Saturday, August 18, 2012

बालबालिकासँगै आमाहरु पनि विद्यालय

२ भदौ, बागलुङ । बागलुङका विभिन्न विद्यालयमा बालबालिकासँगै तिनका अभिभावक पनि विद्यालय जान थालेका छन् । बागलुङको पश्चिम देवीस्थान गाविसमा रहेको झुपरीकोट निमाविमा छोराछोरीसँगै आमाहरू पनि विद्यालय जान थालेका हुन् ।
देवीस्थान- ३ की चन्द्रकुमारी पुन, रामकुमारी विक, कोपिला घर्ती, नरदेवी घर्ती, खगी विकले कक्षा ६ र सोही गाविसकी दिलमाया पुन र अशोक विक पनि कक्षा ७ मा भर्ना भएर विद्यालय जान थालेको हो । बीचैमा पढाइ छुटेका तथा अनौपचारिक शिक्षामार्फतपढेर माथिल्लो तहमा पढ्न चाहेकाहरु विद्यालयमा भर्ना भएको प्रधानाध्यापक पञ्चवीर घर्तीमगरले बताउनुभयो । घरधन्दा सकेर उनीहरुले नियमित विद्यालयमा पढ्न थालेपछि विद्यालयका बालबालिकालाई पनि हौसला मिलेको घर्तीमगरले बताउनुभयो ।
ठूला र अभिभावक भएकाले आमा, बाबुले हल्ला नगरी पढाइमा रुचि राखेपछि साना बालबालिकाले पनि राम्रो पढ्ने बानीको विकास गरेको शिक्षक केयरसिंह पुनले बताउनुभयो । देवीस्थानसँगै जिल्लाका पश्चिम क्षेत्रका दुर्गम गाविसका अभिभावकहरु विद्यालय जान थालेपछि जिल्ला शिक्षाकार्यालयले पनि ती क्षेत्रहरुमा अभिभावक शिक्षाकार्यक्रमहरु सञ्चालन गरिरहेको छ । हरेक वर्ष जिल्लाभर साक्षरता अभियान सञ्चालन भए पनि त्यसलाई अझ प्रभावकारी बनाउने तयारी गरिएको जिल्ला शिक्षा अधिकारी महेन्द्र पौडेलले बताउनुभयो । रासस

No comments:

Post a Comment