Friday, August 17, 2012

कोइरालाले भने- ' म अब सहन्नँ, अघि बढ्छु '

गोविन्द परियार, काठमाडौं, भदौ १- कांग्रेसले केन्द्रीय सदस्य एवं पूर्वमन्त्री खुमबहादुर खड्काविरुद्ध सर्वोच्च अदालतको फैसला अन्यायपूर्ण भएको ठहर गर्दै न्यायिक पुनरावलोकन गर्ने निर्णय गरेको छ।
विहीबार पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले विशेष अदालतबाटसफाइ पाएका खड्कालाई सर्वोच्चले भ्रष्टाचारी ठहर गरेकोप्रति पार्टी आश्चर्यचकित र दुखित भएको निष्कर्ष निकाल्दै कानुनविदसँग छलफल गरी पुनरावलोकनमा जाने निर्णय गरेको हो। 'विशेष अदालतबाट सफाइ पाएको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर गरी खड्कालाई सजाय तोकेकामा हामीलाई आश्चर्यचकित र दुखित पारेको छ,' बैठकको निर्णयमा छ, 'अन्यायपूर्ण फैसलाउपर कानुनव्यवसायीसँग सल्लाह गरी न्यायिक पुनरावलोकनका लागि पार्टीले सक्रिय पहल गर्नेछ।'
यसअघि सर्वोच्चले कांग्रेस नेता एवं पूर्वमन्त्री चिरञ्जिवी वाग्लेलाई भ्रष्टाचारी ठहर गर्दा भने कांग्रेसले लोकतान्त्रिक पार्टीको नाताले फैसला स्वीकार गर्ने प्रतिक्रिया दिएको थियो।
बैठक सुरुमै सभापति सुशील कोइराला केन्द्रीय विभाग गठनप्रति आएको असन्तुष्टि 'काम गर्न नदिने मनसाय' भन्दै आक्रोशित भए। 'म अब सहन्नँ, अघिबढ्छु, मिडियामा विवादका कुरा आएका छन्, दुई वर्षसम्म पर्खेर विभाग गठन गरेको छु र पनि विवाद गर्ने?' कोइरालाले बैठकमा भने, 'मलाई दुई वर्षसम्म पनि सहयोग भएन, काम गर्न पनि दिइएन, अब सहन्नँ।'
सभापतिले बोलेलगत्तै वरिष्ठ नेता शेरबहादुर देउवाले केन्द्रीय सदस्य खड्काबारे सर्वोच्चको फैसला र टिचिङ अस्पतालका चिकित्सक गोविन्द केसीको आमरण अनशनबारे छलफल गर्न प्रस्ताव राखे।
त्यसपछि अधिकांश केन्द्रीय सदस्यले सर्वोच्च 'माओवादी आदेश'मा 'कांग्रेस नेता फसाउन उद्यत' भएको भन्दै निर्णयको प्रतिकार गर्नुपर्ने धारणा राखेका थिए। देउवा, उपसभापति रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरू पुष्पा भुषाल, शंकर भण्डारी, अजयकुमार चौरसिया, प्रकाशशरण महत, बालकृष्ण खाँडलगायत सबैजसो सदस्यले सर्वोच्चको फैसला पूर्वाग्रही भएको दाबी गरे।
केन्द्रीय सदस्यहरूले सर्वोच्चले स्वास्थ्य विभागका पूर्वमहानिर्देशक लक्ष्मीराज पाठकको भ्रष्टाचार मुद्दामा आम्दानी सबै वचत मानेको तर खड्काको मुद्दामा ७५ प्रतिशतखर्च मानेर नियोजित रूपमा फैसला गरेको दाबी गरे। उनीहरूले सर्वोच्च अदालतका बहालवाला एक न्यायाधीशका 'सहोदर सम्धी' भएकाले पाठकले सफाइ पाउने र कांग्रेस नेता भएकाले खड्काले सजाय भोग्नुपर्ने भन्दै फैसला 'षडयन्त्रपूर्ण' भएको दाबी गरे।
बैठकअघि उपसभापति पौडेललगायत नेताले खड्काका विषयमा सर्वोच्चको फैसलाबारे कसरी अघि बढ्ने भन्ने विषयमा आन्तरिक छलफल गरेका थिए। मुख्यालय सानेपामा बिहानैदेखि कांग्रेस कार्यकर्ताले सर्वोच्चको फैसला पूर्वाग्राही भएको भन्दै प्रतिवाद गर्न नाराजुलुस गरीकेन्द्रीय समितिमा दबाब दिएका थिए।
बैठकले त्रिभुवन विश्वविद्यालय उपकुलपतिबाट वरिष्ठता र क्षमताको उपेक्षागर्दै मनोमानी एवं पक्षपातपूर्ण ढंगबाट भएको राजनीतिक नियुक्तिविरुद्ध चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक गोविन्द केसीले गरेको आमरण अनशनप्रति ऐक्यबद्धता जनाएको छ। उनको बिग्रँदो स्वास्थ्यप्रति गम्भीर ध्यानाकर्षण पनि गराएको छ।
बैठकमा महामन्त्री कृष्णप्रसाद सिटौलाले केन्द्रीय अनुशासन समिति, लेखा परिक्षण समिति र निर्वाचन समिति गठनको प्रस्ताव राखे। उक्त प्रस्तावमा शुक्रबार बस्ने बैठकमा छलफल हुनेछ।
बैठकमा वरिष्ठ नेता देउवा, महामन्त्रीद्वय प्रकाशमान सिंह र सिटौला, केन्द्रीय सदस्य रामशरण महत, महेश आचार्य, नरहरि आचार्य, पूर्णबहादुर खड्का, बालकृष्णखाँण, दीपकुमार उपाध्याय, रमेश रिजाल, मिनेन्द्र रिजाल लगायतले धारणा राखेका थिए।
महासमिति बैठक असोजमा
कांग्रेसले महाधिवेशन भएको दुई वर्षपछि आगामी असोज अन्तिम साता महासमिति बैठक डाक्ने निर्णय गरेको छ।
प्रत्येक वर्ष कम्तीमा एकपटकमहासमिति बैठक बस्नुपर्ने व्यवस्था विधानमा भए पनि बाह्रांै महाधिवेशनको दुई वर्षसम्म पनि महासमिति बैठक बसेको थिएन। अघिल्लो वर्ष काभ्रेको धुलिखेल र दुई साताअघि सिन्धुपाल्चोकको बाह्रबिसेमा भएको जिल्ला सभापति भेलाले महासमिति बैठकडाक्न दबाब दिएको थियो। वरिष्ठ नेता शेरबहादुर देउवापक्षले पनि पार्टीको नीति तथा कार्यक्रम र भावी रणनीति तय गर्न महासमिति बैठक डाक्न दबाब दिँदै आएको थियो।
बिहीबार बसेको केन्द्रीय समिति बैठकले असोज २४ देखि २७ सम्म जनकपुरमा महासमिति बैठकबोलाउने निर्णय गरेको हो। महासमिति बैठकमा ७५ जिल्लाबाटै सदस्य सहभागी हुनेछन्। कांग्रेसमा महासमिति पार्टीको विधान संशोधन र नीति तथा कार्यक्रम तय गर्ने औपचारिक निकाय हो। प्रत्येक निर्वाचन क्षेत्रबाट तीन महासमिति सदस्य मनोनीत हुन्छन्। महासमिति बैठकमा देशभरबाट बाह्रौं महाधिवेशनमै निर्वार्चित भएका ७ सय २० विभिन्न भ्रातृसस्था, विदेशस्थित जनसम्पर्क समिति र केन्द्रीय समितिले मनोनीत गर्नेगरी झण्डै हजार हाराहारीमा सहभागी हुन्छन्।

No comments:

Post a Comment