Sunday, August 19, 2012

सत्र युवा विद्यार्थी सङ्गठनद्वारा बालुवाटार घेराउ

काठमाडौं, भदौ ३- विपक्षी दल सम्बद्ध विभिन्न १७ युवा विद्यार्थी सङ्गठनले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गरेकाछन्। वर्तमान सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएका ती विद्यार्थी सङ्गठनले गत साउन ३२ गते देशभर गरेको सरकारको पक्ष र विपक्षको मतदानको परिणामसहित बिहान ९ बजेदेखि १० बजेसम्म एक घन्टा बालुवाटार घेराउ गरेका हुन्।
विद्यार्थीको प्रदर्शनलाई मध्यनजर गर्दै बिहानैदेखि बालुवाटार आसपास क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको हो।
विद्यार्थीको प्रदर्शनका कारण बालुवाटार क्षेत्रको यातायात अस्तव्यस्त हुँदा कामकाजी कर्मचारी तथा सर्वसाधारणलाई सास्ती भएको थियो।
वर्तमान सरकार वा राष्ट्रिय सहमतिको सरकार भन्ने पक्ष र विपक्षमा देशभर १५ लाख २६ हजार ८३५ मत खसेको थियो। जसमा १४ लाख ८७ हजार ३१० सहमतीय सरकारको पक्षमा र १९ हजार ८०१ वर्तमान सरकारको पक्षमा मत खसेको थियो। १९ हजार ७२४ मत बदर भएको थियो।
सरकारको पक्ष विपक्षमा हालै गरिएको मत परिणामसहित एक घन्टा बालुवाटार घेराउको कार्यक्रम सम्पन्न गरिएको नेपाल विद्यार्थी सङ्घका प्रवक्ता युपी लामिछानेले बताए ।
मत परिणामलाई प्रधानमन्त्री निवास बालुवाटार कम्पाउन्डको भित्तामा टाँसिएको पनि उनले बताए ।
युवा विद्यार्थी सङ्गठनले उक्त मत परिणामलाई केही समयअघि राष्ट्रपति कार्यालयमा पनि बुझाएका छन्।
देशभरको जनमतको आधारमा उचित कदम चाल्न समेत राष्ट्रपति समक्ष आग्रह गरिएको प्रवक्तालामिछानेले बताए । रासस

No comments:

Post a Comment