Saturday, August 18, 2012

डा. सायमी डिनमा नियुक्त, केसीले अनसन तोड्ने

२ भदौ, काठमाडौं । सरकारले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्जको डिनमा डा. प्रकाश सायमीलाई डिनमा नियुक्त गरेको छ । त्रिवि कार्यकारी परिषद्ले शनिबार वरियता क्रममा पाँचौं स्थानमा रहेका सायमीलाई डिनमा नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बिहान आन्दालेनरत चिकित्सक, शिक्षामन्त्री र त्रिवि पदाधिकारीहरुलाई बोलाएर सबैलाई मान्य हुने गरी डिन नियुक्त गर्न निर्देशन दिनु भएको थियो । प्रधानमन्त्रीको निर्देशनपछि बसेको बैठकले वरिष्ठता र कार्यदक्षताका आधारमा सायमीलाई डिन नियुक्त गर्ने निर्णय गरेको हो ।
सायमी डिन नियुक्त भए डा. गोविन्द केसीको आमरण अनसन अन्त्य हुने छ भने नेपाल चिकित्सक संघले आहृवान गरेको अस्पताल बन्दको आन्दोलन फिर्ता हुने भएको छ । डिन नियुक्तिको निर्णय लिएर शिक्षामन्त्री दिनानाथ शर्मा शिक्षण अस्पताल पुग्दै हुनुहुन्छ । उहाँले निर्णय लिखित रुपमा जानकारी गराएपछि डा. केसीको अनसन तोडिने छ ।
त्रिवि उपकुलपति हीराबहादुर महर्जनले एकलौटी निर्णयका आधारमा वरिष्ठतालाई मिच्दै डा. धर्मकान्त बास्कोटालाई निमित्त डिनमा निुयक्त गरेपछि डा. केसी आमरण अनसनमा बस्नु भएको छ । केसीको अवस्था गम्भीर हुँदा पनि सरकारले बास्ता नगरेको भन्दै नेपाल चिकित्सक संघले आज देशभरका सरकारी तथा नीजि अस्पताल, क्लिनिक तथा मेडिकल कलेजका आकस्मिक तथा अन्तरंग सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गराएको छ ।
अस्पताल बन्द हुँदा २ लाख बढी विरामी मर्कामा परेका छन् । अस्पतालसहितका अत्यावश्यक सेवामा बन्द हडताल गर्न पाइदैन भन अन्तरिम संविधानले स्वास्थ्यलाई मौलिक अधिकारमा राखेको छ ।

No comments:

Post a Comment