Friday, March 29, 2013

बुहारी हत्याको घटना उल्टाउन प्रहरीलाई ५० लाखको अफर !

मिथिलेश यादव, लहान, चैत १६ - लहान -५मा गत बुधबार भएको हत्याको घटना
उल्टाउन हत्या आरोपी पक्षले रकमको चलखेल सुरु गरेको छ ।२५ वर्षीया रञ्जु
नायकलाई श्रीमान्, सासु र नन्द मिलेर मारेको उक्त घटनालाई उल्टाउन
ससुरापक्षले प्रहरीमा चलखेल बढाएका हुन् ।
स्थानीय नेताहरुमार्फत लहान प्रहरीलाई आर्थिक प्रलोभनमा पारेर केस
उल्टाउन ५० लाखको अफर प्रहरीलाई दिएको खुलेको छ।
लहान प्रहरीले हत्यामा संलग्न रञ्जुकी श्रीमान् रमेश नायक, सासु गंगा र
नन्द गौरीलाई हिरासतमा राखेकोछ। रमेशका बुबा रामनारायण नायकले भने यहाँका
केही राजनीतिकर्मी र व्यपारीमार्फत प्रहरीलाई हत्याको केस उल्टाएर
आत्महत्या बनाउन ५० लाखको अफर दिएको सुत्रले बताएको छ । 'बिहीबार
रातिदेखि नै केस उल्टाउने कसरत तीव्र पारिएको छ,' लहान ५ का एक व्यपारीले
भने,' प्रहरी आर्थिक प्रभावमा आइसकेको छ।
हिजो दिउसो मृतकका पिता राजकुमार पूर्वेले वडा प्रहरी कार्यालय लहानमा
दिएको किटानी जाहेरी अहिलेसम्म दर्ता भएको छैन्।प्रहरीले किटानी
जाहेरीलाई पीडक परिवारसँग बार्गेनिङ् गर्ने हतियारबनाएको पीडित परिवारको
गुनासो छ। वडा प्रहरी कार्यालयका एक प्रहरीले भने, 'यस्ता कैयौं घटना छन्
जुन हत्या थियो । तर, लेनदेन गरेर प्रहरीले आत्महत्याभनेर कागज
मिलाइदिएको छ।'
आत्महत्या भनिदिए मुद्धाको फाइल बन्द हुने र प्रहरीलाई पनि लफडा नहुने
भएपछि प्रहरीले हत्यालाई आत्महत्या भनेर भन्ने गरेको ती प्रहरीले बताए ।
होलीको दिन घरभित्र रंग खेलेको निहुँमा ३५ वर्षीय रमेशले श्रीमती
रञ्जुलाई प्लाइउडको चिरपटले हानेर बेहोस बनाएका थिए । बेहोस भएपछि घर
नजिकैको पसलबाट मोर्टिन नामक लामखुटे धपाउने लिक्विड खुवाएर हत्या गरेको
माइती पक्षको आरोप छ । मोर्टिन लिक्विड खुवाएपछि लहान अस्पतालमा उपचार
गर्न लगेको ४ घण्टापछि मात्रै आफूलाई खबर गरेको मृतकका पिता पूर्वेले
बताए। पहिलादेखि नै रमेशले छोरीलाई कुटपिट र यातना दिँदै आएको बताउँदै
पूर्वेले भने, 'घरको कुरा भनेर दुवै परिवार बसेर सल्टाउँदै आएका थियौं,
के थाहा यस्तो हुन्छ भन्ने।'
लहान अस्पतालका इमरजेन्सी इन्चार्ज रामसेवक सतराकाअनुसार, २:३० मा
रञ्जुलाई लिएर आएका उनका श्रीमान् र सासुले विष खाइछे भनेपछि हामीले
त्यही अनुसारको उपचार गर्यौ। सिनियर अहेव दीपेन्द्र सिंहका अनुसार यहाँ
भन्दा सुविधा सम्पन्न अस्पतालमा लैजान पटक-पटक आग्रह गर्दा पनि उनीहरुले
वास्ता नगरेपछि उपचारकै क्रममा रञ्जुको मृत्यु भएको थियो ।
लहान प्रहरी इन्सपेक्टर ढकेन्द्र खतिवडाले भने,'पीडित माइतीपक्षले दिएको
किटानी जाहेरी हामीसँग सुरक्षित छ, दर्ता भएको छैन्।'
खतिवडाले भने प्रहरीलाई ५० लाखको अफर आएको बारे केही जानकारी नभएको बताए ।

No comments:

Post a Comment