सरकारी र निजी गरी ७८ घरमा क्षति, पीडितहरु भोकै
भूपि धामी
४ असार, दार्चुला । जिल्ला प्रशासनले राहत उपलब्ध गराउन पहल नगरेको भन्दै
दार्चुलाका बाढीपिडीतले आपत्ती जनाएका छन् । महाकालीमा आएको बाढीले घर
गुमाएका खलंगाबासीले प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी अधिकारीसँग आफूहरु
भोकै परेको गुनासो गरेका छन् । महाकालीको पुलसमेत बाढीको चपेटामा परेपछि
खलंगाबासीले खानेकुरा किनेर खानसमेत नपाउने अवस्था आएको छ ।
बाढीका कारण विस्थापित परिवारले सोमबारदेखि भोकै बस्नु परेको गुनासो
गर्दै घर गुमाएका रिङनतालका मनवीर दमाईले भन्नुभयो-'सरकारले न त भारतलाई
बाँध नखोल्न दबाब दिन सक्यो, न हामीलाई अहिलेसम्म राहत नै । सोमबारदेखि
हामी भोकै बस्नुपरिरहेको छ ।' बाढीका कारण करिब ५ सय परिवार विस्थापित
भएका छन् । विस्थापित परिवारलाई खान र बस्न समस्या भएको छ । रिङनतालमाबाट
विस्थापित हुन पुगेका दर्जनौं दलित परिवार सबै भन्दा बढी मारमा परेका छन्
।
आइतबार रातिदेखि महाकाली नदीमा पानीको बहाव बढेपछि उनीहरुलाई नेपाली सेना
र प्रहरीले उद्दार गरी खलंगाकै एक विद्यालयमा पुर्नस्थापना गरेर राखेको छ
।नेपाल भारत जोड्ने पुलमा समेत बाढीले क्षति पुर्याएकाले दैनिक उपभोग्य
वस्तु किन्न नपाएर भोकै बस्नु परेको पीडितहरुलेबताएका छन् । खलंगाका
स्थानीयहरु दैनिक उपभोग्य वस्तु किन्न भारतीय बजार धारचुला जाने गर्छन्
।सोमबार राति बाढी बढ्न सक्ने भन्दै स्थानीय प्रशासनले सुरक्षित
स्थानतर्फ पुर्नस्थापना गरिएका खलंगा-४ का दर्जनौं परिवार नदीमा पानीको
सतह घट्दै गएपछि सुरक्षित ठाउँमा सरेका छन् ।
सरकारी र निजी गरी ७८ घरमा क्षति
आइतबारदेखि आएको महाकालीको बाढीले अहिलेसम्म जिल्ला सदरमुकाम खलंगामा ११
वटा सरकारी र ६७ वटा व्यक्तिगत घर गरी ७८ वटा घर बाढीले बगाएको स्थानीय
प्रशासनले जानकारी दिएको छ । जसमध्ये १७ वटा रिङनतालमा रहेका सुकम्बासीका
घर टहरा बाढीले बगाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बाढीले
बाङाबगड क्षेत्रमा रहेका र गल्फै क्षेत्रमा रहेका घरहरुमा बढी क्षति
पुर्याएको छ ।
मंगलबार नदीमा पानीको बहाव घटे पनि जमिन भासिने क्रम जारी रहँदा जिल्ला
प्रहरी कार्यालय, जिल्ला कृषि विकास कार्यालय, जिल्ला शिक्षा कार्यालय र
दूर सञ्चार प्राधिकरणको कार्यालय अझै उच्चजोखिममै रहेको छ । ती
कार्यालयका सामान अन्यत्रै सारिसकेको अवस्था छ भने यतिबेला गल्फै
क्षेत्रका पिडीतहरुको उद्दार कार्यमा सेना र प्रहरी सक्रिय बनेको छ
।सोमबार राति भारतीय पक्षले बाँध पूरै खोल्दा राति गल्फै क्षेत्रका
दर्जनौं घरहरु बगाएको स्थानीयको अनुमान छ ।
जिल्ला दैवी प्रकोपको बैठक
मंगलबार जिल्ला दैवी प्रकोप समितिको बैठकबाट बाहिर निस्कनासाथ पिडीतहरुले
राहतका लागि तत्काल पहल गर्न प्रजिअसँग जोडदार माग गरेका छन् । प्रजिअ
अधिकारीले राहतका लागि सरकारसंग पहल गरिसकेको जानकारी दिँदै मौसममा सुधार
भए मंगलबार नै राहत सामग्री लिएर सेनाको हेलिकप्टर काठमाण्डौबाट आउने
जानकारी दिनुभएको छ ।दैवी प्रकोप समितिको बैठकले पिडीतहरुको उद्दारका
लागि तीनवटा टोली बनाएर बाढी प्रभावित क्षेत्रतर्फ परिचालन गर्ने निर्णय
गरेको छ । बाढीबाट बढी प्रभावित भएको क्षेत्र बाङाबगड, गल्फै र नमस्कारमा
टोली परिचालन गर्न लागिएको हो ।
महाकालीमा कसरी आयो बाढी ?
शनिबार बिहान आकाशमा हल्का बादल देखिएको भए पनि दिउँसोदेखि मुसलधारे पानी
पर्न थालेको थियो । यो क्रम आइतबार बिहानसम्म जारी रहँदा जनजीवन कष्टकर
बन्दै गएको हो । आइतबार साझँतिर महाकाली नदीमा बाढीको सतहमा कुनै
परिवर्तन देखिएको थिएन । तर, राति ३ बजेतिर एक्कासी बाढी आएको थाहा
पाएपछि स्थानीय प्रशासनले बाङाबगडको रिङनतालमा रहेका सुकम्बासी बस्ती
सार्न सेना परिचालन गरेको थियो । नदीमा पानीको सतह बढ्दै जाँदा सेनाले
पनि सोवस्तीका सरसामानहरु जोगाउन सकेन, जसकारण सुकुम्बासी टोलसबै
महाकालीको बाढीमा मिसियो ।
हिमपहिरोका कारण बाढी आएको भारतीयको भनाइ
भारतीय सुरक्षा अधिकारीले जानकारी दिएअनुसार भारतको उत्तरपट्टकिो
हिमश्रृङलामा भारी हिमपात हुँदा हिम पहिरो गएर महाकालीमा बाढी आएको हो ।
सुरक्षा अधिकारीका अनुसार विगत एक सातादेखि भारतको उत्तराखण्ड क्षेत्रमा
भारी वर्षा तथा हिमपात भएका कारण धौलीगंगा जलविद्युतको बाँधमा पानी भरिन
गई फुट्ने डरले बाँध खोलिदिँदा नदीमा पानीको बहाव बढेको हो । भारतीय
अधिकारीहरुले जनाएअनुसारभारत सरकारले उत्तराखण्डलाई हाई अलर्टमा राखेको छ
।
राजमार्ग भत्किँदा आवत-जावतमा थप समस्या
महाकाली नदीमा आएको भिषण बाढीका कारण जिल्ला सदरमुकाम जोड्ने महाकाली
राजमार्गको विभिन्न खण्डमा सडक भत्किएपछि आवत-जावतमा समेत समस्या उत्पन्न
भएको छ । बाढीले खलंगा गाविसको नमस्कार भन्ने ठाउँमा १० मिटर जति सडक
भत्काएको छ भने धाप गाविस र दत्तु गाविसको सिमानामा पर्ने साकार भन्ने
ठाउँमा पनि बाढीले सडकमा क्षति पुर्याएको छ । सडक अवरुद्द हुँदा खलंगाबाट
जिल्लाको लेकम क्षेत्रमा आवत-जावत गर्न समस्या भएको छ । बाढीले जिल्ला
सदरमुकाम खलंगा बगाउन थालेपछि लेकम क्षेत्रबाट यहाँ आई बसोबास गर्दै आएका
सर्वसाधारण खलंगाबाट अति विकटमा पर्ने धौलीगाड डाँडाको बाटो हुँदै
गन्तब्यतिर गइरहेका छन् ।
सेनाले हेलीकोप्टर र प्लेनमा राहत ओसार्ने
यसैवीच दार्चुला लगायत पश्चिम नेपालमा बाढी र पहिरोमा परी पीडित बनेका
परिवारका लागि राहत उपलब्ध गराउन नेपाली सेनाले सक्रियता देखाएको छ ।
राहत सामाग्री ओसार्नका लागि सेनाको हेलीकोप्टर प्रयोग गरिएको नेपाली
सेनाले जनाएको छ । साथै थप राहत सामाग्री विमानमा दिपायलसम्म लगिने र
त्यहाँबाट हेलिकोप्टरले ओसार्ने योजना रहेको नेपाली सेनाले जनाएको छ ।
पीडितलाई राहत दिन काँग्रेसको माग
नेपाली काँग्रेसले महाकाली नदीमा आएको बाढीका कारण दार्चुलामा विस्थापित
भएकाहरुलाई राहत वितरण गर्न सरकारसंग माग गरेको छ । साथै उसले बाढीले
पुर्याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । काँग्रेसका मुख्य
सचिव चिनकाजी श्रेष्ठले मंगलवार एक विज्ञप्ति जारी गरी सुदुरपश्चिमका
अन्य जिल्लाहरु कञ्चनपुर, डडेल्धुरा र बैतडी पनि महाकालीको बाढीबाट
प्रभावित भएकोभन्दै पीडितहरुलाई ततकाल राहत वितरण गर्न तथा
विचल्लिमापरेकाहरुलाई उचित बसोबासको व्यवस्था गरिदिन सरकारसंग माग गरेको
हो । यस्तै काँग््रेसले बाढीमा परि हराइरहेकाहरुको तदारुकताका साथ खोजी
गर्न र अविलम्व उद्धार कार्य शुरु गर्न, विस्थापित हुन पुगेका पीडित
परिवारहरुको खाने र बस्ने प्रबन्ध गर्न, घाइतेहरुको उपचारको प्रबन्ध
गर्न, मृतक परिवारलाई उचित राहत दिन सरकारसँग माग समेत गरेको छ ।
No comments:
Post a Comment