Sunday, August 19, 2012

राष्ट्रपतिले प्रधानमन्त्रीलाई घर पठाउन सक्छन्ः ओली

३ भदौ , काठमाडौं । नेकपा एमालेका प्रभावशाली नेताकेपी शर्मा ओलीले राष्ट्रपति डा. रामबरण यादवले प्रधानमन्त्रीलाई बर्खास्त गरेर बालुवाटरबाट हटाउन सक्ने दावी गर्नु भएको छ ।
आइतबार आफ्नै निवासमा पत्रकारहरुसँग कुरा गर्दै नेता ओलीले भन्नुभयो-’राष्ट्रपतिले पहिलो पत्र पठाएर प्रधानमन्त्रीलाई कामचलाउ बनाई दिनुभयो । अब अर्को पत्र पठाएर वर्खास्त गरेर बालुवाटारबाट हटाउन सक्नु हुन्छ ।’
मुलुकलाई बर्तमान राजनीतिक र संबैधानिक जटिलताबाट निकास दिन राष्ट्रपति मात्र सक्षम रहेको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो-’राष्ट्रपति सम्मानित राजनीतिक पद हो । यो कुनै मठको मठाधिश र महन्थ जस्तो पद होईन चुप लागेर बस्ने । राष्ट्रपति संविधानको रक्षक र संरक्षक पनि हो । उहाँ चुप लागेर बस्न मिल्दैन ।’
२०-२५ वर्षसम्म पनि यहि सरकार रहन्छ भन्ने प्रचण्डको अभिब्यक्ति सत्ताकब्जाको उपज भएको भन्दै माओवादी सपना कुनै हालमा पूरा हुन नदिने बताउनु भयो । माओवादीले किस्तीमा हालेर सत्ता आफूहरुलाई दिन्छ भन्ने भ्रम कांग्रेसमा रहेको भन्दै उहाँले यो दिवास्वप्न मात्र भएको बताउनु भयो ।
संविधानसभाको पुनःस्थापना असम्भव रहेको भन्दै एमाले नेता ओलीले संसदको निर्वाचन गरेर त्यसलाई ६ महिना संविधान निर्माणको जिम्मेवारी मात्र दिन सकिने बताउनु भयो । उहाँले भन्नुभयो-’माओवादीको संविधानसभा पुनःस्थापना गर्ने प्रस्ताव आफैले हत्या गरेको लाशको छेउमा बसेर रुनु जस्तो मात्रै हो । संविधानसभाको पुनःस्थापना अब सम्भव छैन ।’
सरकारविरोधी आन्दोलनमा सरकारले दमन गरेको भन्दैउहाँले भन्नुभयो-’सडकमा सुरु भएको प्रर्दशनमा दमन गरे टिपेर मिल्काई दिन्छौं । दमन र तानाशाही लाद्ने हो भने राणाले र राजाले त सकेनन । यीनिहरुले झनै के सक्छन ?’ सरकारले पेश गरेको निर्वाचन सम्बन्धी दुई अध्यादेश राष्ट्रपतिले अस्वीकार गर्नु स्वभाविक भएको दावी गर्दै ओलीले भन्नुभयो-’मंसिर ७ मा हुन नसक्ने निर्वाचनका लागिकिन अध्यादेश चाहियो ।’
एमाले नेता ओलीले राउटेलाई भेटन प्रधानमन्त्री गएको प्रसंगमा डा. बाबुराम भट्टरार्इलाई खुस्किएको मान्छेको संज्ञा दिनुभयो । ‘खुस्किनुको पनि हद हुन्छ । ट्रयाक्टर चढेर राउटेलाई भेटेर राज्य दिन्छु भन्ने उनी प्रधानमन्त्री हुन कि को हुन्’ उहाँले भन्नुभयो-’मलाई त राष्ट्रिय सभागृहमा कलाकारहरुको गाईजात्रै प्रहसन र चितवनमा प्रधानमन्त्रीको गाईजात्रे प्रहसन भए जस्तो लाग्यो ।’

No comments:

Post a Comment