Thursday, May 23, 2013

संविधानसभा अगाडि गाई बहुलायो

९ जेठ, काठमाडौं । नयाँ बानेश्वरस्थित संविधानसभा भवनको ३ नम्बर गेट
अगाडि एउटा कालो गाई बहुलाएर उपद्रो मच्चाइरहेको अवस्थामा फेला परेको छ ।
बहुलाएको गाईले मानिसहरुलाई जथाभावी आक्रमण गर्न थालेपछि विहीबार बिहानै
प्रहरीहरुले मुस्किलले गाईलाई बिजुलीको पोलमा बाँध्न सफल भएका छन् । तर,
बिहान १० बजेसम्म गाईलाई के गर्ने भन्नेमा प्रहरी र पशु कार्यालयका
कर्मचारीहरु अलमलमा परेका छन् ।
बिजुलीको ठूलो खम्बामा अगाडिको एउटा खुट्टो र घाँटीमा समेत बाँधिएको सो
गाई छेऊमा मानिस देख्नासाथ झम्टिने र मुखबाट फिँज निकालेर ड्वाँ ड्वाँ
कराउने गरिरहेको छ ।
गाईलाई नियन्त्रणमा लिइएपछि चिडियाँखानाका सरकारी अधिकारी र जिल्ला
पशुसेवा कार्यालयका कर्मचारी एवं पशु डाक्टरलाई पनि घटनास्थलमा झिकाइएको
छ । गाईलाई रेबिज लागेको उपचार हुन नसक्ने डाक्टरहरुले बताएको घटनास्थलमा
रहेको प्रहरीले बताए ।
बिहीबार बिहान १० बजे बहुलाएको गाई हेर्न मानिसहरु वरिपरि झम्मिएका छन् ।
घरमा पालेको गाई उम्किएर सडकमा आएको र यसरी उपद्रो मच्चाएको गाईका धनीले
बताए।

No comments:

Post a Comment