११ असोज, बुटुवल । देवदह मेडिकल कलेजमा 'नयाँ डाक्टर' देखिए । नचिनेका
डाक्टर आएर धमाधम बिरामी हेर्न थालेपछि अस्पतालका कर्मचारी र नर्स अलमलमा
परे ।
सेतो कोट लगाएर बिरामी जाँचिरहेका ती व्यक्ति वास्तवमा डाक्टर थिएनन् ।
मन पराएकी युवतीसँग बिहे गर्ने लहडमा डाक्टरको भेष धारण गरी उनी अस्पताल
छिरेको खुलासा भएको छ । उनलाई प्रहरीले पक्राउगरी सार्वजनिक गर्यो ।
नक्कली डाक्टर बनेर बिरामीको उपचार गर्न खोज्ने नवलपरासीको रामग्राम–५ घर
भई बुटवलको देवीनगरमा बस्दै आएका २२ वर्षीय लक्ष्मण शर्मा देवदह मेडिकल
कलेजबाट पक्राउ परेका हुन् । शर्माका सहयोगी बन्ने रोल्पा घर भई बुटवलकै
देवीनगर बस्दै आएका मोतीराम विक पनि समातिएका छन् । विक लुम्बिनी अञ्चल
अस्पतालको ल्याब टेक्निसियन रहेको बताइएको छ ।
सुरुमा बिरामी बनेर मेडिकल कलेज छिरेका उनीहरूले सेतो कोट लगाई 'ब्लड
प्रेसर' जाँच गर्ने उपकरणसहित बिरामी जाँच्न थालेका थिए । एक्कासि नयाँ
मान्छे आएर वार्डमा छिरेर स्वास्थ्य परीक्षण गर्न थालेपछि त्यहाँका
कर्मचारी र नर्स अलमलमा परेका थिए ।
शर्माले बुटवल–१३ घर भएकी एक युवतीलाई मन पराएको र उनैलाई आकर्षित गर्न
नक्कली डाक्टर बनेको बयान प्रहरीसमक्ष दिएका छन् । उनले कक्षा १० मा
अध्ययनरत ती युवतीको आमाबुबासँग आफू डाक्टरी पढ्दै गरेको देखाउन त्यस्तो
नाटक गरेको प्रहरीसमक्ष बताए । युवतीको परिवारलाई आफू मेडिकल कलेजमा
कार्यरत भनेर देखाउन केटीका आफन्तलाई उनले मेडिकल कलेजमै बोलाएका रहेछन्
। त्यसो त युवतीको बुबासमेत छोरीको विवाह गर्ने उद्देश्यले विदेशबाट
फर्किएको बताइएको छ ।
सोधखोज गर्दा अस्पतालमा नयाँ डाक्टर कोही नआएको थाहा पाएपछि नक्कलीको
आशंकामा अस्पताल प्रशासनले प्रहरीलाई खबर गरेको थियो । लगत्तै वडा
प्रहरीकार्यालयका प्रमुख सुवास गैरेको नेतृत्वको टोली मेडिकल कलेजमा
पुगेको थियो । प्रहरीले ती युवालाई सेतो कोट र प्रेसर जाँच्ने उपकरणसहित
नियन्त्रणमा लिई बुटवलमा ल्याई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो
।
पक्राउपछि सञ्चारकर्मीमाझ शर्माले आफूले बिहेकै लागि नक्कली डाक्टरको
योजना बनाएको स्विकारे । उनले आफूले १० कक्षासम्म अध्ययन गरेको बयान
दिएका छन् । प्रहरीका अनुसार उनले आफू एमबिबिएस अध्ययनका लागि लन्डन जानु
छ भन्दै मेडिकलकलेजमै बोलाएर स्थानीय भीमा कुँवरबाट ५० हजार रुपियाँसमेत
लिएका रहेछन् ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक रामेश्वर कार्कीले
घटनाबारे थप अनुसन्धान गर्नुपर्ने उल्लेख गर्दै सरकारी वकिलको सहायताबाट
काम अगाडि बढाउने जानकारी दिए ।
No comments:
Post a Comment