Wednesday, August 22, 2012

८ वर्षपछि फेरि सँगै थुनामा खुमबहादुर र जेपीले के गर्लान् खोरमा ?

६ भदौ, काठमाडौं । भ्रष्टाचारको अभियोगमा ६ महिनादेखि डिल्लीबजार जेलमा रहेका जेपी गुप्ताले आफूजस्तै पुराना मित्र फेला पारेका छन् ।
हप्ता दिनअघि सर्वोच्चले भ्रष्टाचारी ठहर गरेकापूर्वमन्त्री खुमबहादुर खड्का पनि बुधबार त्यहीजेलमा पुगेपछि दुई सारथीको अब नियमित भेट हुने भएको छ । जेलमा सँगै बस्ने व्यवस्था नभएपनि पुराना मित्र र उस्तै चरित्र भएका यी दुईको नियमित भेटवार्ता र कुराकानी भने पक्कै हुन्छ ।
खड्का र गुप्ता दुवै पूर्वमन्त्री हुन् । दुवैले सँगै कांग्रेसको राजनीति गरेका । पछि गुप्ता मधेसी जनअधिकार फोरममा लागेपनि दुवैको चरित्र भने उस्तै छ । उनीहरु दुवैजना राजनीतिका चतुर खेलाडि हुन् । अनि दुवैजना जेल पर्नुको कारण पनि समान छ । दुवैलाई सर्वोच्चले भ्रष्टाचारी ठहर गरेको हो । भ्रष्टाचारी ठहर भएपछि दुवैको समर्थनका कार्यकर्ताले नारा जुलुस लगाए । गुप्तालाई उनकै समर्थकले, खड्कालाई पनि उनकै समर्थकले । गुप्ता सर्वोच्चको फैसला आउने बित्तिकै गाली गर्दै खोरमा गए । खड्का भने एकहप्ता कुरे । सर्वोच्चलाई उसैगरी गाली गरे । केही जोर नचलेपछि खोरमा जानु पर्यो ।
गुप्ता र खड्का पहिले पनि सँगै जेल परेका हुन् । ८ वर्षअघि अख्तियारले मुद्दा चलाएपछि उनीहरु जेल परेका थिए । पछि उनीहरुले सफाई पाए । तर सर्वोच्चले फेरि दोषी ठहर गर्यो । ६ महिनाअघि गुप्ता गए, ६ महिनापछि खड्का । अहिले फेरि दुवै सँगै भएका छन् ।
खड्कालाई गुप्ताको निम्तो !
खड्का डिल्लीबजार पुग्नु अघिल्लो दिन गुप्ताले आफ्नो फेसबुक पेजमा आफ्नो पुरानो पुस्तकको ई-कपि राखे । जुन पुस्तकमा उनले पहिले अख्तियारको थुनामा परेको बेलाका डायरीहरु उल्लेख गरेका छन् । जहाँ खड्कासँगै बस्दाका धेरै कुराहरु छन् । खड्का आउने अघिल्लो दिन पुस्तकको प्रसँग निकाल्नु आफैंमा अचम्मको कुरा छँदैछ । तर गुप्ताले अहिले पुस्तक सार्वजनिक गर्नुपर्नाको कारणबारे फेसबुकमा यस्तो लेखेका छन्:’म अहिले जेलमा छु । भ्रष्टाचारको सर्वत्रबाट निन्दा गरिने मुद्दामा । यसमा अब मेरो स्पष्टीकरणको खासै अर्थ पनि छैन । धेरैले न्याय र फैसलाको अर्थ पनि बुझ्न चाहँदैन । तर मेरो मनले, हृदयले स्वयंलाई धिकार्दैन । किनकी म भ्रष्टाचारी होइन । म कुन परिवेशमा र किन यस समस्यामा पारिएँ । यसबारे इच्छुकलाई जानकारी होस् भन्ने अभिप्रायंबाट मात्र पुस्तकको यो ई-कपी यहाँ राख्न लगाएको हुँ ।’
पुस्तकमा खड्काको प्रसँग
गुप्ताको फेसबुक र ब्लगमा राखिएको पुस्तकको ई-कपीमा ऊबेला राजाको शासनकालमा अख्तियारको थुनामा रहेको अनुभव समेटिएको छ । खुमबहादुर खड्का र चिरञ्जीवि वाग्लेसँगै बस्दाको अनुभव छ । त्यतिबेला राजा, सरकार र पार्टी नेतृत्वले अन्याय गरेको उनको आरोप छ । त्यतिबेलाका अख्तियार प्रमुखलाई पनि उनले निकै गाली गरेका छन् । आफू चोखो रहेको र फसाइएको जिकिर गरेका छन् । धेरै ठाउँमा उनले आफूलाई चोख्याउने प्रयास गरेका छन् ।

No comments:

Post a Comment