Saturday, September 1, 2012

सार्वजनिक सवारीमा महिलामाथि दुव्यवहारविरुद्ध उजुरी

भक्तपुर, भाद्र १६ - मध्यपुरठिमी चपाचोकी विवाहित युवतीले कार्यालयबाट घर र्फकँदै गर्दा अपरिचित युवकले बसमा दुर्व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिइन् । भीडको फाइदा उठाउँदै जबरजस्ती टाँसिएर दुर्व्यवहार गरेको उनको उजुरीमा छ । मीनभवनमा स्नातक अध्ययनरत कौशलटारकी एक युवतीले भाडा उठाउने बहानामापरिचालकले संवेदनशील अंग छुदै ओहोर दोहर गरेर अप्ठेरो पारेको र असुरक्षित यात्रा गर्न बाध्य भएको भन्दै सचेत गराउन प्रहरी गुहारिन् । गुनासो गर्दा 'आरामसित हिँड्न आफ्नै गाडी किन्नु पर्छ' भन्ने जवाफ पाएपछि उनले स्कुटर किनेको उजुरीमा छ । किशोरी छोरीसँग यात्रा गरिरहँदा छेवैको पुरुष यात्रीले फोनमा अश्लील शब्द प्रयोग गर्दै कुराकानी गरेपछि एक अधवैशै महिलाले आफू गन्तव्य नपुगी शंखधर चोकमा ओर्लेर अर्को सवारी पर्खन बाध्य भएको प्रहरीलाई जनाकारी गराइन् ।
उपत्यकाका सार्वजानिक सवारीमा हुने यस्ता दुर्व्यवहारका उजुरी विस्तारै प्रहरीसम्म पुग्न लागेको छ । दोषीमाथि कारबाही भने भएका छैनन् । महानगरीय प्रहरी बृत ठिमीले देशमै पहिलो पल्ट सार्वजानिक यातायातमा महिलामाथि हुने दुर्व्यवहार विरुद्धको अभियान थालेको छ । शुक्रबारबाट सुरु अभियानको उद्‍घाटन गर्दै महानरीय प्रहरी आयुक्त प्रमुख एआइजी कुबेर सिंह रानाले भने, 'यस्तोदुव्र्यवहार गर्नेलाई कारबाही नगर्ने हो भने अपराध बढ्छ । उजुरी दिनुहोस्, कारबाही गर्छौ ।'
ठिमीका प्रहरी नायब उपरिक्षकराजन अधिकारीले यस्ता उजुरी कम पर्ने गरेको बताए । 'गन्तव्य पुग्ने हतारो, उजुरी गर्दा आफै अपहेलित भइएला भन्ने भयले प्रहरीसम्म आउने थोरै देखिएका हुन्,' अधिकारीले भने, 'कतिपय चालक परिचालक, यात्रुहरुमा यस्ता कार्य दुर्व्यवहार हुन् भन्ने ज्ञानको कमी पाइन्छ ।' विभिन्न अनुसन्धानले सार्वजनिक यातायात महिला मैत्री हुन नसकेको, युवावस्थाका महिला बढी दुर्व्यवहारको सिकार हुनु परेको देखाएको छ । सवारीमा नग्न महिलाका तस्बिर तथा अश्लिल सन्देश राख्नु पनि दुर्व्यवहार भएको प्रहरीको भनाइ छ ।
अभियान तीन चरणमा चल्नेछ । पहिलो चरणमा अभिमुखीकरण, दोश्रो चेतनामूलक प्रचार-प्रसार र तेश्रो कानुन कार्यान्वयन हुने अधिकारीले बताए । दोश्रो चरणको जनचेतनामूलक प्रचार-प्रसार शुक्रबारदेखि सुरु गरेको छ । सार्वजनिक सवारी साधन र यात्रु प्रतीक्षालयमा लैङ्गकि मैत्री यातायात सेवाबनाउने विषयको स्टिकस, सवारी साधनमा तुल झुण्डयाउने भएको छ । कार्यक्रम सफल पार्न बृतका सई लेखनाथ आचार्यले दोहोरी गीतको रचना गरेका छन् । जनचेतनामूलक कार्यक्रम आइतबारसम्म चल्ने अधिकारीले बताए ।
तेश्रो चरणको कानुन कार्यान्वयन गर्न अरनिको राजमार्ग र पेप्सिकोला दुवाकोट जाने बाटोमा २/२ ठाउँमा गुनासो सुन्ने डेक्स राखिने छ । निगरानीका लागि सवारीमा सादा पोशाकका महिला जुनियर प्रहरी अधिकृत खटाइनेछ । 'दुव्र्यवहार भएको देखेमा पीडकलाई अन द स्पट कमप्लेन हयाण्डलिङ्ग डेस्कको जिम्मा लगाउने र गल्ति जानकारी तथा महसुस गराउने अधिकारीले बताए। उनले भने, 'गल्तिको प्रकृति अनुसार कारवाही हुन्छ ।' सचेतनाका लागि प्रहरीले तयारगरेकेा पर्चामा 'सावधान महिलाउपर दुव्र्यवहार गर्दै हुनु हुन्छ भने तपाई सादा पोशाक प्रहरीको निगरानीमा हुनुहुन्छ' लेखिएको छ । 'महिलामाथि जानीजानी स्पर्ष गर्ने, संवेदनसील अंगमा छुने, अस्लिल शब्द प्रयोग गर्नु अपराध हो' लगायत स्लगन सवारीमा राखिने छ । अभियानलाई मध्यपुर यातायात सद्भाव समिति, नयाँबाटो मिनिवस सद्भाव समिति, मध्य उपत्यका यातायात व्यवसायी संघ, पशुपति सार्वजनिक माइक्रोबस समिति र भक्तपुर मिनिबस समिति भक्तपुरले सहयोग गरेका छन । प्रमुख जिल्ला अधिकारी जितेन्द्रबहादुर भण्डारीले यस्ता कार्यक्रम भक्तपुरमा मात्रै नभई उपत्यकाको तीनै जिल्लामा लागू गर्नु पर्ने बताए ।

No comments:

Post a Comment