Wednesday, May 22, 2013

बीच सडकमा भेटेको बच्चा देउता जस्तो : ट्रकचालक

बाबुसँग बोल्ने शब्द नै छैन
८ जेठ, काठमाडौं । गुडिरहेको बसबाट सडकमा खसेका बच्चालाई उद्दार गर्ने
ट्रक चालक धादिङ मलेखुका रविन सिलवाल दंग हुनुहुन्छ । बच्चाको उद्दार
गरेकाले उहाँलाई धन्यवाद दिनेहरु त धेरै छन् नै । बच्चाले बाबुआमा
भेटेकोमा रविन पनि खुशी हुनुहुन्छ । अनलाइनखबरसितको कुराकानीमा रबिनले
घटना यसरी सम्झनुभयो ः
म भैरहवाबाट काठमाडौंतिर आउँदै थिएँ । फिस्लिङ नजिकै आइपुग्दा बीच सडकमा
बच्चा रोइरहेको देखें । उसले गञ्जी र कट्टु मात्र लगाएको थियो । बीच
सडकमा बच्चा रोइरहेको देखेर म आत्तिएँ । मैले अलि वरै ट्रक रोकें । अरु
गाडी पनि रोकिए ।
मध्यरातमा बीच सडकमा बच्चा रोइरहेको देखेर सबै छक्क परे । सबै नजिक गएर
हेरे । तर बच्चालाई उठाउने हिम्मत कसैले गरेनन् । सबैजना डराए । त्यो
बच्चा देखेर मलाई मेरो छोरोको सम्झना आयो । मेरो छोरो पनि १८ महिनाको
मात्रै छ ।
कसैले उसलाई वास्ता नगरेपछि मैले सडकमा रोइरहेको बच्चालाई उचालें र काखमा
राखें । यसलाई म लैजान्छु, प्रहरीलाई जानकारी दिन्छु भन्दै ट्रकमा राखें
। एकछिन काखमा राखेपछि बच्चा निदायो ।
त्यहाँबाट भण्डै २५ किलोमिटर अगाडिको जोगिमारा चौकी पुगेर गाडी रोकें ।
बच्चाको बारेमा जानकारी दिएँ । यसलाई आफैं पाल्छु, मेरो छोरोजस्तै हो
भनेर प्रहरीलाई अनुरोध गरें । प्रहरीले आज एकदिन हेरौं, उसका कोही आफन्त
भेटिएन भने विचार गरौंला भने । मैले आफ्नो नाम, नम्बर र बिलबुक छोडेर
हिँडें ।
बिहान थाहा पाएँ, उसका बाबुआमा फेला परेछन् । बच्चाकोभिनाजु पर्नेलाई त
मैले पनि भेटें । मलाई भेटेर उहाँ खुशी हुनुभयो । मलाई धन्यवाद दिनुभयो ।
काठमाडौं आउँदा भेट्नुपर्छ भन्नुभएको छ ।
बाबुआमा नभेटेको भए म त्यो बच्चालाई पाल्थें । तर बाबुआमा नै भेटिएपछि
झन् बढी खुशी लागेको छ । गुडिरहेको बसबाट खस्दा समेत बच्चालाई केही भएन ।
बच्चा त देउता हो नि । देउता जस्तो भएकाले उसलाई केही भएन ।
बोल्ने शब्द नै छैन
सँगै सिटमा रहेको छोरो बसबाट खसेको कुरा ६ घण्टापछि मात्र पत्तो पाएका
विकास मित्तलका दम्पत्ती अहिले रुञ्चेहाँसोमा छन् । ७ महिने छोरो हराएको
क्षण सम्झँदा पीडाले खप्न हुन्न । छोरो सकुशल भेटिएकोमा खुशीले आकाश छोउँ
कि जस्तो भैरहेको छ । 'छोरोलाई सकुशल भेट्टयाएको क्षणलाई म वर्णन नै गर्न
सक्दिन' बुटवलस्थित घर पुगेका विकासले बुधबार दिउँसो अनलाइनखबरसित
भन्नुभयो-'सडकमा बेवारिसे अवस्थामा भेटिएको छोरोलाई उद्दार गर्ने ट्रक
चालक र प्रहरी धन्यवादका पात्र हुन् ।'
अहिले छोरो घरमै सकुशल रहेको र आफन्त तथा परिवारजनले बधाई र शुभकामना
दिइरहेको उहाँले जानकारी दिनुभयो । गुडिरहेको बसबाट सडकमा खस्दा समेत
बच्चालाई केही नभएको सुन्दा सबै अचम्ममा परेका छन् । 'यो सबै भगवानको
कृपा हो' विकासले भन्नुभयो ।source onlinekhabar.com

No comments:

Post a Comment