल्ला अधिकारी
चिरञ्जीवी अधिकारीले बताउनुभयो ।
बाढीले भारततर्फ भने त्यति ठूलो क्षति गरेको छैन । भारतले तटबन्ध निर्माण
गरेकाले र नेपालतर्फको भाग कमजोर भएकाले नदीको बहाव दार्चुला
सदरमुकामतर्फ ठोकिएको हो । जिल्ला प्रशासन कार्यालयले सुरक्षित स्थानतर्फ
जान आग्रह गरेपछि अहिले सर्वसाधारणहरु घमाधम सुरक्षित स्थानतर्फ सरिरहेका
छन् ।प्रभावित क्षेत्रमा सेना, प्रहरी तथा रेडक्रस स्वयम् सेवकहरुले
उद्दार कार्य जारी राखेका छन् । प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख
लगायत सुरक्षा अधिकारीहरुले बाढीबाट प्रभावित क्षेत्रको निरीक्षण
गरिरहनुभएको छ ।
यसैबीचनेकपा एमालेले दार्चुला सदरमुकाम खलङ्गामा तत्काल उद्धार थाल्न माग
गरेको छ । एमाले सचिव विष्णु पौडेलले विज्ञप्ति जारी गरी तत्काल उद्धार
कार्य गर्न र उचित क्षतिपूर्तिको व्यवस्थापन गर्न सरकारसँग माग माग गनसए
भएको छ ।
नदी बीचमा थुनिएका २३ मजदुरको सकुशल उद्धार
कञ्चनपुरको भीमदत्त नगरपालिका पिपरैया नजिक महाकाली नदीको बीच भागमा
थुनिएका २३ जना मजदुरको सकुशल उद्धार गरिएको छ । जिल्ला सदरमुकाम
महेन्द्रनगरबाट ट्रक र टि्रपरसहित आइतबार राति ८ बजे बालुवा र ढुङ्गा
ल्याउन गएका मजदुरहरू नदीमा आएको बाढीका कारण पिपरैया नजिकैको महाकाली
नदीको बीच भङ्गालोमा थुनिएका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली
सेना र स्थानीय बासिन्दालेरातभर उद्धारको प्रयास थाले पनि नदीमा पानीको
बहाव उच्च भएकाले उद्धार गर्न सकेका थिएनन् ।
खराब मौसमका कारण हेलिकोप्टर आउन नसकेपछि स्थानीय बासिन्दा,
प्रहरीसशस्त्र प्रहरी र नेपाली सेनाका जवानहरूले टयुबको मद्दतले २३ जना
मजदुरको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव
उपरीक्षक बिर्खबहादुर रावलले बताउनुभयो । नदीको बीच भागमा रातभर झरिमा
भिजेका मजदुरहरूको १६ घन्टापछि उद्धार गरिएको हो । ढुङ्गा र बालुवा
ढुवानीका लागि लगिएका तीनवटा टि्रपर, दुई ट्रक र एक जेसिभी भने नदीको बीच
भागमै अलपत्र अवस्थामा रहेका छन् ।
तस्वीर : भरत खत्री/दार्चुला

No comments:

Post a Comment