Sunday, August 19, 2012

कोइरालापछि नेपालतिर खनिए प्रचण्ड

३ भदौ, काठमाडौं । संविधानसभा बिघटन भएको अढाई महिना बितिसकेको अवस्थामा पनि दलहरु सहमति जुटाउनुको सट्टा एकअर्कामाथि आरोप प्रत्यारोप लगाउनमै व्यस्त छन् । संविधान नबन्नु र सहमति नजुट्नुको दोष अर्को हो भनेर उनीहरु अझै एकअर्कालाई औंला ठड्याइरहेका छन् । सहमतिको लागि एक ठाउँमा नबसेकै कारण उनीहरुबीचको दूरी झन् झन् बढिरहेको छ । दोषमाथि दोष थुपार्ने प्रतिष्पर्धा पनि चलिरहेको छ ।
अर्कोलाई दोषी देखाउने होडमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्ला दिनहरुमा कांग्रेस सभापति सुशील कोइरालाप्रति निकै आक्रामक ढंगले प्रस्तुत भैरहनुभएको छ । सार्वजनिक कार्यक्रममा भाषण गर्ने क्रममा प्रचण्डले लगातार भनिरहनुभएको छ -’कांग्रेस र त्यसमा पनि त्यसका सभापति सुशील कोइरालाको कारण राष्ट्रिय सहमति जुट्न सकेको छैन, उहाँले नेतृत्वको क्षमता देखाउन सक्नुभएन ।’ संविधानसभा बिघटन हुनुअघि म्याद थप्नेबारे राखिएको प्रस्तावमा कोइरालाले प्रष्ट विचार नदिएको कारण समस्या भएको उहाँको भनाई छ ।
कोइराला असक्षम भए भन्ने प्रचण्डको भनाईमा कांग्रेसकै शेरबहादुर देउवाले पनि साथ दिनुभएकोछ । पार्टीभित्रको गतिबिधिप्रति कोइरालासित रुष्ट देउवाले शनिबार एक कार्यक्रममा पार्टी राम्रोसित चलाउन नसक्ने व्यक्तिले देश चलाउन नसक्ने भन्दै कोइरालालाई कटाक्ष गर्नुभयो । कोइरालालाई खेदो खन्ने काम अब देउवाले नै गर्छन् भनेर हो कि क्या हो कुन्नि प्रचण्ड अब भने एमाले नेता माधव नेपालप्रति खनिन थाल्नुभएको छ । आइतबार रौतहटको चन्द्रनिगाहपुरमा भएको कार्यक्रममा प्रचण्डले एमाले र त्यसमा पनि नेता नेपालको कारण मुलुकमा समस्या उत्पन्न भएको दावी गर्नुभयो । तर कसरी भनेर चाहिँ खुलाउनुभएन ।
दुईथरी व्यक्तिलाई एउटै आरोप लगाउने प्रचण्डको कुरा कति विश्वसनिय हो भन्ने कुरा त उनको अभिव्यक्तिबाटै थाहा हुन्छ । सहमति नजुट्नुमा अरु दल र नेतासँगै माओवादी र प्रचण्ड पनि जिम्मेवार छन् भन्ने कुरा त अरुले पनि भन्दै आएका छन् ।
कोइरालाको उत्तराधिकारी !
जिउँदो छँदा उसको आलोचना गरेर नथाक्ने मान्छे मरेपछि फेरि उसको गुनगान गाएर कहिल्यै थाक्दैन । यो कुरा अहिले ठ्याक्कै मिलेको छ, माओवादी अध्यक्ष प्रचण्डलाई । गिरिजाप्रसाद कोइराला जिउँदो छँदा प्रचण्डले कोइरालालाई आलोचना गरेकोपनि सबैले थाहा पाएकै हो । राष्ट्रपति बन्न नदिन खोइरो खनेकै हो । कोइरालाको निधनपछि प्रचण्डले राष्ट्रपति बन्न नदिएर गलत गरिएको भन्दै चुकचुकाउन पनि भ्याउनुभयो । कोइराला जस्तो इमान्दार मान्छे अरु छैनन् भनेर प्रचण्ड अहिले पनि भन्दै हुनुहुन्छ ।
हिजोआज सुशील कोइरालाको आलोचना गर्ने क्रममा प्रचण्डले गिरिजाप्रसाद कोइरालाकै कारण मुलुकमा शान्ति स्थापना भएको भन्दै उहाँको प्रशंसा गर्नुहुन्छ । अनि जाने बेला आफूलाई कोइरालाले शान्ति प्रकृया टुंग्याउने जिम्मेवारी दिएपनि अरुले सहयोग नगरेको गुनासो गर्नुहुन्छ । आफूलाई कोइरालाले जिम्मेवारी सुम्पेको उहाँको दावी छ । तर अरु दल यो कुरा पत्याउँदैनन् । स्वयं कोइरालापुत्री सुजाता पनियो कुरा मान्न तयार हुनुहुन्न ।
‘जानेबेला गिरिजाबाबुले सबै नेतालाई भेट्नुभएकोर कुरा गर्नुभएको हो, तर प्रचण्डलाई नै जिम्मेवारी तपाईंको हो भनेर भन्नुभएको चाहिं थाहा भएन’ सुजाताले भन्नुभयो । सत्ता टिकाउनकै प्रचण्डले विपक्षी दलहरुलाई आलोचना गर्दै आफ्नोभूमिका बढाउन खोजेको विपक्षी दलहरुको बुझाई छ ।

No comments:

Post a Comment