Saturday, September 1, 2012

आज भदौ १६, इराकी अवस्था मूल्यांकन आवश्यक

काठमाडौं, भाद्र १६ - रोजगारका लागि इराक पुगेको १२ नेपालीको त्यहाँको आतंककारी समूहले हत्या गरेको ८ वर्ष पुगेको छ । त्यही घटनापछि नेपाल सरकारले इराकमा लगाएको प्रतिबन्ध फुकाएकै छैन । सरकारले त्यहाँ काम गर्ने ३० हजारभन्दा बढी नेपाली युवालाई काम गर्न भने अनुमति दिएको छ । अमेरिकी सेन्ट्रल कमान्डले २ वर्षअघि आफ्ना नागरिकलाई प्रतिबन्ध लगाएका देशका कामदार फिर्ता गर्ने भनेपछि त्यहाँ कार्यरतलाई नेपाललेअनुमति दिएको थियो । तर नयाँका हकमा प्रतिबन्ध यथावत् छ, जो कार्यरत छन् उनीहरू फेरि स्वदेश आएर वैधानिक बाटोबाट फेरि जान सक्दैनन् । जसको कारण त्यहाँ कार्यरत नेपाली युवाहरूलाई इराकी रोजगारअनौठो भएको छ, 'सकुन्जेल गर्न पाउने, फर्केपछि जान नपाउने ।'
त्यहाँ कार्यरतलाई प्रतिबन्ध फुकुवापछि पाकिस्तानस्थित नेपाली दूतावासबाट एक अधिकारी इराक गएबाहेक त्यहाँको स्थितिको सरकारी स्तरबाटकुनै मूल्यांकन भएको छैन । इराकबाट कान्तिपुरसँगको सम्पर्कमा आएका नेपालीले कम्तीमा अबैतनिक होस् वा वैतनिक एक प्रतिनिधि हुनुपर्ने माग गर्दै आएका छन् ।
उनीहरूको अर्को चाहना पनि छ, कुवेत र साउदी अरबसँग सीमा जोडिएको इराक पाकिस्तानबाट भन्दा यी देशबाट हेर्न सहज छ र नेपाली दूतावास पनि छन्, कम्तीमा इराक हेर्न उनीहरूलाई नै जिम्मा दिनुपर्छ, जुन सम्पर्कका लागि पनि सहज छ । सरकारले जति सक्दो चाँडो इराकको अवस्था मूल्यांकन गरी त्यहाँ कार्यरतलाई आवत-जावत गर्न दिने कि नदिने ? नीति ल्याउनुपर्छ । किन कि कोही पनि घर परिवारबाट लामो समयसम्म टाढा भएर काम गर्नसक्दैन । र्फकदा रोजगारी गुम्ने डर, नफर्किंदा पारिवारिक तनाव रहनुपर्ने अवस्थामा उनीहरूलाई रहिरहन दिनु हुँदैन ।
त्यस्तै, नयाँलाई जान प्रतिबन्धै रहिरहने हो वा कुनै मापदण्ड बनाएर फुकुवा गर्ने हो त्यसको बारे पनि सोच्नु उत्तिकै जरुरी छ । अरू देशहरूले त्यहाँ काम गर्न दिन गरेका छन् कि छैनन् ? कम्तीमा सरकारी टोली गएर छिटो अध्ययन गरी निर्णय लिन आवश्यक छ ।
इराकमा प्रतिबन्ध यथावत् भए पनि नेपाली युवाहरूलाई आकर्षक रोजगारको आशा देखाएर त्यहाँ छिराउने क्रम भने रोकिएको छैन । यसमा व्यवसायीमात्र होइन दलाल, मानव तस्कर र केेही अन्य पेसाका व्यवसायी पनि सक्रिय छन् । उनीहरूले युवाहरूबाट २/४ लाख रुपैयाँ लिएर जोखिमपूर्ण बाटोबाट इराक छिराउने, बाटैमा अलपत्र पार्ने वा बीचबाटै स्वदेश फिर्ता हुने बनाएका छन् । हालैमात्र एक ट्राभल्सले १ युवकलाई यूएईको दुवई र ३ लाई किर्गिस्थानको बाटोबाट इराक पठाउन खोजेको थियो । इराकी भिसा नै नक्कली भएपछि उनीहरूलाई दुवई र किर्गिस्थान अध्यागमनले नेपालफर्काइदिएको छ । अहिले रकम फिर्ती र दलाललाई कारबाहीका लागि उनीहरू वैदेशिक रोजगार विभाग पुगेका छन् ।
यता वैदेशिक रोजगार व्यवसायी संघले भदौ १६ को घटनालाई कालो दिनको रूपमा लिँदै यो दिन आफ्ना सबैव्यवसाय बन्द गर्ने, विज्ञापन नगर्ने र आफ्ना कार्यालयमा कालो झन्डा राख्न आह्वान गरेको छ । ८ वर्षअघि यो दिन इराकमा नेपाली युवा मारिएको आक्रोशमा काठमाडौंमा आगजनी, तोडफोड र कुटपिट भएको थियो । जसमा सबैभन्दा बढी क्षति म्यानपावर व्यवसायीले बेहोरेका थिए ।
कम्तीमा सरकारले भदौ १६ को घटनाको पुनर्मूल्यांकन र अहिलेको इराकी अवस्थाको अध्ययन गरेर अब निर्णय लिन ढिला गर्नु हुँदैन । र, व्यवसायीहरूले आफ्नो पेसागत मर्यादा भुलेर इराकमात्र होइन कुनै पनि देशमा कामदारलाई पठाउनु हुँदैन । सरकार होस् वा व्यवसायी जिम्मेवार हुने हो भने भदौ १६ का घटना इतिहास बन्न सक्छ नत्र अरू भदौ १६ हरू नआउलान् भन्न सकिँदैन ।

No comments:

Post a Comment