Friday, August 17, 2012

कोइराला जस्ता नेताका कारण सहमति नभएको : दाहाल

'सबैभन्दा उपयुक्त विकल्प पुनर्स्थापना'-
माधव ढुङ्गेल, काठमाडौं, भदौ १- एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले निकासका लागि सबैभन्दा उपयुक्त विकल्प विवादित विषयमा सहमतिगरी संविधानसभा पुनर्स्थापना गर्नु रहेको बताएका छन्।
दाहालले लाजिम्पाटस्थित निवासमा बिहीबार केही सञ्चारकर्मीसँग भेट्दै भने, 'म त संविधानसभा पुनर्स्थापित होस् भन्ने चाहन्छु, संविधानका विवादित विषय पहिले टुंग्याइयोस् र संविधानसभाबाट संविधान घोषणा होस् र नयाँ व्यवस्थापिका संसद्को निर्वाचन होस् भन्ने चाहन्छु। त्यो सम्भावना अझै छ।'
'संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन' का समेत अध्यक्ष रहेका दाहालले संघीयताका पक्षधर २१ दलको मोर्चा बनेको भोलिपल्ट आफू पुनर्स्थापनाको पक्षमा रहेको बताएका हुन्। मोर्चालेभने अहिलेको निकासका लागि पहिलो विकल्प चुनाव र दोस्रो विकल्पका रूपमा संविधानसभा पुनर्स्थापना अघि सारेको दाहालले बताए।
उनले कांग्रेस-एमालेले सहमतिबिथोलेको आरोप लगाए। 'कांग्रेसभित्रको मुख्य लबी सुशील कोइराला र एमालेको पनि मुख्य पक्षले माओवादीलाई जसरी भए पनि कमजोर बनाएर ठेगान लगाउने सोचेको मैले बुझेँ,' उनले भने, 'कांग्रेसभित्र अरू नेता सहमति होस्, संविधानसभा पुनर्स्थापना होस् भन्ने छन्, मैले मोर्चा र पार्टीका तर्फबाट अलिकति आक्रामक रणनीति अपनाउँदा सहमति चाहनेलाई बल मिल्नेछ।'
कांग्रेस-एमालेको संस्थापन पक्षले माओवादीको राजनीतिक प्रभाव बढ्ने गरी सहमति गर्न बिल्कुलै नचाहेको आरोप उनले लगाए। 'सुशील कोइरालाजस्ता नेताका कारण सहमति हुन नसकेको रहेछ,' उनले भने, 'सहमति गर्न नदिने र माओवादीलाई कमजोर बनाउन खोज्नेप्रति म पनि अलिकति आक्रामक ढंगले जान चाहेको हो।'
कांग्रेस-एमाले सहमतिमा आउन चाहेनन् भने माओवादीले पनि सरकारको नेतृत्व नछाड्ने उल्लेख गर्दै दाहालले रणनीतिसुनाए, 'उहाँहरूले हजारको जुलुस निकाल्नुहुन्छ भने हामी १० हजारको निकाल्छौं, उहाँहरूले १० हजारको निकाले हामी लाखको निकाल्छौं, मैदानबाटै फैसला गर्ने वातावरण बनाउँछौं।'
मोर्चा बनाउँदा आवश्यक परे माओवादी, मधेसवादी, जनजाति, दलित, महिला, मुस्लिम, उत्पीडित क्षेत्रका जनता र बाहुन क्षेत्रीका परिवर्तनकामी तप्का आउँछन् भन्ने विश्वासले काम गरेको दाहालले बताए। उनले देशको ८० प्रतिशत जनता एकातिर ध्रुवीकरण भए भने त्यो तागतले पनि सहमति हुने विश्वास गरे। 'जसरी भए पनि अन्ततः सहमति नै हो, मूठभेडबाट सिध्याउने भन्ने मेरो दिमागमा छैन,' उनले भने। उनले केही दिनमै फेरि फेरि कांग्रेस-एमालेसँग छलफल सुरुहुने बताए।
सहमति नभई सरकार नछाड्ने र सहमति भए तुरुन्तै छाड्ने उनले बताए। 'सहमति नभएसम्म बाबुरामजीले राजीनामा दिने ठाउँ नै छैन, कामचलाउ भइसकेको सरकारले राजीनामा दिने भन्नेसंसारमै हुन्न,' उनले भने।
सहमतिबिनै प्रधानमन्त्रीले पद छाडे झन् अप्ठेरो स्थिति आउँछ भन्नुको कारण उनले व्याख्या गरे। 'प्रधानमन्त्रीले पद छाडे राष्ट्रपतिको सामु अर्को प्रधानमन्त्री नियुक्ति गर्ने बाध्यता आउँछ, त्यस्तो व्यवस्था संविधानमा छैन,' दाहालले भने, 'त्यो संविधानको भावना पनि हैन, हामीले संवैधानिक राष्ट्रपति भनेर जुन भनेका छौं, त्यसमा मेल खाँदैन, राजनीति ००७ देखि ०१७ सालमा पुग्छ।'
'सरकार भारतपरस्त हैन'
माओवादी भारतपरस्त भएको आरोपउनले अस्वीकार गरे। 'विगतभन्दा हाम्रो प्रस्तुतिभारतबारे कूटनीतिक भएको छ,' उनले भने, 'सरकारको नेतृत्वमा बसेको पार्टी हुनुको नाताले सरकारबाहिर बसेका पार्टीजत्ति हुन मिल्दैन। मैले प्रधानमन्त्री छाडेपछि जसरी भारतको विरोध गरियो नि, त्यसले हित गरेन।'
१० वर्षअघि भारतीय प्रधानमन्त्री अटलबिहारी बाजपेयीलाई लेखेको पत्रको चर्चाबारे उनले भने, 'अध्यक्षको नाताले राष्ट्र संघ, चिनियाँ राष्ट्रपतिलाई चिठी दिएको हो, भारतीय प्रधानमन्त्रीलाई पनि हामी आतंककारी हैनौं, राजनीतिक उद्देश्य हो, शान्तिवार्तामाबस्न तयार छौं भनेर लेखेको हो।'
भट्टराईलाई प्रधानमन्त्री बनाउन मोहन वैद्यले प्रस्तावतयार पारेको स्मरण गर्दै अहिले उनलाई भारतपरस्त भन्नेनैतिक अधिकार नभएको दाहालले बताए। 'वैद्यजीले सक्नुहुन्थ्यो भने बाबुरामजीलाई प्रधानमन्त्री र नारायणकाजीलाई उपप्रधानमन्त्री बनाउनुहुन्थ्यो,' उनले भने, 'प्रचण्डलाई कारबाही गर्ने भन्ने थियो त्योबेला, प्रचण्डलाई अध्यक्षबाट पनि हटाउने, संसदीय दलको नेताबाट पनि हटाउने भन्ने थियो।'

No comments:

Post a Comment