Monday, October 8, 2012

मुद्रा तस्करी प्रहरीकै सहयोगमा

काठमाडौ, आश्विन २२ - फ्लाई दुबई एयरका यात्रु भारतीय नागरिक विनोदकुमार
सोनीबाट बरामद भएका विभिन्न मुलुकका एक करोडभन्दा बढी रकम प्रहरीले नै
सुरक्षा जाँच पार गराएको खुलेको छ ।
विमानस्थलमा कार्यरत एसएसपी रविराज श्रेष्ठका चालक शोभित कार्कीले
शुक्रबार साँझ चुस्ता (प्रहरी पोसाक) भित्र लुकाएर विमान चढ्ने बेलामा
सोनीलाई उक्त रकम दिएको पुष्टि भएको हो । सोनीबाट शुक्रबार १ करोड २३ लाख
४० हजार ३ सय ८९ नेपाली रुपैयाँबराबर विभिन्न ९ देशका विदेशी मुद्रा
बरामद भएको थियो ।
विमानस्थलको सीसीटीभी क्यामेरामा कैद भएअनुसार कार्कीले स्टेराइल हल (सबै
सुरक्षा जाँच पास भएर विमानमा जानुअघिको प्रतीक्षालय) को शौचालयमा
सोनीलाई सो रकम दिएको प्रहरीले जनाएको छ । 'स्टेराइल हलसम्म आउँदा
सोनीसँग झोला देखिँदैन,' विमानस्थल सुरक्षा प्रमुख डीआईजी नारायण
बस्ताकोटीले भने, 'शौचालयबाट निस्कँदा कालो रङको झोला भेटिएको देखिएको छ
।'
बस्ताकोटीले आइतबार पत्रकार सम्मेलन गर्दै श्रेष्ठका चालक कार्की फरार
भएको समेत बताएका छन् । विमानस्थल प्रहरी स्रोतले भने ओखलढुंगा घर भएका
कार्की भागेको नभई भगाइएको बताउँछ । हवल्दारको एकल प्रयासले पटक-पटक अवैध
मुद्रा लैजान सम्भव नहुने बताउँदै यसमा उच्चस्तरका प्रहरी अधिकृतको
संरक्षण भएको र अप्रत्यासित रूपमा विदेशी मुद्रा फेला परेपछि कार्कीलाई
भगाइएको स्रोतको दाबी छ ।
आयुक्तको कार्यालयबाट विमानस्थलमा सरुवा भएपछि श्रेष्ठले आफ्ना विश्वास
पात्र कार्कीलाई तीन महिनाअघि सँगै लिएर गएका थिए । एसएसपी श्रेष्ठ
विमानस्थलमा खटिएको यो चौथो पटक हो । सामान्यतया एउटा कार्यालयमा एक वा
दुई पटकभन्दा बढी कसैको पदस्थापन हुँदैन । यसअघि प्रहरी निरीक्षक हुँदा
दुई पटक र डीएसपी हुँदा एक पटक श्रेष्ठ विमानस्थलमा खटिएका थिए ।
त्यसबेला तत्कालीन गृहमन्त्रीहरू वामदेव गौतम र खुमबहादुर खड्काको
सिफारिसमा श्रेष्ठ विमानस्थलमा खटिएको प्रहरी स्रोतको भनाइ छ । ती दुई
गृहमन्त्रीको कार्यकालमा विमानस्थलबाट ठूलो परिमाणमा सुन तस्करी भएको
थियो । अहिले पनि सुन र डलर तस्करीकै लागि उनलाई विमानस्थलमा लगिएको
प्रहरी स्रोत बताउँछ । 'उनी -श्रेष्ठ) विमानस्थलमा बस्दाका पुराना
रेकर्डले नै उनको चरित्र छर्लंग हुन्छ,' नेपाल प्रहरीका एक पूर्वएआईजीले
भने, 'श्रेष्ठको पछाडि तस्करी गर्ने ठूलो समूह छ, त्यो गिरोहले नै उनलाई
त्यहाँ पुर्‍याएको हुन सक्छ ।' पटक-पटक फोन र एसएमएस गर्दा पनि एसएसपी
श्रेष्ठ भने सम्पर्कमा आउन चाहेनन् ।
पक्राउ परेका सोनीले ११ दिनअघि पनि यसरी नै विदेशी मुद्रा विदेश
पुर्‍याएको बताएपछि प्रहरीले त्यस दिनको सीसीटीभी फुटेज हेरेको थियो ।
त्यसमा पनि शौचालयमै गएर रकम लेनदेन भएको देखिएको छ । डीआईजी बस्ताकोटीका
अुनसार कार्की उक्त मुद्रा बोकेर विमानको फोहोर हटाउने र खाना ल्याउने
ढोकाबाट भित्र पसी अन्तर्राष्ट्रिय उडानको अन्तिम ढोकामा पुगेका थिए । जे
६६७९६२६ नम्बरको भारतीय राहदानी वाहक सोनीले १३ वर्षदेखि नेपाल बस्दै र
महाबौद्धमा विद्युतीय उपकरणसम्बन्धी काम गर्दै आएको बताएका छन् । प्रहरी
वा विमानस्थलका कर्मचारीलाई पनि ल्यान्ड साइटबाट एयर साइटमा जाँदा
विमानस्थलको आन्तरिक पास चाहिन्छ । त्यो पास लगाएपछि सुरक्षा जाँचमा
बस्नुपर्ने भएकाले कार्की आन्तरिक उडानको ढोकाबाट भित्र पसेको डीआईजी
बस्ताकोटीले बताए । 'कार्की विमानमा खाना र फोहोर ल्याउने बाटोबाट भित्र
पसेको ड्युटीमा रहेका प्रहरीले सनाखत गरिदिएका छन्,' उनले भने 'चुस्ता
लगाएर ड्युटी गर्न हिँडेको प्रहरीको सधैं सुरक्षा जाँच गरिँदैन ।' प्रहरी
स्रोतका अनुसार अवैध मुद्रा सुन तस्करीका लागि लगिएको हो । स्रोतका
अनुसार बरामद विदेशी मुद्रा सुन व्यवसायी मुरारी जमालियाको हो । जमालिया
दरबारमार्गमा रहेको इबिसु ज्वेलरीका सञ्चालक हुन् । जमालियाको दुबईमा पनि
कम्पनी छ । उनले नेपाली बजारबाट विदेशी मुद्रा संकलन गरेर दुबई पठाउने
गरेको र त्यहाँबाट सुन तस्करी गरेर नेपाल भित्र्याउने र प्रहरीले नै
विमानबाट सुन खल्तीमा राखेर गोल्डेनगेटसम्मल्याई तस्करको जिम्मा लगाउने
गरेको पाइएको छ । विमानस्थलबाट पछिल्लो समय डलर र सुन तस्करी बढेको चर्चा
यो बरामदीबाट पुष्टि भएको छ । केन्द्रीय कारागारमा हत्या मुद्दामा थुनामा
रहेका कुख्यात अपराधी चाल्र्स शोभराजले विमानस्थलबाट हात्ती छिराउने
अभिव्यक्ति दिएका थिए । विदेशी मुद्रा र सुन तस्करीमा नेपाल प्रहरीकै
प्रत्यक्ष संलग्नता देखिनुले त विमानस्थलको सुरक्षामा खतरा बढेको
सुरक्षाविज्ञहरू बताउँछन् ।
एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन र अवैध मुद्रा तस्करी भएको यो
घटना नौलो भने होइन । तीन दशकअघि 'झिटीगुन्टा' का नाममा केही सामान
सुविधाबापत विमानस्थलकाकर्मचारी र प्रहरीले हङकङबाट ल्याउन पाउँथे ।
त्यसको दुरुपयोग गरी सुन तस्करीको धन्दा सुरु भएको पूर्वप्रहरी अधिृकतहरू
बताउँछन् । त्यसबेला सुनको तस्करीमा तत्कालीन राजदरबारकै संरक्षण थियो ।
पूर्वआईजीपी डीबी लामा र धीरेन्द्र शाहका अंगरक्षक प्रमुख सेनानी भरत
गुरुङलाई त्यतिबेला थुनेर मुद्दासमेत चलाइएको थियो । २०४२ सालमा
राष्ट्रिय पञ्चायत सदस्य चन्द्रबहादुर बुढा हङकङबाट फकिर्ंदा विमानस्थलमा
२२ किलो सुनसहित समातिएका थिए । उनले प्रहरीलाई तत्कालीन प्रधानमन्त्री
लोकेन्द्रबहादुर चन्दले ल्याउन भनेको बयान दिएका थिए । प्रहरी स्रोतका
अनुसार पचासको दशकमा पुनः फस्टाएको सुन तस्करीमा अन्डरवल्र्ड डन दाउद
इब्राहिम समूहले लगानी गरेको थियो । छानबिन समिति प्रहरी प्रधान
कार्यालयले महानगरीय प्रहरी आयुक्तको कार्यालयका निमित्त प्रमुख डीआईजी
परशुराम खत्रीको संयोजकत्वमा यस प्रकरणको छानबिन समिति गठन गरेको छ ।
महानिरीक्षक कुबेरसिंह रानाले समितिलाई सात दिनभित्र वास्तविकता पेस गर्न
निर्देशन दिएको प्रहरी प्रवक्ता विनोद सिंहले बताए ।
प्रकाशित मिति: २०६९ आश्विन २२ ०८:४१
Source ekantipur.com

No comments:

Post a Comment