Wednesday, August 22, 2012

जाँदाजाँदै खड्काले भने- ‘जेल पवित्र घर हो, छाती फुलाएर बस्छु’

६ भदौ, काठमाडौं । सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गरेका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री खुमबहादुर खड्का जेल चलान भएका छन् । उनी अपरान्ह काठमाण्डौं जिल्ला अलालतमा उपस्थीत भएपछि कानुनी प्रकृया पुर्‍याएर जेल चलान गरिएको हो । जेल नगई पुनरावलोकन गर्न खोजेपनि अदालतले अस्वीकार गरेपछि खड्का जिल्ला अदालत काठमाडौंमा हाजिर भएका हुन् ।
जेल जानुअघि संचारकर्मीहरुसँग कुरा गर्दै खड्काले फैसला पूर्वाग्रही भएको र आगामी बैशाखमा हुने भनिएको चुनावमा उठन नदिन नियोजित तरिकाले फसाइएको दावी गरे । ‘मलाई पूर्वाग्रही र अन्यायपूर्ण ढंगले फसाइएको छ । वैशाखमा हुने चुनावमा मलाई रोक्न योजनाबद्ध तरिकाले फसाइएको हो । खड्काले भने-’ दुई जना न्यायाधीशले भन्दैमा त्यो जनताको फैसला हुँदैन, त्यसमा जनबिश्वास पनि छैन । जेलबाट निस्केर जनअदालतमा जान्छु, जनताले नै मलाई न्याय दिनेछन् र जनताले नै भन्ने छन म भ्रष्ट हुँ कि हैन् ।’ सिंगोकांग्रेस र नेपाली जनता आफ्नो साथमा रहेको भन्दै उनले पुनरावलोकनबाट पनि न्यायको आश गरेको खुलाए । आफु पहिले पनि पटक-पटक जेल परेको भन्दै उनले अहिले जेल पर्नुलाई अनौठो नलिएको बताए । ‘हिजो पनिमलाई विभिन्न मुद्धामा फसाइएकै हो’ खड्काले भने-’जेल मेरा लागि पवित्र घर हो, हिजो पनि छाती फुलाएर बसेको थिएँ आज पनि छाती फुलाएर बस्छु ।’
खड्काले फैसला आफूलाई मान्य नभएपनि कांग्रेस लोकतन्त्र र कानुनी शासनमा विश्वास गर्ने भएकाले अदालतमा हाजिर भएको बताए । फैसला प्रजातन्त्रमाथिकै आक्रमण भएको भन्दै उनले प्रजतन्त्रबादीहरु कहाँ रहने छन् भनि सबैले सोंच्ने बेला आएको बताए । अहिले कांग्रेस कमजोर रहेपनि अन्ततः प्रजातन्त्रकै जित हुने भन्दै तरुण दल र नेवि संघलाई हिम्मत नहार्न आग्रह गरे । उनले आफू यातायातमन्त्री हुँदा विभिन्न स्थानमासडकको विकास गरेको फेहरिस्त समेत सुनाए । सञ्चारकर्मीहरुसँगको कुराकानीमा पटक-पटक उनको गला बसेको थियो ।
अन्याय भयो रेः जेल जानुअघि अदालत परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वमन्त्री खड्का ।
अदालतमा उपस्थीत खड्काले ७५ लाख ८९ हजार २ सय ९७ रुपैयाँ बिगो बुझाएका छन् भने अब झण्डै १४ महिनामात्र जेल बस्नु पर्नेछ । उनी २०७० साल कार्तिक १४ गते छुट्ने छन् ।
फैसला भएको ६० दिनभित्र स्वयं अदालतमा उपस्थीत भएमा २० प्रतिशत सजाय र जरिवाना मिनाह हुने व्यवस्थाअनुसार खड्को सजाय कम भएको हो । सर्वोच्चले उनलाई डेढ वर्ष कैद तथा ९४ लाख ७४ हजारविगा तथा त्यतिनै जरिवानाको फैसला सुनाएको थियो ।

No comments:

Post a Comment