Saturday, September 1, 2012

स्स्स्स! मनीषा ध्यानमा छिन्

सन्तोष रिमाल -'तपाईंहरू जस्तो नाम कमाउने मान्छेपूर्वजन्मको योगी
हुुनुपर्छ। यो जन्ममा यति आदर त्यसै पाएको होइन,' कम उमेरमै सफलताको चुली
नापेकीअभिनेत्री मनीषा कोइरालालाई ओशो तपोवनका स्वामीआनन्द अरूणले भने।
आफ्नो उपलब्धिलाई अरूणले पूर्वजन्मको फल भनिदिएपछि मनीषा यसबारे जान्न
हौसिन्। 'मेहनत धेरैले गर्छन्, तपाईंजस्तै बन्न मुम्बई जाने कति छन् कति,
किन सबैलाई सफलता मिल्दैन?'
अरूणले अहिलेको उपलब्धीमा पूर्वजन्मको 'कनेक्सन' बताउन थालेपछि मनीषाले
गम्भीर भएर कान थापिन्। बाबु प्रकाश, आमा सुषमा र अन्य दुई नातेदारसहित
मंगलबार नागार्जुन हिल्सस्थित तपोवन पुगेकी यी अभिनेत्री करिब तीन घन्टा
आध्यात्मिक बहसमा रमाइन्।
सेलिब्रेटीको जीवनमा स्क्यान्डल एउटा हिस्साकै रूपमा जोडिन्छ। मनीषाको
निजी सम्बन्ध र जीवनशैली पनि स्क्यान्डल बनेर पटकपटक खबरमा छाएको छ।
'शान्तिका लागि ध्यान गर्छु' भन्ने यी अभिनेत्रीले स्क्यान्डल झेल्नसमेत
ध्यानले सहयोग पुर्‍याएको अनुभव गरेकी छिन्। 'मिडियाले मेरो विषयमा भएको
कुरा पनि देखाएका छन्, नभएका पनि, नचाहिँदा समाचारले दुःखी बनाउँछ,
मेडिटेसनले त्यस्ता चिजलाई सहजतापूर्वक लिन सिकाउँछ,' फकर्ने क्रममा
तपोवनबाट बाटोतिर उक्लँदै गर्दा बढेको सास नियन्त्रण गर्दै उनले भनिन्।
मानसिक उतारचढावलाई नियन्त्रण गर्न ध्यान अचूक उपाय लाग्दो रहेछ उनलाई।
'मुक्ति पाएकाहरू परमात्मा बन्छन्, पूर्वजन्ममा मुक्ति मार्गमा लागे पनि
सफल नभएकाले ख्यातिप्राप्त जीवन पाउँछन्,' विभिन्न शास्त्रमा उल्लेख
गरिएका यस्ता पंक्ति अरूणले सुनाएपछि मनीषा थप जिज्ञासु बनिन्, 'आफ्नो
पास्ट-लाइफ कसरी जान्न सकिन्छ?'
अरूणले व्याख्या गरे, 'हाम्रो स्मृतिमा विगत जन्मको विवरण छ, अहिलेको
तनाव, असफलता, निरासाजस्ता तत्त्वबाट उम्किन नसक्दा त्यसलाई पढ्न
सकिँदैन। २० औं वर्षको अभ्यासपछि जीवनका कुनै घटनाबाट 'डिस्टर्ब' नहुने
अवस्थामा पुगिन्छ, त्यसपछि पूर्वजन्म जान्ने विधि आफैं सिक्दै गइन्छ।'
आफूमा पूर्वजन्मको अनुभव भएको भन्दै थप स्पष्ट हुन मनीषाले फेरि प्रश्न
गरिन्, 'म आफ्नो पास्ट-लाइफ जान्न सक्छु कि सक्दिन?' उनले ठोस जवाफ आशा
गरेपछि शारीरिक शुद्धता, खानपिन र ध्यानमा निरन्तरता दिनसके यो सम्भव
भएको बताए अरूणले। 'कुनै घटनाबाट दुःखी नहुने, त्यसलाई सहनसक्ने, बदलाको
भावना नउब्जिने र पूर्वजन्मबारे जानेपछिपनि डिस्टर्ब हुन्नँ भन्ने
अवस्थामा पुगेपछि मात्र यो यात्रा सुरु गर्न सकिन्छ,' यति भएपछि
पूर्वजन्म जान्ने विधि आफैं आउने र सम्झनाशक्ति बाँध फुटेजसरी फुट्ने
अरूणले बताए।
पूर्वजन्म जानेका धेरैको वर्तमान जीवन बिग्रिएको अरूणलाई थाहा छ। 'कुनै
चिजले पनि असर नगर्ने' अवस्थामा पुगेकाले मात्र त्यसलाई थेग्नसक्नेमा
उनले जोड दिए। 'पूर्वजन्मको शत्रु अहिलेको मित्र हुनसक्छन्, पूर्वजन्ममा
आफैंले बनाएको घरमा छिर्न पनि पाइँदैन, यो जीवनकी श्रीमती पूर्वजन्मकी
आमा हुन सक्छिन्, पास्ट मेमोरीले अहिलेको सम्बन्धको मिठास बिग्रन पनि
सक्छ,' उनले यस विषयमा सचेत भएर मात्र पूर्वजन्म जान्ने बाटो तय गर्न
सुझाव दिए।
मनीषाले अरूणसँगै सोधिन्। 'तपाईंले आफ्नो पास्ट-लाइफ जान्नुभएको छ?'
पूर्वजन्म बुझ्न व्यग्र मनीषासँग तपोवनका यी ६९ वर्षीय सञ्चालक खुले।
उनले आफूले सय वर्षअघि इङ्ल्यान्डबाट इन्जिनियर बोलाएर बनाउन लगाएको
भारतको घर यो जन्ममा हेर्न गएको दाबी गरे। उनले दन्त्यकथाजसरी भने, 'तर,
पाले छिर्न दिएनन्, दुःख लाग्न खोज्यो तर नियन्त्रण गरेँ।'
यसबारे जानेपछि ठूलो सफलता पाएजस्तो लागेर अरूणले उनका गुरु ओशोलाई चिठी
पनि लेखेछन्। 'तर, उहाँले मेरो उपलब्धीको वास्ता गर्नुभएन, पूर्वजन्मको
पछि नलाग, अहिलेको समय खेर नफाल भनेर जवाफ पठाउनुभयो, चिठी अहिले पनि
सुरक्षित छ।' अब के गर्नुपर्ला भन्ने जिज्ञासालाई पनि ओशोले महत्त्व
नदिएको उनले बताए।
'सबै कुरा आफैं भएको छ भने विशेष तरिका नखोज,' ओशोबाट जवाफ पाएपछि
पूर्वजन्मको 'एक्साइटमेन्ट' घटेको अनुभव अरूणलाई भयो।
पूर्वजन्मको तलतल केही मेटाएपछि मनीषाले गीतामाउल्लेखित 'कर्म' र 'फल'को
विस्तृत जान्न चाहिन्। 'इफोर्ट'ले मात्र सफल हुन नसकिने उल्लेख गर्दै
अरूणले भने, 'सफलता पाएकाले पनि ईफोर्ट त लगाएकै हुन्छन्, कर्मले फल त
दिन्छ तर कहिले दिन्छ भन्न सकिन्न, त्यसैले कर्म गर फलको आशा नगर भन्ने
गीताको दर्शन सान्दर्भिक छ।'
'इफोर्ट' र 'इफेक्ट'बारे मनीषाको रुचि र जानकारी देखेपछि अरूणले यसो भन्न
धेरै सोचेनन्, 'तपाईंमा धेरै परिपक्वता रहेछ, तपाईंको खोजमा प्रकृतिले
पनि सघाउँछ, सबै कुरा भएर पनि एक्सपेक्टेसन भएन भने पनि हुँदैन, त्यसलाई
पनि जीवित राख्नुहोला।' सफलतासँगै मान्छेको इगो बढ्ने विषयमा पनि
मनीषा-अरूण संवाद भयो। 'त्यसलाई झार्न ओशोले ससाना काम लगाउनुहुन्थ्यो,
इन्जिनियर भइसकेपछि मैले अस्पताल सफा गर्नुपरेको थियो,' अरूणले अनुभव
सुनाए।
ध्यानलाई प्रभावकारी बनाउन उनले खानपिनको महत्त्व औंल्याए। मनीषाले आहार
अनुशासनको अभ्यास गरिरहेको सगर्व सुनाइन्। उनको अभ्यासको तारिफ गर्दै
अरूणले भने, 'खाना परिवर्तन नगरी बानीपरिवर्तन हुँदैन, तपाईंले खानपिन
परिवर्तन गरेर राम्रो गर्नुभो, खाइरहेको कुरा त्याग्न सक्नु ठूलो कुरा
हो।'
अरूणले 'फूड मेक्स बडी, बडी मेक्स माइन्ड' भनेपछि ध्यानको संरचना बुझ्दै
गरेको र १२ दिन विपश्यना अभ्यास गरेको मनीषाले बताइन्। आध्यात्मिक
शक्तिले मात्र खाइरहेको खाना छाड्न सम्भव भएको उल्लेख गर्दै शाकाहारी
मनीषालाई नियमित दुध पिउने सल्लाह अरूणले दिए। 'मासुले दिने ताकत दूधमा
हुन्छ,' उनको सल्लाह सुन्नेबित्तिकै सँगै रहेकी मनीषाकी आमा बोलिन्,
'कोही त दूधले फाइदा गर्दैन भन्छन् नि?' रगतमा कोलेस्ट्रोलको मात्रा
बढेकालाई मात्र दूधले बेफाइदा गर्ने जानकारी दिँदै अरूण यसको आवश्यकतामा
जोड दिए।
दिउँसो १२ नबज्दै पुगेकी मनीषा रुचिसाथ तपोवन घुमिन्। अरूणले ओशो
समाधिस्थलबारे जानकारी गराउँदा मनीषालाई ध्यान गर्ने इच्छा जाग्यो। 'मन
लागुन्जेल ध्यान गर्नुहोला' भन्दै अरूणले व्यवस्था मिलाइदिए। मनीषाले
ध्यानमा करिब आधा घन्टा बिताइन्।
तपोवनको हरियो जंगल र खोलाको आवाज औधी मन पर्छ उनलाई। समाधिस्थल नजिकै
रहेको शिवपुरी बाबाको मन्दिर घुमेपछि उनको व्यक्तित्त्वबारे अरूणले बताए।
१ सय ३७ वर्ष बाँचेका शिवपुरी बाबाको जीवनमात्र हैन, दर्शनले पनि खुब
प्रभावित पार्‍यो मनीषालाई। 'सबैभन्दा राम्रो ठाउँ जंगल, अर्को दरबार,
अरू नरक हुन्' भन्ने शिवपुरीको बाबाको भनाइ मनीषाले मन पराइन्। मनीषालाई
शिवपुरी बाबाको अर्को कलात्मक अभिव्यक्तिले झनैप्रभाव पार्‍यो।
'आर्ट सुड बी आइडियलिस्टिक, थिङ्किङ सुड बी रियालिस्टिक एन्ड लिभिङ सुड
बी आर्टिस्टिक (कला आदर्श हुनुपर्छ, सोच यथार्थपूर्ण हुनुपर्छ र जीवन
कलात्मक हुनुपर्छ)' मन्दिरनजिकैको बोर्डमा यो भनाइ पढेपछि मनीषाको मुखबाट
निस्कियो, 'सुपप!' उनले यो भनाइ 'प्रिन्टेड भर्सन'मै चाहिन्। तपोवनको
जानकारी र आध्यात्मिक छलफलपछि त्यहीं पाकेको सात्विक खाना रुचिपूर्वक
खाइन मनीषाले।
छुट्टिने बेला आफ्नो पुस्तक 'सन्त दर्शन' दिँदै शिवपुरी बाबाको भनाइमा
अरूणले चिनो लगाइदिए। 'सबै पढ्न नभ्याए पनि यशोधराको विषयमा चाहिँ अवश्य
पढ्नुहोला' अरूणले आग्रह गरे। यसअघि पनि बेलाबखत तपोवन पुगेकी मनीषाले
पूर्णिमाको दिन त्यहाँ हुने आध्यात्मिक आकर्षणमा सहभागी हुने इच्छा
देखाएपछि अरूणले भने, 'आउनुस् न, तपोवनको ढोका तपाईंजस्ता
अध्यात्मप्रेमीलाई सधैं खुला छ।'

No comments:

Post a Comment