Friday, May 24, 2013

१० अर्बमा २० होटल बन्दै

उद्योग व्यवसाय र अन्य क्षेत्रमा लगानी खुम्चिइरहेका बेला होटल
व्यवसायीले १० अर्ब रुपैयाँ लगानी गर्ने तयारी गरेका छन्। व्यवसायीको यो
लगानीले २० नयाँ होटल खुल्ने र २ हजार कोठा थपिने छन्। केही वर्षयता
नेपालमा पर्यटक आगमन बढिरहेको छ। व्यवसायीले यसैलाई हेरेर लगानी थप्न
लागेका हुन्।
सम्बद्ध व्यवसायीहरूका अनुसार दुईदेखि पाँचतारे स्तरसम्मका नयाँ होटल र
रिसोर्टमा यो लगानी हुन लागेको हो। नयाँ होटल काठमाडौं, पोखरा, चितवन र
लुम्बिनीमा निर्माण हुनेछन्। हालसम्म होटल उद्योगमा १ खर्ब ५० अर्ब
रुपैयाँलगानी भइसकेको छ।
'आगामी दुईदेखि तीन वर्षभित्र होटल उद्योगमा १० अर्ब रुपैयाँबराबरको
लगानी हुनेछ,' एक व्यवसायीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा बिहीबार
नागरिकसँग भने, 'मुलुकको पर्यटन उद्योगमा यो असाध्यै सकारात्मक सन्देश
हो। एकैपटक दुई हजार नयाँ कोठा थपिनु भनेको उद्योगको भविष्य उज्वल छ
भन्ने संकेत हो।'
सम्बद्ध व्यवसायीहरूका अनुसार राजधानीको केशरमहलस्थित जग्गामा तीनवटा
ठूला होटल निर्माण हुँदैछन्। ती सबैलाई अन्तर्राष्ट्रिय होटल 'चेन' ले
व्यवस्थापन गर्नेछन्। त्यहाँ पाँचतारे स्तरको एक, चारतारे एक र तीनतारे
स्तरका एक होटल बन्न लागेका हुन्।
'गैरआवासीय नेपाली शेष घले, बैंकर पृथ्बीबहादुर पाण्डे र उद्योगी
शशिकान्त अग्रवालले केशरमहलभित्र तीन ठूला होटल बनाउन लागेका छन्,' एक
व्यवसायीले भने, 'घलेको पाँचतारे, पाण्डेको चारतारे र अग्रवालको तीनतारे
होटल निर्माण हुन लागेको हो।' अस्ट्रेलियामा व्यवसाय गरिरहेका घलेले केही
महिनाअघि नै केशरमहलमा पाँचतारे होटल बनाउने औपचारिक घोषणा गरेका थिए।
ती व्यवसायीका अनुसार घलेको पाँचतारे होटलले १४ रोपनी क्षेत्रफल ओगट्ने
छ। उनको होटलमा २ अर्ब ५० करोड रुपैयाँ लगानी हुँदैछ। 'होटल काठमान्डु'
नाम हुने घलेको होटलमा २ सयवटा कोठा हुनेछन्। यो होटलको व्यवस्थापन
अन्तर्राष्ट्रिय होटल चेन 'सेराटन' ले सम्हाल्ने छ। सन् सन् १९३७ मा
स्थापना भएको अमेरिकाको सेराटनले हाल विश्वका विभिन्न ठाउँका ४ सयभन्दा
बढी होटल तथा रिसोर्टको व्यवस्थापन हेर्दे आएको छ।
यसैगरी केशरमहलभित्रै बैंकर पाण्डेसहित व्यवसायीको लगानीमा चारतारे होटल
निर्माण हुनेछ। छायाँदेवी प्रालिको लगानीमा बनाउन लागिएको यो होटलले पनि
१४ रोपनी क्षेत्रफल ओगट्नेछ। यसमा २ सयदेखि २ सय ५० वटासम्म कोठा
हुनेछन्। 'यो होटलमा करिब ४ अर्ब रुपैयाँ लगानी हुनेछ,' ती व्यवसायीले
भने।
केशरमहलभित्रै उद्योगी अग्रवालले निर्माण गर्न लागेको तीनतारे होटलमा १
सयवटासम्म कोठा हुनेछन्। यो होटलले साढे दुई रोपनी क्षेत्रफल ओगट्नेछ।
अग्रवालले यसमा ५० करोड रुपैयाँजति लगानी गर्नेछन्। अन्तर्राष्ट्रिय होटल
चेन 'मेरिअट होटल एन्ड रिसोर्ट्स' ले उनको होटलको व्यवस्थापन सम्हाल्नेछ।
१९५७ मा स्थापना भएको अमेरिकाको मेरिअटले हाल संसारका विभिन्न ठाउँका ५
सय २ वटा होटलको व्यवस्थापन हेर्दै आएको छ।
होटल व्यवसायीका अनुसार पाँचतारे होटलको एउटा कोठा निर्माण गर्दा १ करोड
रुपैयाँ खर्च लाग्छ। चारतारेमा ६० देखि ७० लाख र तीनतारेमा एउटा कोठा
बनाउँदा ३० लाख रुपैयाँ खर्च लाग्छ।अब निर्माण हुन लागेका दुईदेखि
पाँचतारे होटललाई औसतमा हिसाब गर्दा प्रतिकोठा ५० लाख रुपैयाँ खर्च हुन
आउँछ। यो हिसाबले २ हजार कोठा बनाउन १० अर्ब रुपैयाँ लगानी हुने भएको हो।
राजधानीकै लाजिम्पाटमा एस होटल्स एन्ड रिसोटर््स ग्रुपले नयाँ तीनतारे
होटल निर्माण सुरु गरिसकेको छ। ग्रुपले यो होटलमा २५ करोड रुपैयाँ लगानी
गर्नेछ। राजधानीको सडक विस्तारक्रममा होटल एम्बेसडरको केही भाग भत्किएपछि
ग्रुपले होटल पूरै भत्काएर खालि रहेको जग्गामा नयाँ तीनतारे होटल निर्माण
अगाडि बढाएको हो। नयाँको नाम पनि एम्बेसडर नै राखिएको छ।
निर्माण कार्य सुरु भएको दुईदेखि साढे दुई वर्षभित्र होटल पूर्णरूपमा
सञ्चालनमा ल्याउने लक्ष्य रहेको ग्रुपका कार्यकारी अध्यक्ष योगेन्द्र
शाक्यले जानकारी दिए। २०१५ मार्चदेखि जुनभित्र नयाँ होटल सञ्चालनमा आउने
उनले बताए।
नयाँ बन्ने एम्बेसडर होटलको पहिलो र दोस्रो तलामा सपिङ कम्प्लेक्स हुनेछ
भने बाँकी सबै तला होटलका लागि उपयोग गरिने उनले बताए। होटलका सबै कोठा
डिलक्स हुने र सबै कोठाका झ्याल 'साउन्ड प्रुफ' बनाइने उनले जानकारी दिए।
ग्रुपले करिब तीन महिनादेखि राजधानीको छाउनीमा २५ कोठायुक्त 'एम्बेसडर
छाउनी अपार्टमेन्ट होटल' सञ्चालन गरिरहेको छ। यसमा ७करोड रुपैयाँ लगानी
गरिएको छ।
यसैगरी वित्तीय क्षेत्रका लगानीकर्ताहरूको एक समूहले राजधानीको
सोल्टीमोडमा दुईतारे होटल निर्माण गरिरहेको छ। त्यसमा ६० वटाजति कोठा
हुनेछन्। नेपाल चेम्बर अफ कमर्सको भवन भाडामा लिएर उक्त होटल सञ्चालनमा
आउन लागेको हो। अहिले भवनको स्वरुप परिवर्तनको काम भइरहेको छ।
त्यस्तै पोखराको तीनतारे होटल बाराहीले चितवनमा ६० कोठायुक्त रिसोर्ट,
निजी वायुसेवा कम्पनी यती एयरलाइन्सका प्रवर्द्धक ल्हाक्पासोनाम र
आङछिरिङ शेर्पाको यती होलिडेजले पनि चितवनमा ५० देखि ६० कोठाको रिसोर्ट
बनाउन लागेको छ। व्यापारिक घराना चौधरी ग्रुपले पनि चितवन मेघौलीमा ६०
कोठायुक्त रिसोर्ट बनाउँदै छ। पोखरामा ५० देखि ६० कोठा भएको अतिथि होटल
पनि बन्दैछ। यता हाल सञ्चालनमा रहेका याक एन्ड यती र डेल अन्नपूर्णले पनि
नयाँ कोठा थप्ने तयारी गरेका छन्।
एकै पटक अर्बौं लगानीमा धेरै होटल सञ्चालनमा आउनु सकारात्मक भए पनि अन्य
सम्बद्ध निकायसँग संयोजन हुन नसके त्यसलाई दीर्घकालसम्म टिकाउन नसकिने
व्यवसायी बताउँछन्। 'नेपाल आइरहेका पर्यटक संख्या वृद्धि दर तथा नयाँ
दुईहजार कोठाबीच हिसाब गर्दा कोठा नै बढी हुने देखिन्छ। पर्यटक आएनन् भने
निजी क्षेत्रको लगानी फस्छ,' एक होटल व्यवसायीले भने, 'यिनलाई सफल पार्न
निजी क्षेत्रले अर्थ मन्त्रालय, पर्यटन मन्त्रालय, नेपाल वायुसेवा निगम,
नेपालपर्यटन बोर्डलगायत निकायसँग सहकार्य गर्नुपर्छ। कोठा बढेपछि अहिले
पाइरहेको भाडा दर पनि घट्छ र अस्वस्थ प्रतिस्पर्धा हुनसक्छ।'
एस होटल्स ग्रुपका कार्यकारी अध्यक्ष शाक्यले पनि 'नेपाल पर्यटन वर्ष
२०११' अभियानको 'पर्यटनका लागि सँगसँगै' नाराजस्तै सम्बद्ध सबै मिलेर
अगाडि बढेमात्र पर्यटन उद्योग उँभो लाग्ने बताए। 'कार्पेट, गार्मेन्ट,
पश्मिना, घरजग्गा, बैंकजस्तो ह्वार्र आउने अनि केही अवधिपछि सामसुम
हुनबाट पर्यटन उद्योगलाई जोगाउनुपर्छ,' उनले भने।
हाल मुलुकमा १० वटा पाँचतारे, दुईवटा चारतारे, २२ वटा तीनतारेसहित
दुईतारे, एकतारे, रिसोर्ट, टुरिस्ट क्लास, ताराविहीन गरी १ हजारभन्दा
बढीसञ्चालनमा छन्।

No comments:

Post a Comment